Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

बागलुङ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले नेपालमा लगानी योग्य वातावरण बनाएर धेरैभन्दा धेरै लगानी भित्र्याई आर्थिक समृद्धिको गतिलाई तीव्र रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

बागलुङमा प्रदेश नम्बर–४ स्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला तथा पाँचौँ बागलुङ महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै भट्टले ठूलो मात्रामा विदेशी लगानी ल्याउन सके मात्र मुलुकको आर्थिक विकासले गति लिने उल्लेख गरे। त्यसका लागि नेपालमा गरेको लगानी सुरक्षित हुने र प्रतिफल दिनसक्ने विश्वास सरकारले लगानीकर्तालाई दिलाउनुपर्ने उनको भनाइ थियो।

‘हाम्रो देशमा लगानीका धेरै सम्भावना छन्’, भट्टले भने, ‘विदेशमा रहेर कमाइसँगै सीपसमेत आर्जन गरेका हामी गैरआवासीय नेपालीले पनि लगानीका ठाउँ खोजिरहेका हुन्छौँ, तर राज्यले लगानीयोग्य अवस्था बनाउन गर्न सहजीकरण गर्नुपर्छ।’ उनले गैरआवासीय नेपाली संघ, नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच त्रिपक्षीय छलफल गरी विदेशबाट धेरैभन्दा धेरै लगानी नेपाल ल्याउन कसरी काम गर्ने भन्ने रणनीतिक योजना बनाएर अघि बढ्ने योजना सुनाए।

‘ठूला लगानीकर्ता भित्र्याउन कसरी काम गर्ने? किन यस्तो लगानी आउन सकिरहेको छैन, के कुरा लगानी ल्याउनका लागि बाधक छ र अब हामी कसरी अघि बढ्ने? भन्नेबारे त्यहाँ छलफल गरी नीतिगत योजना बनाइन्छ’, भट्टले भने, ‘यस क्रममा लगानी ल्याउनुपर्ने देशसँग आर्थिक साझेदार सम्झौता (ईपीए) गर्ने, दोहोरो कर प्रणालीको अन्त्य गर्ने, लगानी प्रवद्र्धन सम्झौता (विप्पा) गर्ने जस्ता नीतिगत कुरालाई सुधार गर्ने विषय नै आउँछन्।’ नेपाल सरकारले स्पष्ट योजनासहित प्रधानमन्त्रीले नै लगानी गर्नसक्ने सम्भावित मुलुकको भ्रमण गरी लगानी भित्र्याउन पहल गर्नुपर्ने भन्दै उनले यसका लागि एनआरएनएले सहयोग र समन्वय गर्ने बताए।

व्यवसायीले पनि इमान्दार भएर राज्यलाई कर तिर्नुपर्ने उनको भनाइ थियो। ‘तिर्नुपर्ने थोरै कर राज्यलाई छल्न खोज्दा आफ्नै कम्पनीको महत्त्व घट्छ’, भट्टले भने। ‘व्यवसायीले आफूसँग सय रूपैयाँ छ भने जहिले पनि एक हजारभन्दा बढीको काम गर्ने योजना बनाउँछ, त्यसैले उसलार्ई लगानी रकम सधैँ अपुग नै हुन्छ’, उनले कर छल्दा व्यवसायीलाई नै आउने समस्याबरे थप स्पष्ट पार्दै भने, ‘अन्य साझेदार वा बैंकबाट ऋण लिएर थप लगानी जुटाउँदा व्यसायीको छवि र उसको कम्पनीको महत्त्वले ठूलो काम गर्छ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा बागलुङ– २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले राजनीतिक अधिकार प्राप्तिको संघर्ष सकिएको भन्दै अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए।  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले लगानीका क्षेत्र नेपालमा पर्याप्त भएकाले विभिन्न परियोजना सञ्चालन गरेर विदेश जाने नेपाली युवालाई देशमै काम गर्नसक्ने वतावरण बनाउन सकिने बताए।

महोत्सव पुस २४ गतेसम्म चल्ने उद्योग वाणिज्य संघ बागलुङले आयोजना गरेको ‘प्रदेश नम्बर–४ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा पाँचौँ बागलुङ महोत्सव’ पुस २४ गतेसम्म चल्नेछ। उद्घाटन कार्यक्रम सुरु हुनुभन्दा अघि पाँच दर्जनभन्दा बढी विभिन्न संघसंस्था, धार्मिक समुदाय, विद्यालय तथा जातीय समुदायले आफ्ना वेशभूषासहितको झाँकी प्रदर्शन गर्दै बागलुङ बजारको परिक्रमा गरेका थिए।  मेलामा पाँच दर्जन राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, उँट नाच, अंग्रेजी नयाँ वर्षको स्वागतमा रातभर डिजे कन्सर्ट, पुरुष तथा महिला भलिबल, लोक दोहोरी गीत प्रतियोगिता, पर्यटकीय स्थलको फोटो प्रदर्शनीलगायतका कार्यक्रम हुने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले जानकारी दिए।

पाँच लाख पर्यटक ल्याएर ५० करोड कारोवार गर्ने लक्ष्य बागलुङ महोत्सवमा पाँच लाख पर्यटक भित्र्याएर ५० करोड रुपैयाँको कारोवार गर्ने अयोजकको लक्ष्य छ। कार्यक्रम सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्च हुने र एक करोड रुपैयाँभन्दा बढी आम्दानी गरिने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए। ‘मुलुक नयाँ संरचनामा गएपछि पहिलो पटक हुन लागेको महोत्सवले यहाँको व्यावसायिक प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान गर्नेछ’, महोत्सव मूल अयोजक समिति संयोजकसमेत रहेका भारीले भने, ‘पाँच लाखभन्दा बढी पर्यटक ल्याएर ५० करोड रुपैयाँको कारोवार गर्ने हाम्रो लक्ष्य हो।’  कार्यक्रममा आउने पाहुनालाई जिल्लाका पञ्चकोट, प्रसिद्ध बागलुङ कालिका, भकुण्डेलगायतका पर्यटकीय स्थलमा घुमाउने व्यवस्था आयोजकले मिलाएको अयोजक समितिका सदस्य सचिव दयाराम पौडेलले बताए। धौलागिरि बहुमुखी क्याम्पस परिसरमा सुरु भएको महोत्सवमा १ सय ८२ व्यावसायिक स्टल रहेका उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया