काठमाडौं – टीभीएस, बजाज, होण्डा र यामाहाका दुई पाङ्ग्रे सवारीसाधनमा बिक्रेता कम्पनीले दशैं-तिहारभन्दा भारी छुटको आकर्षक योजना सार्जनिक गरेका छन्। शून्य प्रतिशत डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमै ग्राहकले मोटरसाइकल खरिद गर्न सक्ने अफर ल्याएका हुन्।
यो अफरसँगै प्राय कम्पनीले नगद छुटको योजना पनि सार्वजनिक गरेका छन्।
सरकारले लकडाउन खुकुलो पारेसँगै व्यवसाय चलायमान बनाउन बिभिन्न ब्राण्डका मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनीहरू बजारमा आक्रामक रणनीतिसहित अघि आएका हुन्।
कोरोनाको संक्रमणबाट जोगिन सामाजिक दुरी कायम गर्नैपर्ने भएपछि सार्वजनिक सवारीको साटो निजी सवारीको प्रयोग बढ्ने अनुमान अटोमोबाइल बजारको छ। कामकाजी मध्यमवर्गीयले चारपाङ्ग्रे सवारीको साटो मोटरसाइकल खरिदमा ध्यान दिने बजार विश्लेषकको आकलनलाई आधार मान्दै कम्पनीहरूले खरिदकर्ताका लागि आकर्षक फाइनान्सिङका प्याकेज धमाधम सार्वजनिक गरेका हुन्।