Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपालीहरूले दैनिक खानपिनमा आवश्यकताभन्दा बढी नुनको प्रयोग गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नसर्ने रोगसम्बन्धी जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वे) मा नेपालीले आवश्यकभन्दा बढी नुनको सेवन गरेको देखाएको हो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रतिव्यक्ति प्रतिदिनमा ५ ग्रामसम्म मात्र नुनको प्रयोग गर्न हुने तर सोभन्दा बढी नुनको प्रयोग स्वास्थ्यका लागि हानीकारक हुने जनाएको छ । मापदण्डअनुसार नेपालमा प्रतिव्यक्ति करिब ८ दशमलव ७ ग्राम नुन प्रतिदिन सेवन गरेको देखिएको हो । नुन बढी सेवन गर्नेमा महिलाभन्दा पुरुष अगाडि छन् । पुरुषले हरेक दिन ९ दशमलव १ ग्राम र महिलाले ८ दशमलव ७ ग्राम नुन प्रयोग गरेको सर्वेक्षणले देखाएको छ । हरेक ५–५ वर्षको अन्तरालमा परिषद्ले गर्ने सर्वेक्षण गत फेब्ररुअरीदेखि मेसम्म गरेको थियो । देशभरका १५ देखि ६९ वर्ष उमेरसमूहका ५ हजार ५ सय ९३ जना मानिसमा यो अध्ययन गरिएको थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेक्षणमा सबैभन्दा बढी नुनको प्रयोग कर्णाली प्रदेशमा भएको छ । यहाँका बासिन्दाले दैनिक ९ दशमलव ५ ग्राम नुन सेवन गर्ने गरेको सर्वेक्षणले देखाएको छ । दोस्रो नम्बरमा प्रदेश ३ रहेको छ । जसमा प्रतिव्यक्ति ९ दशमलव ३ ग्राम नुनको सेवन गरेको पाइएको छ । गण्डकी प्रदेश र प्रदेश १ मा ९ दशमलव २ ग्राम नुनको सेवन गरेको देखिएको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा ९ दशमलब १ ग्राम नुनको प्रयोग भएको पाइएको छ । प्रदेश २ मा ८ दशमलव ९ ग्राम सेवन गरेको देखिएको छ । प्रदेश ५ मा ८ दशमलब ७ ग्राम नुन सेवन हुन्छ । चिकित्सकहरू बढी नुनको सेवनले मुटुरोग उच्चरक्तचाप मधुमेह र मस्तिष्कमा असर गर्ने बताउँछन् । विभिन्न अध्ययनहरूले अत्यधिक नुन सेवनले शरीरका रसायन मात्रा असन्तुलन भएर शरीरमा पानी जम्ने हुनुका साथै मानिसको मृत्युसमेत हुने खतरा हुने जनाएको छ ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. यादवदेव भट्टले नुनको बढ्दो प्रयोगले उच्च रक्तचाप बढ्ने बताए । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले नुनको बढी सेवन गर्दा मिर्गौलामा क्याल्सियमको मात्रा बढ्ने बताउँछन् । यसले पत्थरीको समस्या निम्त्याउने खतरा बढी हुने उनी बताउँछन् । क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्र शेखर अमात्यले अत्यधिक नुन भएका खानेकुरा खाने मानिसमा पेटको क्यान्सर हुने सम्भावना बढी हुने बताए। ***

तपाईको प्रतिक्रिया