मानिस चेतनशील प्राणी हुनुको नाताले हरेकमा राजनैतिक आस्था र तत्सम्बन्धमा निजी धारणा हुनु स्वभाविकै हो । राजनीतिमा लागेकाहरु खुलेरै राजनीति गर्छन् र जतिसक्दो आफ्नो पक्षमा समर्थन जुटाउन हरसंभवका प्रयासहरु गरिरहेका हुन्छन् । सार्बजनिक जिम्मेवारी धारण गरेका साझा मान्छेहरु तथा सरकारी सेवामा कार्यरत कर्मचारीहरु आफ्नो झुकावलाई आफैमा सीमित राखेर छताछुल्ल हुने गरी पोखिदैनन् । यद्यपि यो वर्गले राजनीतिको तराजुलाई निर्णायक तहमा पुर्याउन भने निकै मद्दत पुर्याईरहेका हुन्छन् । उनीहरुको आफ्नो मात्र मतले नभएर उनीहरुको बौद्धिक पहुँच र विवेकी प्रभाव क्षेत्रको दायरा फराकिलो हुने भएकोले यस्तो हुन गएको हो ।
हाल नेपालमा भईरहेको स्थानीय तहको निर्वाचनमा सामाजिक सञ्जालको बढ्दो प्रयोग भईरहेको हामीले देखिरहेका छौं । राजनैतिक दल तथा उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई तिब्र पार्न सामाजिक सञ्जालको राम्रै उपयोग गरिरहेका छन् । स्वदेशमा स्थानीय चुनावले गाउँ-सहर तात्दै गर्दा बिदेशमा रहेका नेपालीहरुलाई पनि कुनै न कुनैरुपमा चिन्ता र चासो हुनु स्वभाविकै हो । आफ्नो गाउँठाउँ र रस्तीबस्तीको बिकास र समृद्धिसंग जोडिएको बिषयमा चासो बढ्नुलाई अन्यथा मान्न सकिदैन । यद्यपि यसपालीको स्थानीय चुनाव बिदेशमा बसेका नेपालीहरुलाई पनि राम्रैसंग लागेको देखियो । मुलुक गणतन्त्र र संघीयतामा प्रवेशगरेसंगै पहिलोपटकको ऐतिहासिक स्थानीय निर्वाचन हुनु र उक्त निर्वाचनमार्फत केन्दीकृत शासनब्यवस्थालाई अधिकार सम्पन्न स्थानीय निकायमा हस्तान्तरण हुने प्रावधानका कारण यसपटकको निर्वाचनको उच्च महत्व छ ।
मुलुकमा स्थानीय निर्वाचनको सरगर्मी चलिरहँदा बिदेशमा बसेका नेपालीहरुले सामाजिक सञ्जालभरि आफ्ना समर्थनका दल र उम्मेदवारको पक्षमा खुलेरै प्रचारप्रसार गरिरहेका छन् । बिभिन्न कालखण्डमा भएका नेपालको राजनैतिक घटनाक्रम र समयको परिवर्तनसंगै मानिसहरुमा आएको राजनैतिक चेतनाको स्तर, दशकौंसम्म न त बिकास न निकासका कारण गुम्सिएको एक खालको राजनैतिक उकुसमुकुस, उपलब्ध सूचना र प्रविधिको सुबिधा जस्ता कारणले सामाजिक सञ्जालभरि राजनैतिक कुण्ठा अलि बढिनै पोखिएको हुन सक्ने सहजै अनुमान लगाउन सकिन्छ ।
तथापि बिदेशमा मिलेर बसेको नेपाली समुदायबीच सामाजिक सद्भाव खलल हुने, समाजलाई ध्रुबिकरणतिर लैजाने, एकले अर्कोलाई तल्लोस्तरको भाषा प्रयोग गरी लाञ्छना लगाउने जस्ता अपाच्य अभिब्यक्तिहरु अलि बढि नै पोखिएको देखिन्छ । अर्कोतिर कम्तीमा पनि सहिलाई सहि र गलतलाई गलत भन्ने राजनैतिक सँस्कारको असाध्यै खडेरी देखियो । झण्डामोहका कारण आफ्नाले गलत नै गरे पनि सहि देख्ने र बिपक्षीले जायज नै गरे पनि गलत देख्ने नेपालको राजनैतिक कुसँस्कार बिदेशमा रहेका नेपालीहरुमा पनि देखिनुलाई बिडम्बना नै मान्नुपर्दछ ।
यसैगरी समाजमा साझा परिचय बनाएका सबैद्वारा जानेमानेको उचाई हासिल गरेका सम्मानित ब्यक्तित्वहरुले चुनावको बेलामा अलिकति पनि तटस्थता प्रदर्शन गर्न नसकेको पाईयो । पेशागत हिसाबले समाजमा सम्मानित एवं साझा मान्छे भनेर चिनिने विद्वतवर्ग, डाक्टर, प्राध्यापक, वकिल, पत्रकार, कलाकार, कर्मचारी जस्ता पेशाकर्मीहरु पनि कुनै न कुनै रुपमा आफ्नो रङ देखाएरै छोडे यसपालीको निर्वाचनमा ।
उनीहरु मध्य कसैले पार्टीको झण्डा ओढे, कसैले पार्टीको स्तुतीगान गाए, कसैले भजनकिर्तन लेखे, कतिपयले अन्धभक्त भएर वकालत गरे । यो मामिलामा पत्रकार र कलाकारहरु अझ बढि उत्ताउलिएको जस्तो देखियो । जसलाई समाजका हरेक तह र तप्काले सजिलै पचाउन सकेको पाईएन किन कि निर्वाचनपश्चात पुनः साबिकै हैसियतमा रहेर आफ्नो जिम्मेवारी निर्बाह गर्नुको विकल्प छैन । कि त सँधैका लागि राजनीतिमा होमिने हिम्मत गर्न सक्नुपर्यो । अझ बिदेशमा त नेपाली समुदायबीचको मेलमिलाप, एकता र सौहार्द्रतालाई भुसुक्कै बिर्सेर क्षणिक चुनावी आवेगमा बहकिनु र उग्र अभिब्यक्ति संप्रेषण गरिनुले पारस्परिक दूरी बढाउनुभन्दा अरु फाइदा गर्ने देखिदैन । किनभने हामी बिदेशमा छौं, थुप्रै समस्याहरुको चाङका बीच यहाँ हाम्रा आफ्नै खालका सामाजिक जिम्मेवारी, पेशा, ब्यवसाय र धरातलीय यथार्थता छन् ।***