सोमबार, जेठ १४, २०८१
Monday, May 27, 2024

काठमाडौं – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो ।

एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर प्रश्न गरेको छ । प्रारम्भिक चरणको निर्णयपछि एएफसीले एन्फालाई अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नदिने भएको छ । महासचिव राईका अनुसार यस विषयमा एन्फाले एएफसीसँग छलफल भने गरिरहेको छ । ‘वहाँहरुले पिच, फ्लड लाइट र सुरक्षा नीतिबारे प्रश्न गर्नुभएको छ । यसबारे हामीले एएफसीसँग छलफल गरिरहेका छौं । हामीले प्रयास गरिरहेका छौं,’ उनले भने ।

हालको अवस्था कायम रहे नेपालले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल गराउन पाउने छैन । मुख्यगरी अर्को महिना हुने फिफा विश्वकप छनोटअन्तर्गत यूएईविरुद्ध खेल नहुने भएको छ । सँगसँगै एएफसीले रंगशाला अयोग्य भनेसँगै एएफसीका क्लब प्रतियोगितामा पनि नेपालले खेल्न नपाउने डर बढेको छ । एएफसीको क्लब लाइसेन्स प्राप्त गर्न आफ्नै मैदान आवश्यक हुन्छ । तर नेपालमा क्लबको आफ्नो मैदान नभएकाले रंगशालालाई नै मुख्य मैदान देखाउने गरिएको थियो ।

नेपालले अघिल्लो महिना बहराइनविरुद्ध हुनुपर्ने खेल पनि रंगशालाको स्थितिकै कारण गुमाएको थियो । त्यसबेला बहराइनले मैदानको अवस्थाका कारण खेल्न मानेको थिएन । त्यसपछि राष्ट्रिय खेलकुद परिषदले एन्फाबाट मैदान हेरचाहको जिम्मेवारी खोसेको थियो ।

तर राखेपले जिम्मेवारी लिएपछि निरन्तर मैदान सुधार्ने काम भएपनि एएफसीले मैदानलाई मान्यता नदिएको हो । फ्लड लाइट र सुरक्षा नीतिबारे भने रंगशालामा भौतिक रुपमा नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ । यसका लागि राखेप र सरकारबाट नै कदम चाल्नुपर्ने अवस्था छ ।

तपाईको प्रतिक्रिया