काठमाडौं – देशभर चिसो बढेको छ । तराईका जिल्लामा शीतलहर र उच्च पहाडी तथा हिमाली जिल्लमा बाक्लो हिमपात सुरु भइसकेको छ । चिसोमा स्वास्थ्यको ख्याल गर्न नसके हृदयघात हुने खतरा धेरै हुने डाक्टरले बताएका छन् । मुटु रोग विशेषज्ञ डा. प्रेमराज वैद्यका अनुसार चिसोले हृदयघात र मुटुरोग बढाउँछ ।
चिसोले शरीरका नसा खुम्चिने हुनाले हृदयघातको सम्भावना भएकामा हृदयघात, मस्तिष्क घात हुने र मुटु बिगे्रका बिरामीलाई निमोनिया, उच्च रक्तचापको समस्या बढी हुने डा. वैद्यले बताउनुभयो ।
विभिन्न अध्ययनले पनि चिसो समयमा नै हृदयघात हुने र मुटुका बिरामी समस्यामा पर्ने गरेको देखाएको छ । चिसोले फोक्सोमा असर गर्ने हुँदा रक्तसञ्चार प्रवाहमा असर पर्न जान्छ । जसले गर्दा मुटुका रोगीलाई समस्या हुने उहाँले बताउनुभयो ।
यस्तै जाडो महिनामा नै श्वासप्रश्वास नलीबाट ब्याक्टेरिया पनि छिर्ने र यसले फोक्सोमा समेत संक्रमण हुने र मुटुमा थप समस्या पर्ने डाक्टरले बताएका छन् । चिसोमा कतिपयले बढी नुनिलो, चिल्लो र चुरोट खाने गरेकाले पनि मुटुको रक्तचाप बढ्ने गरेको पाइएको छ ।
डाक्टरहरुका अनुसार खानपानमा ख्याल गरी न्यानो कपडा र झोलिलो खाने कुरा खाए जाडो महिनामा लाग्ने सम्भावित रोगबाट बच्न सकिन्छ ।