काठमाडौँ – कुनै बेला मध्यरातसम्म चहलपहल हुने ठमेल अहिले चौबिसै घन्टा सुनसान बनेको छ ।
असार सुरु भएयता सरकारले लकडाउन खुकुलो बनाएको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै राजधानीमा झन्डै तीन महिना बन्द रहेका पसलहरु पनि खुल्न थालेका छन् । बजारमा चहलपहल पनि बढेको छ ।
यद्यपि, काठमाडौंको प्रमुख पर्यटकीयस्थल ठमेललाई भने यसले केहि असर पारेको छैन ।
आइतबार ठमेल पर्यटक विकास समितिको रोहवरमा दर्जनौँ संस्थाबीच भएको छलफलमा घरधनीहरूलाई घरभाडामा कम्तीमा १ वर्षका लागि ५० प्रतिशत छूट दिन आग्रह गरेको छ ।
व्यापार ठप्प भएपछि ५० प्रतिशत पनि भाडा तिर्न नसक्दा ठमेलका व्यवसायीले सटर धमाधम खाली गर्न थालेका छन्।
पूर्णरुपमा पर्यटकमै निर्भर ठमेल महामारीको प्रभावका कारण लामो समयसम्म पर्यटन व्यवसाय ठप्प हुने देखिएकाले महँगो भाडा तिर्न नसकेपछि उनीहरूले व्यापारव्यवसाय नै छाडेर घरधनीलाई सटर फिर्ता गर्ने क्रम बढेको हो ।
पर्यटन व्यवसाय माथि उठ्न कम्तीमा पनि १ वर्ष लाग्ने आकलन गर्दै उनीहरू व्यवसाय बन्द गर्ने वा विक्री गर्ने मनस्थितिमा पुगेका छन् ।
ठमेल क्षेत्रमा १० हजार व्यवसायी छन् भने २ हजार घरधनी छन् । त्यहाँ व्यवसाय गर्नेले १५ हजारदेखि २५ लाखसम्म भाडा तिर्छन् ।
पछिल्ला केही दिनयता नै कम्तिमा ६ सयदेखि ७ सयजना व्यवसायीले सटर छोडिसकेको जानकारी छ ।
सरकारले लकडाउन खुकुलो पारे पनि ठमेलमा ५ प्रतिशत पनि बजार खुलेको छैन।
जबसम्म विदेशी पर्यटक आउदैनन्, तबसम्म ठमेलको व्यापार व्यवसाय पूर्णरूपमा सञ्चालनमा आउने सम्भावना नरहेको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ।