सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताउनुभएको छ ।

चीन अध्ययन केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री महराले भन्नुभयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले हालैको चीन भ्रमणमा सिगात्से आइपुगेको चिनियाँ रेललाई केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसमक्ष प्रस्ताव राख्नुभएको छ । हामी चीनको यो अवधारणामा सहभागी भएर लाभ लिन चाहन्छौं ।’

चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड अवधारणाअनुसार चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्र मार्गबाट सडक, रेल निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य छ ।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अघिल्लो महिना बेइजिङमा भएको भेटमा चीनले अघि बढाएको यस अवधारणामा नेपाल सदस्य बन्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

अर्थमन्त्री महरा एक नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी चीनले वैशाख ३१ र जेठ १ मा बेइजिङमा आयोजना गर्ने बेल्ट एन्ड रोड शिखर सम्मेलनमा सहभागी हुन जाने तयारी भएको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए ।

महराको भ्रमणमा नेपाल बेल्ट एन्ड रोडको सदस्य बन्नेसम्बन्धी चीनसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भए पनि टुंगो भइनसकेको अधिकारीहरूले उल्लेख गरेका छन् ।

कार्यक्रममा पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले नेपालले बेल्ट एन्ड रोड अवधारणाको सदस्य बनेर पर्याप्त लाभ लिनसक्ने बताउनुभयो ।

उनहाँ भन्नुभयो ‘नेपाल, भारतलगायत दक्षिणएसियाका मुलुकले यो अवधारणामा सहभागी भई लाभ लिन सक्छन् तर यसको ठ्याक्कै ब्लुप्रिन्ट बाहिर आएको छैन । नेपाल ओबीओआरको नक्सामा कतै देखिँदैन ।’

तपाईको प्रतिक्रिया