सुर्खेत – वीरेन्द्रनगर ८ का प्रेम सापकोटा २०६२ सालमा रोजगारीका लागि दुबई जानुभयो । फर्निचरको कामका लागि दुई पटकसम्म विदेश बस्नुभएका उहाँलाई तेस्रो पटक भने विदेश जान मन लागेन । विदेशमा कमाई देखिए पनि सन्तुष्टि थिएन । घरपरिवारसँग टाढा बसेर कमाउनु भन्दा सँगै बसेर स्वदेशमै केही गर्ने अठोटका साथ उहाँले अटोरिक्सा चलाउन थाल्नुभयो । अहिले उहाँले वीरेन्द्रनगरमा अटोरिक्सा चलाउँदै आउनुभएको छ ।
सापकोटाले यसै व्यवसायबाट दैनिक एक हजारदेखि १५ सय रुपियाँसम्म कमाई गर्नुहुन्छ । अटोरिक्सा चलाएर नै अहिले ६ जना परिवार पालिएको छ । उहाँ भन्नुहुन्छ, – ‘दुबईमा मासिक ७० हजार कमाउँथे । मेसिनमा काम गर्नुपर्दा जोखिम थियो । अहिले यहाँ परिवारसंगै बसेर मासिक ३० हजार कमाई हुन्छ । तर पनि म सन्तुष्ट छु । आफ्नो परिवासँग बसेर कमाउन पाउनु मेरो लागि सबैभन्दा ठूलो कुरा यही हो ।’
वीरेन्द्रनगर १० का जगतबहादुर सार्कीले पनि २७ महिना साउदी अरबमा रोजगारीको सिलसिलामा समय बिताउनुभयो । २०७४ सालमा साउदी गएर २०७५ को मंसिरमा घर फर्किनु भयो । अहिले उहाँले जुत्ता चप्पल सिलाएर परिवारको जीवन धान्नु भएको छ । धन कमाउने ठूलो आशा लिएर विदेश जानु भएकाले उहाँले सोचेको जस्तो पाउनुभएन ।
‘सहिनसक्नु गर्मीमा काम गर्नुपर्थ्यो । ठूला भारी गाडीमा लोड गर्नुपर्ने हुँदा स्वास्थ्यको लागि पनि राम्रो भएन । मासिक नेपाली २५ हजार जति तलब भयो’ उहाँले भन्नुभयो – ‘२५ महिना पुगेपछि तलब नबढाएसम्म काम गर्दिन भने । दुई महिना काम नै नगरी बसे, पछि बिदामा घर आएर र फेरि फर्किर जान मन लागेन ।’
अहिले उहाँले मासिक ३० हजार आफ्नै ठाउँमा कमाउनुभएको छ । दिनमा एक हजारदेखि १२ सय रुपियाँसम्म सडक छेउमै जुत्ताचप्पल सिलाएर कमाउनुहुन्छ । बुवाबाट जुत्ताचप्पल सिलाउन सिक्नुभएका उहाँलाई यही पेसा अहिले आम्दानी स्रोत बनेको छ । ठूलो सपना लिएर बिदेश जानुभन्दा सबैले सानोतिनो सिप सिकेर भएपनि आफैनै ठाउँमा केही गर्न उहाँ सुझाव दिनुहुन्छ ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण विदेश गएका प्रायः परदेशीहरु अहिले स्वदेशमै फर्किर सानोतिनो व्यवसाय गरेर नै रमाएका छन् । कृषि, पशुपालन, व्यवसाय गरेर घरखर्च मात्र पुरयाएका छैनन् छोराछोरीको राम्रो भविष्य बनाउन समेत लागिपरिरहेका छन् । साना छोराछोरी छोडेर झण्डै तीन बर्ष साउदी र ओमानमा जानु भएकी लेकवेशी नगरपालिकाकी राधादेवी पोखरेलले अहिले चटपटे, पान र खुद्रा समान बेचेर नै घरखर्चसहित छोरी पढाई खर्च व्यवस्थापन गर्नुभएको छ ।
विदेशमा कमाएको पैसा भन्दा स्वदेशमै सानोतिनो व्यवसाय गरेर कमाईसंगै सन्तुष्टि मिल्ने उहाँको अनुभव छ । २०६७ सालमा विदेश जाँदा उहाँले ऋण गरेर जानु भएको थियो । ‘विदेशमा कमाएको पैसा ऋण तिर्न र छोराछोरीलाई खर्च पठाउन ठिक्कै भयो’ उहाँले भन्नुभयो, ‘विदेशमा एकै पटक पैसा देख्दा धेरै भएपनि दीर्घकालीन भने हुने रहेनछ । त्यसैले विदेश जानु भन्दा आफ्नै ठाउँमा व्यवसाय गर्न अरुलाई पनि उहाँको सुझाव छ । रासस ***