मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो – टोकियोमा दुई दिवसीय नेपाल फेस्टिवल आइतवार सकिएको छ ।

फेस्टिवलमा नेपाली परिकारका विभिन्न खाना, सेवा, वस्तु र नेपालको चिनारी दिलाउने सामाग्रीहरुका दर्जनौ स्टल रहेका थिए भने नेपालका बिभिन्न जातजाति र सम्प्रदायको सँस्कृति झल्किने भेषभूषामा नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
जापानी समुदायमा नेपाल र नेपाली चिनाउने र नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको नेपाल फेस्टिवलमा नेपालकै झझल्को दिलाउने खालको बौद्ध स्टुपा निर्माण गरिएको थियो । अघिल्लो वर्षका नेपाल आइडलका निशान भट्टराई, बुद्ध लामा, प्रताप दास लगायतका कलाकारहरुको दमदार प्रस्तुती फेस्टिवलको अर्को आकर्षण बन्न पुगेको थियो । फेस्टिवलमा जापानमै रहेका कलाकर्मीहरुले पनि विभिन्न क्षेत्र र बिधाको प्रतिनित्वि गर्ने साँगीतिक प्रस्तुती दिएका थिए । बिभिन्न संघसंस्थाका साँस्कृतिक झाँकी, प्रतिनिधिमुलक नेपाली सँस्कृति झल्किने साँगीतिक प्रस्तुती, नौमती बाजा, लाखे नाच, भूमे नाच जस्ता कार्यक्रमहरुले फेस्टिवलको रौनकता बढाएका थिए ।

जापानस्थित नेपाली राजदूतावास र एनआरएन जापानको संयुक्त आयोजना र अन्य क्रियाशील संघसंस्थाहरुको सहआयोजनामा भएको नेपाल फेस्टिवलको उदघाटन समारोहमा बोल्दै जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले जापानीहरुलाई नेपाल चिनाउने सन्दर्भमा यस्ता फेस्टिबलहरुको महत्वपूर्ण भूमिका रहने धारणा ब्यक्त गर्नुभयो । यसैगरी एनआरएन आइसीसीका अध्यक्ष भवन भट्टले नेपाल फेस्टिवलमार्फत जापानमा नेपालीहरुले मुलुक चिनाउने अभियानलाई निरन्तरता दिदैं आएको बिचार ब्यक्त गर्नुभयो ।

फेस्टिवलको दोस्रो दिन जनैपूर्णिमा पनि परेकोले फेस्टिवल स्थलमै पण्डितहरुद्वारा रुद्रि, हवन गरी जनै मन्त्रणा गर्नुका साथै सामुहिक रक्षाबन्धन पनि गरिएको थियो ।

फेस्टिवल समारोहमा एनआरएन हङकङकी अध्यक्ष टिका गुरुङ र एनआरएन दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङको पनि बिशेष उपस्थिति रहेको थियो ।
कोमाजावास्थित ओलम्पिक पार्कमा भएको थियो सो फेस्टिवलमा प्रचण्ड गर्मीको समेत प्रवाह नगरी उत्साहजनक नेपालीहरुको सहभागिता रहेको थियो । जापानीहरुको सहभागिता बढाउन भने अझ धेरै मिहिनेत गर्नुपर्ने फेस्टिवल अवलोकन कर्ताहरुको प्रतिक्रिया रहेको थियो ।***

तपाईको प्रतिक्रिया