Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडौं – बदलिँदो विश्व परिवेश सुहाउँदो गतिशील परराष्ट्र नीतिको दस्ताबेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन नेपाल सरकारले उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन गरेको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा मन्त्रिपरिषद्द्वारा गत चैत २९ गते गठित सो कार्यदलमा उहाँसहित अर्थ, कूटनीति, श्रम, कानुन, सुरक्षालगायतका विभिन्न क्षेत्रका १६ जना विज्ञ रहनुभएको छ ।

नेपालको संविधानका निर्देशक सिद्धान्त तथा परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यतालाई कायम राख्दै नेपालको सर्वोपरि राष्ट्रिय हितलाई सम्वद्र्धन र प्रवद्र्धन गर्न गतिशील परराष्ट्र नीतिको दस्ताबेज तयार पारी कार्यान्वयनका लागि ठोस सुझाव दिने यसको कार्यादेश तोकिएको छ । नेपालको परराष्ट्र नीतिका निर्धारक तत्वको बदलिँदो आयामको पहिचान गर्ने, सामन्जस्यपूर्ण र विस्तृत परराष्ट्र नीति एवम् छिमेक नीतिका लागि देशले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रुपमा अपनाउनुपर्ने प्राथमिकता तय गर्ने तथा द्विपक्षीय, उपक्षेत्रीय, क्षेत्रीय एवम् बहुपक्षीय कूटनीतिलगायत परराष्ट्र नीतिका विभिन्न आयामका क्षेत्रगत नीतिको पुनःमूल्याङ्कन गर्ने कार्यादेश यस कार्यदलको रहेको छ ।

विकास कूटनीतिलाई थप प्राथमिकता दिने, परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगको संस्थागत सबलीकरण गर्न उपयुक्त उपाय सिफारिस गर्नेलगायतको कार्यादेश सो कार्यदलको रहेको छ । यसैगरी आर्थिक, सामाजिक, रणनीतिक र नेपालको द्विपक्षीय कूटनीतिक, सांस्कृतिक र जनस्तरको समस्याका हिसाबले महत्वपूर्ण मित्र राष्ट्रसँगको सम्बन्धका प्राथमिकता र कार्ययोजनासहित देशीय रणनीतिको आवश्यकता पहिचान गर्नुपर्ने कार्यादेश मन्त्रिपरिषद्ले सो कार्यदललाई तोकेको छ ।

सो कार्यदलमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवम् पूर्व राजदूत डा ऋषिराज अधिकारी, पूर्वमन्त्री विद्याधर मल्लिक, पूर्व राजदूत एवम् अर्थविद् डा शङ्करप्रसाद शर्मा, अन्तर्राष्ट्रिय व्यापारविद् डा पोषराज पाण्डे, श्रम कूटनीति विज्ञ डा गणेश गुरुङ, पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य, पूर्व राजदूत शम्भुराम सिम्खडा, पूर्व सचिव तथा कानुनविद् मोहन बन्जाडे, अवकाश प्राप्त रथि एवम् सुरक्षाविद् पवनबहादुर पाण्डे रहनुभएको छ ।

त्यसैगरी सो कार्यदलमा सुरक्षा तथा परराष्ट्रविद् प्रा डा श्रीधरकुमार खत्री, सुरक्षाविद् दीपकप्रकाश भट्ट, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा इन्द्रकुमारी अधिकारी, नेपाल विश्व सम्बन्ध परिषद्का प्रतिनिधि डा राजेन्द्रबहादुर श्रेष्ठ, परराष्ट्रविद् निश्चलनाथ पाण्डे हुनुहुन्छ । उक्त कार्यदलको सदस्य सचिवमा परराष्ट्र सचिव शङ्करदाश बैरागी रहनुभएको छ । यस कार्यदलको अवधि चार महिनाको हुनेछ ।

तपाईको प्रतिक्रिया