मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – गत बुधबारदेखि जारी सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) को केन्द्रीय समिति बैठकमा समूहका टोली नेताले बोल्ने क्रम सकिएको छ । केन्द्रीय सदस्यहरुलाई १५ समूहमा विभाजन गरी धारण राख्ने व्यवस्था गरिएकोमा शनिबार ११ समूहका टोली नेताले धारणा राखेका छन् । ४ समूहका टोली नेताले शुक्रबार समूहको रिपोर्टिङ प्रस्तुत गरेका थिए।
आइतबार बोल्ने क्रममा केन्द्रीय सदस्यहरुले भ्रष्टाचारीलाई मृत्युदण्डको सजायँ हुनुपर्नेदेखि, कालापानी समस्या, एमसीसी विवाद, पार्टीको गुटबन्दी लगायतका विषयमा आवाज उठाए ।

समूह ५ का टोली नेता ठाकुर गैरेले भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानून ल्याउनुपर्ने मत राखे । जनताको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरु ठेक्कापट्टामा सहभागी हुनु, त्यसमा पार्टीका नेताको नाम जोडिनुले नीतिगत भ्रष्टाचार देखिएको उनले दाबी गरे । भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार नसहने भन्ने सरकारको नीति विपरित भ्रष्टाचार मौलाएको भन्दै भ्रष्टाचारीलाई मुत्यृदण्डको सजायँ हुने कानुन ल्याउनुपर्ने माग आफ्नो समूहमा उठेको गैरेले बताए। उनले २०४६ साल पछिका सबै उच्च दस्त व्यक्तिको सम्पत्ति छानबिन हुनपर्ने माग उनले गरे ।

समूह ३ का टोली नेता खिमलाल भट्टराई नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा राजा महेन्द्रको शालिक पुन: स्थापना गरिएकाले त्यसलाई हटाउन पार्टीले पहल गर्नुपर्ने धारण राखे । पार्टीको तल्लो तहबाट नभई माथिल्लो तहबाट गुटबन्दी भएकाले गुटबन्दीको अन्त्य माथिबाटै थाल्नुपर्ने माग यस समूहले गरेको टोली नेता भट्टराई बताए ।

रेणु दाहाल टोली नेता रहेको समूह १२ ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणलीमा जानुपर्ने माग राख्यो । टोली नेताका रुपमा धारणा राख्दै रेणुले एमसीसीबारे आफ्नो समूहमा तीन खालका मत देखिएको जानकारी गराइन । पहिलो एमसीसी कुनै हालतमा स्वीकार गर्न नहुने, दोस्रो समृद्धिको आधार भएकाले तत्काल स्वीकार गर्नुपर्ने र तेस्रोमा एमसीसी विषयमा बुझाइमा एकरुपता ल्याई राष्ट्रिय हितविपरितका प्रावधानलाई संशोधन गरेर पास गर्नुपर्ने धारण उठेको उनले बताइन् ।

समूह ७ की टोली नेता पूर्णकुमारी सुवेदीले आफ्नो समूहको रिपोर्टिङ गर्दै कालापानीबाट भारतीय सेना हटाउने सम्बन्धममा पार्टीको बैठकबाटै विषेश प्रस्ताव पारित हुनुपर्ने धारणा राखिन्। उनले नेपाली भू-भाग कालापानी लिम्पियाधुरासम्मलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई आग्रह गरिन्।

समूह ८ की टोली नेता विन्दा पाण्डेले विवादित अमेरिकी सहयोग एमसीसीलाई केन्द्रीय समितिबाट पारित गरेर मात्रै प्रक्रिया अगाडि बढाउने माग आफ्नो समूहको रहेको बताइन् ।

बैठकमा सदस्यहरुले ब्यानरमा काल मार्क्स र लेनिनको फोटो नराख्नुको कारण र अध्यक्षहरुको फोटो राख्नुको कारणबारे पनि प्रश्न गरे । जारी केन्द्रीय समिति बैठकमा शनिबार नै अनुशासान आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्षले बोलिसकेका छन् ।

केन्द्रीय सदस्यकातर्फबाट बोल्ने क्रम शनिबार सकिएको छ । सचिवालयका सदस्यले बोल्ने कार्यक्रम छैन। आइतबार बैठकमा उठेका सवालमाथि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णु पौडेलले जवाफ दिने कार्यक्रम छ । अर्का अध्यक्ष केपी शर्मा ओली उदघाटनपछि बैठकमा सहभागी छैनन्। आइतबार नै बैठक टुंग्याउने तयारी छ ।***

तपाईको प्रतिक्रिया