काठमाडौँ – सबै नेपालीले हर्षोल्लासका साथ बडादसैं मनाउने योजना बनाइरहेका छन् । कोही किनमेलमा ब्यस्त छन् भने कोही कतै घुम्न जाने योजना बनाइरहेका छन् । चलचित्र क्षेत्रका कलाकारहरूले पनि वर्षमा एक पटक आउने दसैँलाई रमाइलोका साथ परिवारमा मनाउने योजना बनाएका छन् ।
नायिका सञ्चिता लुइटेलले दसैंलाई धेरै महत्वका साथ मनाउने गर्नुहुन्छ । नवदुर्गाप्रति आस्था राख्ने उहाँ भन्नुहुन्छ,‘ म दसैंमा नवरात्र व्रत बस्दै आएकी छु । यसपटक पनि निरन्तर छ ।’ बुबाआमा र आफन्तको हातबाट टीका लगाएर आशीर्वाद थाप्दा दसैंको मज्जा नै बेग्लै हुने नायिका लुइटेलले बताउनुभयो ।
यो बर्षको दसैं आफ्नै परिवारका साथमा रहेर मनाउने योजनामा रहेको उहाँ भन्नुहुन्छ,‘दसै मलाई गज्जबले नै लाग्छ, नवरात्री सुरु भएसँगै मलाई दसैले छुन्छ । म नवरात्री भरी फलफूल मात्रै खान्छु र हरेक बिहान पूजा गर्छु । पहिले आशीर्वाद लिने क्रम बढी हुन्थ्यो तर अहिले छोराछोरीलाई आशीर्वाद दिने क्रम चलेको छ,एकदम रमाइलो रहन्छ ।’
उहाँले यो मासु खाने चाड भन्छ्न तर म दसैमा व्रत बस्ने भएकोले शाकाहारी र फलफुल मात्र खाने गरेको अनुभव सुनाउनुभयो ।
नायिका रेखा थापाको भनाइ र बानी अलि भिन्न छ । उहाँलाई बलि दिएको मन पर्दैन तर उहाँ शाकाहारी पनि होइन । उहाँ भन्नुहुन्छ, ‘अरु बेलामा काममा नै व्यस्त भएकाले पनि यो समयमा फुर्सद हुन्छ । यसैले पनि दसैका बेला आफन्त, परिवारसँग समय बिताउन पाउने भएकाले मन फुरुङ्ग हुन्छ । यसपटक पनि मेरो दशै परिवारसँग नै वित्छ । म विराटनगरमा नै हुन्छु । मलाई दसैमा टीका थाप्दा र आशीर्वाद लिन सबैभन्दा बढी मनपर्छ ।’
चङ्गा उडाउने सबैभन्दा रमाइलो लाग्ने जानकारी दिदै उहाँले सानोमा त खुव चङ्गा उडाइयो यो वर्ष पनि उडाउने सोचमा भएको बताउनुभयो । छक्का पन्जा–३ को प्रदर्शनीमा ब्यस्त दीपकराज गिरीले भन्नुभयो,‘यो बर्ष भगवानको कृपाले दसै चलचित्र हलमा नै बित्ला जस्तो छ ।
दर्शकसँग खुशी साट्दै दसै मनाउने तयारीमा छु । दसै काठमाडौँ मै मनाउछु, टीकाटालोसँगै हलमा दर्शकसँग चलचित्र हेरेर दसै मनाउने तयारीमा छु ।’ रमाइलो प्रसङ्ग निकाल्दै गिरीले थप्नुभयो, यसपालि त मदिरा पान र तास नहोला जस्तो छ । दर्शक सँगै नै बित्ला जस्तो छ ।
नायिका तथा लेखिका विनिता बराल भने यो वर्षको दसै अमेरिकामा बित्ने जानकारी दिनुभयो । पछिल्लो बर्ष पनि अमेरिकामा दसै मनाएकी बिनिता यो बर्ष पनि अमेरिकामा नै हुने बताउँदै भन्नुभयो, काठमाडौँको सुनसान सडक, चङ्गा, पीङ अनि खसीको मासु मनपर्छ, दसैमा सबै कुरा मिस गर्नेछु ।
आफ्नो सबै परिवार नै राजधानीमा भएको कारण दसैमा घर नजाने अभिनेता सौगाल मल्लले बताउनुभयो । उहाँले भन्नुभयो,‘मलाई दसैमा साथीभाई भेटघाट, खानपिन र रमाइलो नै आनन्द लाग्छ । अरु बेला काममा व्यस्त भइन्छ । केही दिन भए पनि आराम गर्न पाइन्छ । मलाई दसै पर्व उल्लासमय तबरले मनाउन मन लाग्छ ।’
यता निर्देशक केशव रायमाझी भने यसपाली दसैं विराटनगरमा घरपरिवारसँंगै रहने बताउनुभयो । उहाँले बलिप्रथाको विरोधी भएको हुनाले शाकाहारी भएको बताउँदै भन्नुभयो ,‘मेरो वडा दसै शाकाहारी हुन्छ, त्यसैले घरपरिवारमा फलफूल शाकाहारी खाना खाएर रमाइलो गरेर यो पर्वलाई मनाउँछु ।’
हास्य कलाकार रवि डङगोल भने परिवारसँगै भारतमा रहेको जानकारी दिनुभयो । टीकाको दिनमा मात्र काठमाडाैं आइपुग्ने र दसैँ मनाउने जानकारी पनि उहाँले दिनुभयो ।