आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

मेलबर्न – मेलबर्नमा समाजसेवीको रुपमा पहिचान कायम गर्नुभएका गौतम लामिछानेको आफ्नै लेखनमा नीर्मित चलचित्र ‘मन त हो’ को च्यारिटी शो सोमबार एक समारोहका बीच आस्कट भेलमा सम्पन्न भयो । ‘A Home For Orphans and Abandoned Children’ नारा रहेको सामाजिक संस्था बिरुवा नेपालको सहयोगार्थ उक्त च्यारीटि शोमा मेलबर्नमा सक्रिय बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु लगायत करिब १ सय ५० भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो ।

बिरुवा नेपालमा हाल २० जना बालबालिकाहरुले पठन पाठन लगायत लवाई खुवाई र बसोबासको सुबिधा पाइरहेका छन् र यो क्रम बढ्दै जाने जानकारी दिनुहुदै उक्त शो कुनै नाफाका लागि नभै बिशुद्ध सामाजिक कार्यका लागि भएको जानकारी बिरुवा नेपालका संस्थापक गौतम लामिछानेले दिनुभयो ।

नाम जतिकै मन छुने चलचित्र बनेको र देश बिदेशमा रहेर पनि आफ्नो मातृभूमिका लागि बिभिन्न माध्यमवाट आफूले सक्दो केही गर्नुपर्छ भन्ने संदेश रहेको, अन्तरजातीय बिबाह, छुवाछुत प्रथाको अन्त्य, कुलत र कुसंस्कारको अन्त्य लगायत विदेश पलायनले देशले भोग्नुपरेका समस्याहरु, हिमाल, पहाड र तराइ एकै ढिक्का मिले देशको बिकासमा जुट्न सफल हुने जस्ता संदेशहरु सम्प्रेषण गर्न चलचित्र सफल भएको उपस्थित दर्शकहरुले बताएका थिए । साथमा चलचित्रमा भएका संवादहरुले दर्शकहरुलाई भावुक बनाउनुका साथै केही दृश्यहरुमा रमाइलो अनुभब गराएको प्रस्ट देखिएको थियो । सुबास लामिछानेको निर्देशन रहेको चलचित्रका गीतहरु पनि उतिकै मन छुने खालको रहेको प्रतिक्रिया उपस्थित दर्शकहरुले दिएका थिए ।

समाजसेवी रंजन बैद्यले मन्तब्य ब्यक्त गर्ने क्रममा चलचित्रका साथै गौतम लामिछानेको सामाजिक कार्यप्रतिको झुकाबको मुक्त कण्ठले प्रसँशा गर्दै शुभकामना ब्यक्त गर्नुभयो । उहाँले आफूले गौतमको यो सामाजिक कार्यप्रति ऐक्यबदता जनाउने बताउँदै सबैले आफ्नो तर्फवाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।

पत्रकार निरु त्रिपाठीले संचालन गर्नुभएको कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरुलाई बिरुवा नेपालका तर्फवाट संयुक्त रुपमा समाजसेवीद्वय गौतम लामिछाने र पदमा पाण्डेले खुशी व्यक्त गर्दै मायाको चिनो प्रदान गर्नुभएको थियो । समाजसेवी पदमा पाण्डेले धन्यबाद ज्ञापन गर्नुहुँदै उपस्थित सहभागीहरुलाई असार पन्ध्रको सुअबसरमा दहीचिउरा खुवाउन पाउँदा निकै खुशी लागेको बताउनुभएको थियो ।***

तपाईको प्रतिक्रिया