शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – कोरोना भाइरसको महामारीका कारण जापानमा ठूलो संख्यामा अस्थायी र पार्ट–टाइम कामदारहरुले काम गुमाइरहेका छन् भने उनीहरु चरम समस्यामा पनि छन् । जापानमा अस्थायी कर्मचारीको संख्या करीब २ करोड २० लाख छ । यो कुल कर्मचारीको ४० प्रतिशत हो । केन्द्र सरकारले रोजगार कायम गर्ने उपायहरु विस्तार गर्ने प्रस्ताव ल्याएको भएपनि अभूतपूर्व स्थितिअनुसार प्रतिक्रिया जनाउन सरकार निकै पछाडि छ ।

यस्तोमा आफ्नो रोजगारी हैसियतबारे दुखेसो पोख्नेको संख्या बढेको छ । ‘जीउनुको प्रयोग नदेखेर मैले आफ्नै ज्यान लिनेबारे सोचेको थिए,’ गत मार्चमा अचानक कामबाट निकालेको थाहा पाएपछि साइतामा प्रिफेक्चरका ३० वर्ष आसपासका पाउरोटी कारखानामा करारमा काम गर्ने एक व्यक्तिले भने । आर्थिक गतिविधि खस्किएको भन्दै कम्पनी र व्यवसायहरुले अस्थायी कर्मचारीहरुलाई धमाधम कामबाट निकालिरहेका छन् । ती व्यक्तिले मार्च ३ मा रोजगारी करारलाई असीमित अवधिको बनाउन आवेदन दिएका थिए ।

कम्पनीले मार्च २३ मा सो आवेदन स्वीकार पनि गरेको थियो । तर त्यसको ३ दिन पछि उनलाई कामबाट निकालेको सूचना थमाइयो । कम्पनीले उसलाई जर्बजस्ती राजिनामा पत्र लेख्न लगायो । कम्पनीले गरेको काम गैरकानूनी भएको र आफूलाई यस कदमबारे उपर्युक्त स्पष्टीकरण चाहिएको ती व्यक्तिको भनाइ छ । यस्तो कोरोना भाइरसको महामारीका कारण अस्थायी कर्मचारीको रोजगारी हैसियत गुमिरहेको छ ।

रिसर्च इन्ष्टिच्यूट अफ एडभान्समेन्ट अफ लिभिङ स्ट्यान्डर्ड्जले अप्रिल १ देखि ३ को बीचमा गरेको सर्वेक्षणमा १० दशमलव ६ प्रतिशतले आफ्नो रोजगारी करार खारेज गरिएको बताएका थिए । ५६ दशमलव ८ प्रतिशत पार्ट–टाइम कामदार र ५२ दशमलव ७ प्रतिशत डिस्प्याच कामदारले आफ्नो आय घटेको बताएका छन् । सन् २००८ मा अमेरिकी बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी लेह्म्यान ब्रदर्श धराशयी भएपछि विश्वव्यापी संकट उत्पन्न मुख्यतः म्यानुफ्याक्चरिङ उद्योगमा असंख्य रोजगारी गुमेको थियो ।

सन् २००८ को अक्टोबर देखि सन् २००९ को जुनको अवधिमा २ लाख २० हजार अस्थायी कर्मचारीले रोजगारी गुमाएको सन् २००९ मा स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गरेको सर्वेक्षणले देखाएको छ । आर्थिक मन्दीको बेलामा रेष्टुराँ र होटल उद्योगमा ठूलो क्षति भएको छ । व्यवसायको अस्थायी बन्दी र घरमै बस्ने उपाय लामो समयसम्म चल्यो भने यसबाट उत्पन्न नकारात्मक परिणामले लेह्म्यान ब्रदर्श संकटको बेलामा भन्दा ठूलो संख्यामा रोजगारी र कामदार प्रभावित हुने रिसर्च इन्ष्टिच्यूट अफ एडभान्समेन्ट अफ लिभिङ स्ट्यान्डर्ड्जका महासचिव नोबुयुकी शिन्टानीले भनेका छन् । ***

तपाईको प्रतिक्रिया