आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

२० लाख पर्यटक भित्र्याउने महत्वाकाँक्षी नेपाल सरकारको लक्ष्यसहित भ्रमण वर्ष २०२० को पहिलो महिना गुज्रदैं छ । सुन्दा असाध्यै प्रिय लाग्ने यो अभियान सारा नेपालीको साझा अभियान त हुँदै हो । आ-आफ्नो तर्फबाट हरेक नेपालीको साथ, सहयोग र भूमिका हुनैपर्छ । तर नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरेकै भरमा साबिकको भन्दा दोब्बर पर्यटक नेपाल पुग्छन् भन्ने छैन, यसका लागि निकै पहिलेदेखि ठूलो तयारी हुनुपर्थ्यो र त्यसका लागि आकर्षक सहुलियत प्याकेजहरु घोषणा गरिनुपर्थ्यो । तर त्यसो गरिएको पाईएन ।

राष्ट्रिय अर्थतन्त्रको प्रमुख हिस्सा बन्न सक्ने नेपालको पर्यटन क्षेत्रलाई ब्यवस्थित गर्न सके न मासिएर जाने, न नासिएर जाने प्रकृतिले दिएको अनुपम उपहारहरु हामीकहाँ प्रशस्त छन् । तिनको विश्वब्यापीरुपमा आक्रामक प्रचार प्रसार गरेर अघिल्लो वर्षलाई तैयारी वर्षकोरुपमा उपयोग गर्न नेपाल चुकेको सर्बत्र महशुस गरिएको छ । सम्बन्धित बिषयका ज्ञाता एवं विज्ञहरुको पर्याप्त सुझाव तथा सल्लाह लिएर भ्रमण वर्षलाई ऐतिहासिक तथा सार्थक बनाउन अपनाईनुपर्ने कदम बारे बेलैमा मन्थन गरिनुपर्थ्यो । विदेशी पर्यटकहरु नेपालसम्म पुग्ने बनाउन नेपाली बजारमा मात्र हल्ला गरेर कुनै तुक छैन, त्यसका लागि विश्व समुदायको ध्यान खिच्न सक्ने कार्यक्रमहरु दिन आवश्यक छ । पहिलो त नेपाललाई चिनाउने खालको सटिक सामग्रीहरु डिजिटल दुनियाँमा संप्रेषण गरेर नेपाल भ्रमणका लागि आमन्त्रण गर्न सरकारका तालुकदार सबै संयन्त्रलाई भरपुर उपयोग गरिनुपर्दछ । दोस्रो सम्बन्धित देशकै भाषामा सम्बन्धित देशको मिडिया बजारसम्म पहुँच हुने खालका कार्यक्रमहरु वर्षभरिनै आयोजना गर्न सके प्रभावकारी हुन सक्दछ ।

जापानकै सवालमा पनि विदेश भ्रमणमा असाध्यै सौखिन जापानीहरुको ठूलो हिस्साले नेपाल चिन्दैनन्, जतिले चिनेका छन् बुझेका छन् शुभेच्छुक छन् उनीहरुमार्फत अरु जापानीहरुमा नेपाल प्रवर्द्धनात्मक सन्देश संप्रेषणका गतिला उपाय के हुन सक्छन् त्यसको लेखाजोखा त्यहिरुपमा र त्यही लेभलमा हुन सके अझै समय बाँकी छ । पर्यटन प्रवर्धनका अनेकौ मोडलहरु बारे अन्तर्राष्ट्रियय अभ्यासहरु पनि अध्ययन गर्न जरुरी छ । फराकिलो सोचका साथ दीर्घकालिन परिणाम दिन सक्ने उत्कृष्ट मोडलहरुको पहिचान गरी ठोसरुपमा अगाडि बढ्न सम्बन्धित निकायहरुको ध्यान जानुपर्दछ । झिना मसिना र फितला कार्यक्रम भन्दा विदेशी लक्षित प्रभावकारी कार्यक्रम अहिलेको आवश्यकता हो ।

८० लाख नेपाली देशबाहिर रहेको सन्दर्भमा विश्वब्यापी सञ्जालमा जोडिएका नेपाली संघसंस्थाहरु मार्फत हरेक नेपालीले एकजना विदेशी साथी नेपाल पठाउने हो भने पनि यो अभियानमा लक्षित संख्या भन्दा धेरै पर्यटक नेपाल भित्र्याउन सकिन्छ । यसका लागि न त नेपाल सरकारले अहिलेसम्म कुनै आधिकारिक अपिल गरेको पाईएको छ, न त कुनै संघसंस्था वा सम्बन्धित देशका कूटनीतिक नियोगले खासै चासो देखाएको पाईन्छ । नागरिक स्वतःस्फुर्त जाग्ने बेला त हो यद्यपि यस्तो बेलामा सरोकारवला निकायले आफ्ना नागरिकलाई झकझकाउने, कर्त्तब्यबोध गराउने र भ्रमण वर्ष सफल पार्न आ-आफ्नो तह र तप्काबाट सकेको योगदान गर्न प्रोत्साहित गर्ने खालका पहलकदमी हुन सके अझ राम्रो हुने देखिन्छ ।

एकजना रेष्टुरेन्ट व्यवसायीले चाहने हो भने आफ्नोमा आउने हरेक जापानी पाहुनाहरुलाई भ्रमण वर्षको बारेमा जानकारीमुलक सामग्रीमार्फत वर्षभरिनै प्रचार गर्न सक्छन् । जापानभरि नेपालीहरुद्वारा संचालित हजारौं रेष्टुरेन्ट छन् तिनलाई सक्रिय बनाउन सकिन्छ, सयौंका संख्यामा नेपाली संघसंस्थाहरु छन् यो नेटवर्कलाई पनि उपयोग गर्न सकिन्छ । नेपाल लभर जापानीहरुको थुप्रै नेटवर्कहरु छन् उनीहरुलाई पनि अनुरोध गर्न सकिन्छ । तर भ्रमण वर्षमा प्रचारात्मक सामग्री अहिलेसम्म बजारमा देखिएका छैनन् । देशकै प्रतिष्ठासंग जोडिएको अभियानलाई साँगुरो घेरामा मात्र सीमित गरेर होइन विदेशका दुरदराजमा बस्ने आम नेपालीमाझ पुर्‍याई दायित्व बोध गराउन सक्नुपर्दछ । सबैबाट इमान्दार पहलकदमी हुन सके वर्षेनी सरदर ३० हजार नेपाल जाने गरेका जापानीहरुको संख्या बढाएर ६० हजार पुर्‍याउन गाह्रो छैन । यसैगरी हरेक देशबाट पहिलेको भन्दा दोब्बर पर्यटक पठाउने हो भने सहजै लक्ष हासिल गर्न सकिन्छ ।***

तपाईको प्रतिक्रिया