काठमाडौं – बरिष्ठ लोक सर्जक दुर्गा रायमाझीको नयाँ सिर्जना ’फर्क दाइ फर्क’ आज सार्वजनिक भएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतले गीत सार्वजनिक गर्नुभएको हो ।
रायमाझीको आफ्नै शब्द, लय र स्वरमा तयार पारिएको गीत विदेश रहेका नेपालीलाई स्वदेशमै फर्कन आह्वान गरिएको छ । उहाँले गीत मार्फत् विदेशमा रहेकाहरु फर्किएर स्वदेशमै केही गर्ने हो भने नेपाल नै जापान, अमेरिका, हङकङ जस्तो बन्ने तर्फ प्रवासीहरुको ध्यानाकर्षण गराउनु भएको छ ।
विदेशमा बसेर नेपालबाट गुन्द्रुक ढिँडो मगाएर खाने भए विदेश किन जाने भन्ने प्रश्न गर्दै गीतमा पैसाले मात्रै सुख नहुने अनुभूति प्रवासीहरुले गरेको आशय व्यक्त गरिएको छ ।
गीतको शब्द यस्तो छ –
नेपालवाट मगाई मगाई गुन्द्रुक ढिडो खान्छौ
गुन्द्रुक ढिडै खाने भए किन जापान जान्छौ ?
फर्क दाइ फर्क, फर्क भाइ फर्क
हाम्रै नेपाल जापान बन्छ दुईचार वर्ष पर्ख
यता चाडवाड आएपछि सम्झेर रुन्छौ
बर बर आशु झारी झारी के परदेशी हुन्छौ ?
फर्क दाइ फर्क, फर्क भाइ फर्क
हङकङ जस्तै यहि देश बन्छ दुईचार वर्ष पर्ख
राम्रो नम्वर ल्याउने जति कन्सल्टेन्सी धाउने
यो चालले हाम्रो नेपाल कैले उभो लाउने
फर्क दाइ फर्क, फर्क भाइ फर्क
अष्ट्रेलिया यही देश बन्छ दुईचार वर्ष पर्ख
अमेरिका गई हुन्छौ होला करोड कमाउने
करोडले नि होईन रैछ यो मन रमाउने
फर्क दाइ फर्क, फर्क भाइ फर्क
अमेरिका झैं यहि देश बन्छ दुईचार वर्ष पर्ख
वाह्र घण्टा घोटिन्छौ रे दक्षिण कोरियामा
त्यति गरे के के फल्थ्यो हाम्रै खोरियामा
फर्क दाइ फर्क, फर्क भाइ फर्क
कोरिया झैं यहि देश बन्छ दुईचार वर्ष पर्ख
युवाहरु विदेसिए देश वनाउने को त ?
देश विग्रेको गतिलाले देश छोडेर पो त
फर्क दाइ फर्क, फर्क भाइ फर्क
सिंगापुर झैं यहि देश बन्छ दुईचार वर्ष पर्ख
आफ्नो जन्मभूमि आफै गरेपछि हेला
हाम्रो नेपाल को आएर राम्रो बनाईदेला ?
फर्क दाइ फर्क, फर्क भाइ फर्क
युरोपजस्तै यही देश हुन्छ दुईचार वर्ष पर्ख
हवाईजहाज उड्दा पनि हेर्छन आकाश तिर
बुढा भा’का बाउआमालाई छोरछोरीकै पीर
फर्क दाइ फर्क, फर्क भाइ फर्क
बिदेशजस्तो यही देश बनाऔं दुईचार वर्ष पर्ख
दुख पर्दा विदेशवाटै पठाउला धन
त्यो धनले नि निको हुन्न बाउआमाको मन
फर्क दाइ फर्क, फर्क भाइ फर्क
बिदेश जस्तो यही देश बन्छ दुईचार वर्ष पर्ख
सुनकै थालमा खाए पनि भातै खाने त हो
मरिजादा आखिरीमा नांगै जाने त हो
फर्क दाइ फर्क, फर्क भाइ फर्क
बिदेशजस्तो यही देश बन्छ दुईचार वर्ष पर्ख
यहि छ जमिन सुन फल्ने यहि छ हराभरा
मुग्लानमा कस्ले भन्छ तिम्लाई कठैबरा
फर्क दाइ फर्क, फर्क भाइ फर्क
युरोपजस्तै यही देश हुन्छ दुईचार वर्ष पर्ख
युवाहरु विदेशतिर पाईला मोड्न हुन्न
गरिव भनि जन्मभूमि आमा छोड्न हुन्न
फर्क दाइ फर्क, फर्क भाइ फर्क
जापान जस्तै यही देश हुन्छ दुईचार वर्ष पर्ख
पुराना थुप्रै गीतका सर्जक रायमाझीले अहिले झण्डै एक दशकपछि नयाँ गीत सार्वजनिक गर्नुभएको हो । बटौलीमा निम्तो छ मलाई जानु पर्छ जोर मादल भिरेर, अचेल गाउमा यस्तै छ साननानी, भैसी पालेर जस्ता गीतका सर्जक रायमाझी गित संगित क्षेत्रका अनुसन्धानकर्ता पनि हुनुहुन्छ ।
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष समेत रहनु भएका रायमाझी गीत संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ समेत हुनुहुन्छ ।
बरिष्ठ सर्जक रायमाझीको गीत विमोचन गर्दै श्रममन्त्री बिष्टले सरकार र मन्त्रालयको भावना गीतले प्रकट गरेको बताउनुभयो । सरकार र नेताहरुले गरेको आह्वानलाई जनताले सजिलै नपत्याउने गरेकाले कलाकारहरुले गरेको आह्वान प्रभावकारी हुने र हजारौ युवाहरु स्वदेश फर्किन प्रेरित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा काँग्रेस प्रवक्ता तथा गीतकार विश्वप्रकाश शर्माले गीतले विदेशीएका चालिस लाख नेपालीलाई आफ्नै घरमा बोलाएको बताउनुभयो । उहाँले यो गीत एक दुई महिनाका लागि मात्रै नभएर यस दशक भरीकै गीत भएको धारणा राख्नुभयो ।
भिजन लुम्बिनीको संयोजनमा भएको विमोचन कार्यक्रममा भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेल, सर्जक रायमाझी, एनआरएनका सहकोषाध्यक्ष सोमप्रसाद सापकोटा, पत्रकार ऋषी धमला लगायतले यो गीतले नेपाल र नेपालीको अहिलेको भावना र आवश्यकता बोलेको बताउनु एको थियो । ***