आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

टोकियो – जापानमा धार्मिक तथा आध्यात्मिक गतिबिधिमा आस्थावान नेपाली तथा बिदेशीहरुलाई समेट्दै अगाडि बढ्ने उद्देश्यले आध्यात्मिक सेवा केन्द्र जापानको गठन भएको छ ।
केन्द्रले नयाँ वर्षको अवसर पारेर गत शनिबार सनातन पञ्चायन पूजा र बिखु पूजा तथा हवनबाट आफ्नो गतिबिधि शुभारम्भ गरेको छ ।

पूजा पश्चात भक्तजनहरुले पुरेत गुरुबाट टिका, पञ्चामृत तथा प्रसाद ग्रहण गरेका थिए ।  केन्द्रले निकट भविष्यमै पशुपतिनाथको मन्दिर निर्माण गर्ने, मन्दिर निर्माण नहुञ्जेलसम्म नित्य पूजापाठ गर्ने अस्थायी ठाउँको ब्यवस्था गर्ने, नेपालबाट प्रतिष्ठित पण्डित झिकाई त्रिदिवसीय महापुराण लगाउने, बुद्ध दर्शन सम्बन्धि प्रवचन कार्यक्रमको आयोजना गर्ने लगायतका तात्कालिक तथा दीर्घकालिन लक्षहरु लिएको केन्द्रका वरिष्ठ उपाध्यक्ष शालिकराम भण्डारीले समुद्रपारिलाई बताउनुभयो ।

जापानको नेपाली समुदायमा धेरै वर्ष अगाडिदेखि बहस हुँदै आएको यो बिषयलाई मूर्तरुप दिन एक स्थायी समितिको ब्यवस्था गरी पहलकदमीलाई अगाडि बढाईएको केन्द्रका अध्यक्ष कपिलदेप थापाले बताउनुभयो । उहाँले आध्यात्मिक सेवा केन्द्रको टिमलाई आवश्यकता अनुसार बिस्तार गर्दै सबैलाई अपनत्व महशुस हुने गरी समेट्दै लगिने पनि बताउनुभयो ।

पूजापाठ र हवनपश्चात भएको अन्तर्क्रियात्मक कार्यक्रममा केन्द्रले लिएको कार्ययोजनाका बारेमा उपस्थित सहभागीहरुले सल्लाह, सुझाव तथा प्रतिक्रिया दिएका थिए । जसअनुसार धर्म, राजनीति जस्ता संबेदनशील बिषयमा एजेण्डा उठाउँदा समाजमा पर्न सक्ने त्यसको प्रभाव र ल्याउन सक्ने ध्रुबीकरणका बारेमा भने सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

जापानमा सनातन हिन्दु धर्म र परम्पराअनुसार बिबाह, ब्रतबन्ध, श्राद्ध, रुद्री, जपपाठ, ग्रहशान्ति जस्ता धार्मिक गतिबिधि बढ्दै गईरहेको परिप्रेक्ष्यमा आध्यात्मिक सेवा केन्द्रले चालेको यो पहलकदमीलाई धेरैले सकरात्मकरुपमा लिएका छन् । उसो त केन्द्रले सबै धर्म र आस्थालाई बराबर सम्मान र स्थान दिने बताउँदैं आएको छ ।

कार्यक्रम सञ्चालन गर्दै प्रारम्भमा केन्द्रका महासचिव बुद्धिराज घिमिरेले केन्द्रको स्थापनाको औचित्य र यसको संरचनाका बारेमा प्रकाश पार्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया