शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

काठमाडौं – यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई गृह मन्त्रालयले निलम्बन गरेको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो ।

राणालाई बिहीबार निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता सह-सचिव केदारनाथ शर्माले जानकारी दिएका छन् । गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ । यसअघि कात्तिकमा धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेकी थिइन् ।

उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन् तर, राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

राणा निलम्बन भएसँगै उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी छिन् । जाहेरी परेपछि सुनसरी प्रहरी राणालाई पक्रन अनुमति माग्दै सुनसरी जिल्ला अदालत गएको छ ।

तपाईको प्रतिक्रिया