सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

खेलाडिहरुको हौसला बढाउन जापानवासी नेपालीमा अपील 

टोकियो – जापानमा लामो समयदेखि हुँदै आएको जुनियर फुटवल प्रतियोगितामा भाग लिन नेपाली टिम बुधबार जापान आईपुगेको छ ।

प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा जापान आईपुगेको नेपाली जुनियर टिममा १२ जना खेलाडिहरु र १ जना मिडिया संयोजकको भूमिकामा पत्रकार विक्रम थापा संलग्न छन् ।  कोपा पुमा तोरेरोस टुर्नामेन्ट – २०१८ मा आयोजक राष्ट्र जापान लगायत विश्वका ४० टिमले भाग लिने भएका छन् । नेपाली टिमको सहभागिता यो पटक तेस्रोचोटी हो ।

नेपालबाट जुनियर खेलाडिहरु छनौट गरी जापानसम्म ल्याएर अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी गराई उनीहरुको मनोवल उच्च बनाउने अभियानमा नेपालका पूर्व राष्ट्रिय फुटवल खेलाडि बसन्त गौचन र जापानमै ब्यवसाय गर्दै आएका पूर्वखेलाडि ओमप्रकाश तुलाचन विगत ३ वर्षदेखि सक्रिय छन् ।
आयोजक फनरुट्स एकेडेमी रहेको यसवर्षको प्रतियोगिता यहि मार्च ३०, ३१ र अप्रिल १ तारिखमा सिजुओका केनको गोतेम्वामा हुने प्रशिक्षक गौचनले समुद्रपारिलाई बताए । गौचन आयोजक संस्था फनरुट्स् एकेडेमीमा फुटवल प्रशिक्षककारुपमा कार्यरत छन् । फनरुट्स एकेडेमीले विगत लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ ।

नेपालमा फुटवल खेलको भविष्यलाई अझ राम्रो बनाउने उद्देश्यले जुनियर टिमलाई जापानमा सहभागी गराएर उनीहरुको आत्मबल र हौसला बढाउने आफुहरुको प्रयासमा सहकार्य गर्न संयोजक तुलाचनले जापानबासी नेपालीहरुलाई अपील गरेका छन् । खेलाडिहरुको स्वागतमा बुधबार साँझ टोकियोमा आयोजित रात्रीभोज कार्यक्रममा बोल्दै टोकियोस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले नेपाली जुनियर खेलाडिहरुलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी गराई समग्र नेपाललाई चिनाउने र नेपाली खेलकुद जगतको स्तरोन्नती गराउने पहलकदमीको सह्राना गरे । उनले यस प्रकारका कार्यमा दूतावासको सँधै सहयोग रहने प्रतिबद्धता पनि ब्यक्त गरे ।

सो अवसरमा बोल्दै प्रशिक्षक गौचनले गोतेम्वामा हुने प्रतियोगितामा सहभागी भई नेपाली खेलाडिहरुको हौसला बढाउन जापानबासी खेलप्रेमी नेपालीहरुमा अनुरोध गरे । नेपालबाट आएको टिमलाई बुधबार अपरान्ह नारिता विमानस्थलमा स्वागत गरिएको थियो ।***

तपाईको प्रतिक्रिया