आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – अमेरिकाको गुप्तचर निकाय एफबीआईका निर्देशकले गुप्तचरी र चोरीका कारण चीन सरकार अमेरिकाका लागि सबैभन्दा ठूलो र दीर्घकालीन खतरा भएको दाबी गरेका छन् ।

वाशिङ्टनस्थित हड्सन इन्स्टिट्यूटमा बोल्दै क्रिस्टोफर रेले चीनका विभिन्न गतिविधिबारे टिप्पणी गरेका हुन् । चीनले विदेशमा बसोबास गर्ने चिनियाँ नागरिकलाई तारो बनाएको, उनीहरूलाई स्वदेश फर्किन दबाव दिएको र कोरोनाभाइरससम्बन्धी अमेरिकी अनुसन्धानमा बाधा पुर्‍याउन खोजेको आरोप उनले लगाए ।

‘चीन जसरी पनि विश्वको एक मात्र शक्तिशाली राष्ट्र बन्न पूरै राज्यसंयन्त्र प्रयोग गरेर प्रयास गर्दैछ,’ उनले भने । मङ्गलवार झन्डै एक घण्टा बोल्दै एफबीआई निर्देशकले चिनियाँ हस्तक्षेप, आर्थिक गुप्तचरी, तथ्याङ्क र पैसा चोरी तथा घुस र दबावमार्फत् अमेरिकी नीतिलाई प्रभावित गर्ने अवैध गतिविधिबारे वर्णन गरे ।

‘हामी अहिले यस्तो बिन्दुमा पुगेका छौँ जहाँ एफबीआईले प्रत्येक १० घण्टामा चीनसम्बन्धी एउटा प्रतिजासुसी मुद्दा हेर्छ,’ रेले भने । ‘देशभरिका झन्डै ५,००० वटा प्रतिजासुसी मुद्दामध्ये आधाजति चीनसँग सम्बन्धित छन् ।’

चीनले के गर्छ ?
चीनका लागि खतरा मानिने विदेशमा बसोबास चिनियाँलाई लक्षित गर्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेतृत्वमा “फक्स हन्ट” नामक कार्यक्रमको सञ्चालित भएको उनको दाबी छ ।

‘चीनले व्यापक रूपमा मानव अधिकार उल्लङ्घन गरेको विषय देखाउन खोज्ने राजनीतिक प्रतिद्वन्द्वी, विरोधी र आलोचकबारे हामी कुरा गर्दैछौँ,’ उनले भने । ‘चीन सरकार उनीहरूलाई फर्किन बाध्य बनाउन चाहन्छ । अनि त्यसका लागि प्रयुक्त चिनियाँ रणनीति भयानक छ ।’

तर चीनले आफ्नो योजनाको प्रतिरक्षा गर्दै त्यो भ्रष्टाचारविरोधी प्रयास भएको बताउने गरेको छ । ‘फक्स हन्ट’ अन्तर्गत एक व्यक्ति फेला पार्न नसकेपछि चीनले अमेरिकामा उनको परिवारलाई भेट्न दूत पठाएर चीन फर्किन वा आत्महत्या गर्न सन्देश दिएको उनको दाबी छ ।

सङ्केत के हो ?
कोरोनाभाइरस महामारी फैलिएको ‍विषयदेखि चीनले हङ्‌कङमा लागु गरेको नयाँ सुरक्षा कानुनसम्म विविध विषयमा अमेरिकाले चीनको आलोचना गर्दै आएको छ । वाशिङ्टनस्थित बीबीसी संवाददाता जाउइन फङका अनुसार रेले अमेरिकाका लागि चीन ‘प्रमुख खतरा’ भएको भनेको यो पहिलो अवसर हैन ।

तर मङ्गलवार उनले चीनको पूरै राज्यसंयन्त्र विश्वको एक मात्र शक्तिशाली राष्ट्र बन्ने अभियानमा लागेको भन्दै आलोचनाको स्वर सघन बनाएको उनको भनाइ छ । ‘यसबाट अमेरिकाले अहिले चीनलाई आक्रामक विपक्षीका रूपमा मात्रै हैन, विश्वको नेतृत्व लिने महत्त्वाकाङ्क्षा भएको प्रतिद्वन्द्वीका रूपमा पनि हेरेको सङ्केत पाइन्छ,’ उनी भन्छिन् ।

तपाईको प्रतिक्रिया