सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौँ – जापानको राजधानी टोकियो लगायतका स्थानमा आएको ‘हागिबिस’ आँधीका कारण २५ जनाको मृत्यु भएको छ। आँधीपछि करिब १७ जना हराइरहेका अधिकारीले बताएका छन्।

आँधीसँगै भएको वर्षाका कारण कैयौँ नदीमा बाढी आएको र नदीको पानी बस्तीमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो। ‘आँधीका कारण ३ लाख ७६ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको, १४ हजार घरमा खानेपानीको अभाव भएको छ’, प्रमुख सचिव योशिहिदे सुगाले भने।

उद्धारकर्ताले दिएको जानकारीअनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी पहिरो गएको र कतिपय बस्ती डुबानमा परेका छन्। सरकारले आँधीपछि २७ हजार स्वयंसेवकलाई उद्धार र राहतका लागि खटाएको जनाएको छ। भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा बाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ।

यो आँधी प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा थियो।

आँधीको प्रभाव सबैभन्दा धेरै नागानोमा परेको छ। अधिकारीले आँधीपछि नागानो र छिमेकी प्रान्तका  बासिन्दालाई सुरक्षाका लागि अझै सावधानी अपनाउन निर्देशन गरेका छन्।

मन्त्रालयका अनुसार कतिपय बस्तीहरूमा बाढीको पानी करिब पाँच मिटरसम्म जमेको बताइएको छ भने त्यहाँका बासिन्दाले उद्धारका लागि घरका तलाबाट हात हल्लाएर अनुरोध गरेका भिडियोहरू टेलिभिजन तथा सामाजिक सञ्जालमा देखिएका छन्।

नागानो क्षेत्रमा चल्ने जापानका बुलेट रेलहरूसमेत डुबानका कारण अवरुद्ध भएका छन्। रेल कम्पनीका अनुसार १० वटा रेलका १२० डब्बामा क्षति पुगेको छ। जापानको मौसम विज्ञानसम्बन्धी निकायले टोकियो  र प्रभावित १२ वटै प्रान्तमा भारी वर्षा हुने सम्भावना रहेको बताउँदै नदी वरपरका क्षेत्रमा सतर्क बन्न सूचना जारी गरेको छ।

आइतबारसम्म तुफानको प्रभाव कम भएको बताइएको छ।

तपाईको प्रतिक्रिया