आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

मस्को –  फिफा वर्ल्ड कप आयोजनाका लागि रुस तयार छ । विभिन्न मुलुकका खेलाडीहरु विश्वकपका लागि धमाधम रुस पुग्दैछन् ।विश्वका फुटबल प्रेमीहरु यस पटक विश्वकप कसले जित्ला भनेर लेखाजोखा गर्न थालिसकेका छन् भने कयौंले आफ्नो रोजाईको टिमप्रति समर्थन जनाउन थालेका छन् ।

विश्वकप फुटबलमा केही यस्ता कीर्तिमान छन् जो यस पटक तोडिन सक्छन् । कीर्तिमान तोडिनमा केही संयोग आवश्यक हुन्छ, जो पुरा नहुन पनि सक्छ । तर संयोग त्यस्तै परेमा भने केही कीर्तिमान यसरी तोडिन सक्छ ।

सर्वाधिक उमेरमा विश्वकप खेल्ने कीर्तिमान

विश्वकप फुटबल सबैभन्दा बढी उमेरमा खेल्ने खेलाडीका रुपमा कोलम्बियाका फरीद मोन्द्रागनको नाममा कीर्तिमान छ । उनले ४३ वर्ष ४ दिनको उमेरमा जापानविरुद्ध विश्वकप खेलेका थिए ।

यो कीर्तिमान यस पटक तोडिन सक्छ । किनकि इजिप्टका गोलकिपर एसम अल हैदरीको उमेर ४५ वर्षभन्दा माथि छ । उनी मैदानमा उत्रिनासाथ सर्वाधिक उमेरमा विश्वकप खेल्ने खेलाडीका रुपमा आफ्नो नाममा कीर्तिमान बनाउने छन् । तर उनी मैदानमा उत्रिन पाएनन् वा टिमको पहिलो रोजाईको गोलकिपरमा उनी परेनन् भने उनी यो कीर्तिमानबाट वञ्चित हुनेछन् ।

लामो अन्तरालमा विश्वविजेता

लामो अन्तरालमा विश्वकप जित्ने कीर्तिमान इटालीको नाम छ । यस वर्ष विश्वकपमा इटाली छैन । उसले पहिलोपटक सन् १९३८ मा विश्वकप जितेको थियो भने ४४ वर्षपछि दोस्रो पटक विश्वविजेता बनेको थियो ।

यस पटक उरुग्वे वा इंग्ल्याण्डले विश्वकप जितेमा इटालीको सो कीर्तिमान तोडिने छ । उरुग्वेले सन् १९५० यता विश्वकप जित्न सकेको छैन । इंग्ल्याण्डले सन् १९६६ यता विश्वकप जित्न सकेको छैन ।

लगातार चौथो स्थान

विश्वकपमा सबैभन्दा धेरै पटक चौथो स्थानमा रहने राष्ट्रका रुपमा उरुग्वेले कीर्तिमान बनाएको छ ।

उरुग्वे तीन पटक विश्वकपमा चौथो स्थानमा रहेको छ । सन् १९५४, १९७० र २०१० मा उरुग्वे चौथो स्थानमा रह्यो ।

पाँच पटक विश्वकप जितेको ब्राजिल दुई पटक चौथो स्थानमा रहेको छ । ब्राजिल सन् १९७४ र २०१४ मा चौथो स्थानमा रह्यो । यस पटक ब्राजिल चौथो स्थानमा सीमित भएमा उसले उरुग्वेसँग चौथो स्थानका लागि बराबरी गर्नेछ भने लगातार दुई पटक चौथो स्थानमा रहेको कीर्तिमान कायम गर्नेछ । यद्यपि ब्राजिललाई यस पटक विश्वकपको दाबेदारका रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया