Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – परम्परागत नेपाली मौलिक पञ्चेबाजालाई जापानमा भित्र्याएर यसको चिनारी, प्रचार प्रसार एवं संबर्द्धनमा लागिपर्दै आएको देउराली पञ्चे बाजा समुहले आइतवार टोकियोमा मैत्रिपूर्ण बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

जापानमा रहेका नेपालीहरुबीच पारस्परिक भेटघाट, सहयोग, सम्पर्क र सम्बन्धमा बिस्तारका साथै साँगीतिक वातावरणमा मनोरञ्जन दिलाउने उद्देश्यले आयोजित सो कार्यक्रममा घैटों फुटाउने, महिला तथा पुरुष छेलो फ्याँक्ने, भाग्यशाली चिट्ठा लगायतका अतिरिक्त कार्यक्रमहरु पनि भएका थिए ।

जसअनुसार पुरुष छेलो फ्याँक्नेमा प्रकाश खत्री विजेता बन्न सफल भए भने राम खड्काले दोस्रो स्थान हासिल गरेका छन् । यसैगरी महिला छेलो फ्याँक्नेमा लक्ष्मी केसी पहिलो र सोहना पुन दोस्रो भएकीछिन् । यसैगरी घैटो फुटाउने प्रतियोगितामा दिल केसी र रितेश दुराले क्रमशः पहिलो र दोस्रो स्थान हासिल गरे । भाग्यशाली चिट्ठामा नारायण सारु र संगिता थापाले क्रमशः पहिलो र दोस्रो पुरस्कार हात पार्न सफल भएका छन् । विजयी प्रतियोगीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
राजधानी टोकियो र खानागावा प्रिफेक्चरको सिमानामा पर्ने तामागावा नदीको किनारामा अवस्थित खुल्ला एवं मनोरम स्थानमा भएको सो बनभोज कार्यक्रममा उपस्थित सहभागीहरुले पञ्चेबाजाको तालमा उठीबसी नाचेर धित मरुञ्जेल मनोरञ्जन लिएका थिए ।

’अन्य बाजाहरु भन्दा धेरै झन्झटिलो, खर्चिलो र चर्को आवाज आउने हुँदा जहाँ पायो त्यही बजाउन नमिल्ने, बजाउनका लागि धेरै जनाको आवश्यक पर्ने भए पनि यसको आफ्नै खालको बिशेष महत्व भएकोले जहाँ नेपाली छन्, युरोप, अमेरिका जतासुकै यो बाजा पुगेको छ – आयोजक मध्यका एक प्रेम पुनले भने – ’सबैले रुचाईदिनुभएको छ, हामी जापानमा पनि स्थापित हुन प्रयासरत छौं ।’

बिभिन्न परिकारका पेयपदार्थ, थरिथरिका पोलेको मासु, सेलरोटी, अचार लगायतका खानपिनसंगै एकैथलोमा भेला भई नाचगानमा रमाईलो गर्न पाएकोमा हप्ताभरिको कामको थकान मेटिएको म्याग्दी सहश्रधाराका दिपक शेरचनले आफ्नो अनुभव बताए ।

’बाजागाजासहित यति ठूलो समुहमा यसरी एकैठाउँमा रमाईलो गर्न पाउँदा बिदेशमा छु जस्तो पटक्कै लागेको छैन, नेपालमै कतै जन्ती गएको अनुभूति भईरहेको छ’ – अर्का सहभागी लक्ष्मण केसीले बताए ।
’कार्यक्रमबाट हामी उत्साहित भएका छौं, अनुकुलता हेरेर यसलाई निरन्तरता दिने पक्षमा छौं’ – कार्यक्रम संयोजक गमप्रसाद जुग्जाली मगरले भने ।
मोना जापानका समेत अध्यक्ष रहेका देउराली पञ्चेबाजा समुहका अध्यक्ष महेन्द्र वानियाँले पहिलोचोटी आयोजित मैत्रिपूर्ण बनभोज कार्यक्रमलाई बिभिन्न ढंगले सहकार्य गरी सफल पार्न सहयोग गर्ने सबैमा धन्यबाद ब्यक्त गरे ।
फोटॊ सौजन्य – प्रेम पुन

तपाईको प्रतिक्रिया