आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् । चिकित्सकले एमआरआई गरे । घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो । तर, थप उपचारका लागि त्यहाँका डाक्टरले काठमाडौं रिफर गरिदिए ।

चितवनका चिकित्सकले भनेअनुसार उनी परिवारका सदस्यसहित थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगिन् । चितवनकै एमआरआई रिपोर्ट हेरेका नर्भिकका चिकित्सकले अप्रेसन गर्नुपर्ने बताए । विन्दु अप्रेसनका लागि शुक्रबारै भर्ना भइन् ।

अर्थोपेडिक डा. प्रवीण नेपाल र डा। शैलेज रञ्जितकारको टोलीले अप्रेसन गर्ने तय भयो । बिरामीका आफन्त बाहिर बसे, डाक्टरद्वयले भित्र अप्रेसन थाले । केही घन्टापछि आफन्तलाई खबर आयो, अप्रेसन सफलतापूर्वक सकियो । थिएटरबाहिरको वातावरण उज्यालो बन्यो । तर, बिरामीलाई तत्काल भेट्न दिइएन ।

जब विन्दुलाई भेट्न आफन्तले अनुमति पाए, तब खुसीको पाइला लम्काए । तर, देब्रे गोडाको अप्रेसन गर्न ल्याएको बिरामीको दाहिने गोडा चिरेको देखेपछि आफन्त छाँगाबाट खसेझैँ भए ।

सुरुमा सुन्नै चाहेनन्, पछि स्विकारे

बिरामीका परिवारले तत्काल अस्पताल प्रशासनमा आपत्ति जनाए । तर, पीडितका कुरा प्रशासनले सुन्न चाहेन । ‘गलत अप्रेसन भएको जानकारी गराउँदा प्रशासनले स्विकारेन,’ विन्दुका श्रीमान् किशोर पौडेलले भने, ‘अप्रेसन गर्ने डा. नेपालले पनि गल्ती नभएको बताए ।’

पीडित र अस्पताल प्रशासनबीच लामै विवाद चल्यो । ‘अन्ततः डा. नेपालले गल्ती स्विकारे, प्रशासन पनि गल्यो,’ किशोरले भने । नर्भिकले गल्ती स्विकार्दै पीडित पक्षसँग लिखित रूपमै विभिन्न सहमति गरेको छ । डा. नेपालले गल्ती स्विकार्दै भनेका छन्, ‘अप्रेसनका वेला भ्रममा परेछु, देब्रे सोचेर अप्रेसन गरेको दाहिने पर्न गएछ, पछि मात्रै थाहा पाएँ ।’

पीडित र अस्पतालबीच सहमति

विन्दुको देब्रे गोडाको अप्रेसन गर्नुपर्नेमा दाहिने गोडाको गरेको विषयमा नर्भिकले लिखित रूपमै गल्ती स्वीकार गरेको छ ।

पीडित पक्ष र अस्पतालबीच भएको सहमतिमा गल्ती स्विकारेको स्पष्ट छ । सहमतिपत्रमा भनिएको छ, ‘मानवीय त्रुटिका कारण दाहिने घुँडाको अप्रेसन हुन गएको तथ्य हामी उपचारमा संलग्न चिकित्सक प्रवीण नेपाल र शैलेज रञ्जितकार तथा नर्भिक हस्पिटल स्वीकार गर्दछौँ ।’

विन्दुको गलत रूपमा दाहिने गोडाको अप्रेसन हुन गएकाले भविष्यमा आइपर्ने स्वास्थ्य समस्या र देब्रे घुँडाको लिगामेन्ट टियरको उपचार, यसमा जोडिएर आउने नसालगायतको समस्या, दुवै गोडाको हुन सक्ने सम्पूर्ण उपचार अस्पतालले निःशुल्क गर्ने सहमतिपत्रमा लिपिबद्ध गरिएको छ ।

विन्दुको घुँडाको उपचार नेपालबाहिर लगेर गर्नुपरे पनि सबै खर्च नर्भिकले व्यहोर्ने भएको छ । अस्पतालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया