सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं –  संगीतकार नरेश खाती क्षेत्रीको संगीतमा तीज गीत ‘लान्छ कि भैरेले…’ रिलिज भएको छ ।

पश्चिमतिरका जिल्लाहरूमा गाइने लोक लयको झल्को यो गीतमा सुन्न पाइन्छ । बिहीबार युट्युबमार्फत रिलिज गरिएको गीतमा गायक मेक्सिम खाती क्षेत्री, गायिकाद्वय पूर्णकला विसी र सुशीला केसीको स्वर रहेको छ ।

गीतमा टप्पा र लोकलयलाई नै समेटिएको संगीतकार नरेश खाती क्षेत्रीले बताए । ‘मौलिक प्रकारको गीत बनेको छ’, उनले भने, ‘म्युजिक भिडियो पनि मेहनत गरेर बनाइएको छ ।’

गायक समेत रहेका संगीतकार नरेशले दुई सयभन्दा धेरै गीतमा स्वर र संगीत दिइसकेका छन् । दाङ जिल्लाबाट संगीतकै लागि राजधानी आएका नरेशले गीतसंगीतलाई नै सबैथोक मान्छन् । भन्छन्, ‘गीतसंगीतमा लागेको छु । अहिलेसम्म ठीक छ । भविष्यमा के हुने हो थाहा छैन ।’

गोरक्ष म्युजिक प्रालिले बजारमा ल्याएको तीज गीतका शब्द सुशीला केसीले लेखेकी हुन् । गीतका एरेञ्जर सञ्जय श्रीपाल हुन् ।

मौसम हिमालीले म्युजिक भिडियो निर्देशन गरका छन् । म्युजिक भिडियोमा मेक्सिम खाती क्षेत्रीका साथै अञ्जली अधिकारी र सुजन ढकालले मोडलिङ गरेका छन् ।

तपाईको प्रतिक्रिया