आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र गम्भीर विवाद देखा परेका बेला सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाको भूमिकालाई लिएर अनेक अड्कलबाजीहरू चल्ने गरेका छन् ।

पूर्वमाओवादी नेता थापाले कहिले प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको त कहिले ‌‌प्रधानमन्त्रीको साथ छाडेको खबर आउने गरेका छन् । त्यसै पनि जल्दाबल्दा विषयहरूमा सार्वजनिक रूपमा खुल्न नचाहने उनको स्वभावले गर्दा पनि धेरैले पार्टी विखण्डनको सङ्घारमा पुगेका बेला उनको भूमिकाप्रति चासो राखेको पाइन्छ ।

तर नेकपा राष्ट्रिय सभाका सदस्यहरूको एउटा समूहसँग मङ्गलवार भएको भेटमा उनी खुला रूपमा प्रधानमन्त्री ओलीको पक्षमा प्रस्तुत भएको ओली पक्षका नेताहरूले जनाएका छन् । प्रधानमन्त्रीलाई पद छोड्न लगाउने र रोक्ने दुई ध्रुवमा पार्टीका नेता-कार्यकर्ता विभाजित भएका बेला आखिर गृहमन्त्रीको धारण के हो ?

उनका राजनीतिक सल्लाहकार समेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य सुवेदी भन्छन्, ‘दुईवटा अध्यक्ष मिल्दामात्रै समस्याको समाधान गर्न सकिन्छ। दुईजना नमिल्दा देश, पार्टी र सबै धेरै ठूलो अप्ठेरो र दुर्घटनातिर जान्छ ।’ त्यसकारण मिलनको निम्ति सचिवालयमा यसअघि जुन समझदारी भएको थियो त्यसलाई विकास गर्नुपर्छ । यसको निम्ति दुईजना अध्यक्षले गृहकार्य गर्नुहोस् भन्ने उहाँको मूल ध्येय हो ।’

पार्टी एकता गर्नुअघि भएको ‘सरकारको नेतृत्वमा आलोपालो गर्ने’ पूर्वसहमति थियो । तर नेकपा सचिवालयले ओलीले पाँच वर्ष सरकारको नेतृत्व गर्ने नयाँ निर्णय गरेको थियो । सल्लाहकार सुवेदीले त्यही सहमतिलाई उद्धृत गर्नुको अर्थ ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन हुन्न पक्षमा गृहमन्त्री रहेको भन्न मिल्छ ? उनले जवाफ दिए, ‘त्यो सकिन्छ ।’

तपाईको प्रतिक्रिया