आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको आइतबार १५ वर्ष पूरा भएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको थियो ।

pantagan

त्यसपछि अमेरिकाको नेतृत्वमा विश्वका विभिन्न देशमा आतंकवाद विरोधी सैन्य कारबाही सुरु भयो । विश्व राजनीतिमा ९/११ को रुपमा चर्चित भएको घटनाको प्रभाव निकै रह्यो । अहिले पनि यो घटनाका धेरै कुरामा विश्वका धेरैको चासो छ । युएसए टुडेका पत्रकार रिक जर्भिसले ९ सेप्टेम्बरको अंकमा ९/११ घटनाबारे प्रश्नोत्तरको रुपमा सामग्री तयार पार्नुभएको छ ।

सेप्टेम्बर ११, २००१ मा के भएको थियो ?

११ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेकिरी व्यवसायिक जहाज अपहरण गरेर न्युर्योकमा रहेको वर्ल्ड ट्रेड सेन्टरका जुम्ल्याहा भवन, वासिङटनमा रहेको पेन्टागन भवन र पेन्सिलभेनियामा रहेको स्यांक्सभिलेमा ठोक्काएका थिए ।

कति मानिसको ज्यान गयो, कति घाइते भए ?

आक्रमणमा कुल दुई हजार ९ सय ९६ जनाको ज्यान गयो । ६ हजार भन्दा धेरै घाइते भए ।

आक्रमण कसले गराएको थियो र किन ?

आक्रमणको जिम्मा बिद्रोही संगठन अलकायदाले लिएको थियो । अमेरिका विरुद्ध धर्म युद्धको घोषणा गरेका अल कायदाका नेता ओसामा विन लादेन आक्रमणकारीका सञ्चालक थिए । चारवटा जहाज अपहरणमा संलग्न गराइएको थियो ।  १९ जना आक्रमणकारी मध्ये १५ जना साउदी अरेबियाका थिए भने बाँकी युएई, इजिप्ट र लेबनानका नागरिक थिए ।

वर्ल्ड ट्रेड सेन्टर के थियो र यो केका लागि प्रयोग हुन्थ्यो ?

सातवटा भवन रहेको कम्प्लेक्स थियो, वर्ल्ड ट्रेड सेन्टर । लोवर म्यानहटनमा रहेको कम्प्लेक्समा व्यवसायिक संस्थाका कार्यालय थिए । सन् १९७० को दशकमा बनाइएको कम्प्लेक्समा १३ सय फिट अग्ला जुम्ल्याहा भवन थिए ।

९/११ नै यहाँ भएको पहिलो आक्रमण थियो त ?

होइन, सन् १९९३ मा पनि वर्ल्ड ट्रेड सेन्टर कम्प्लेसको अण्डरग्राउण्ड पार्किङमा आतंककारी आक्रमण भएको थियो । बम भरिएको ट्रक विस्फोट हुँदा ६ जनाको ज्यान गएको थियो भने एकहजार भन्दा धेरै घाइते भएका थिए । त्यो आक्रमणको जिम्मा इस्लामिक आक्रमणकारीले लिएका थिए ।

९/११ को आक्रमण अमेरिकाका लागि अप्रत्याशित थियो वा जासुसी संस्थाले केही संकेत गरेका थिए ?

आक्रमण अघि नै कुनै ठूलो आक्रमण हुँदैछ भन्ने संकेत गर्ने केही घटना भएका थिए । सन् १९९३ मा सेन्टरमै तथा १९९८ मा केन्या र तान्जानियमा रहेको अमेरिकी दूतावासमा बम आक्रमण भएको थियो । सिआइएले ९/११ मा संलग्न केहीलाई पहिलेदेखि नै निगरानीमा राखेको थियो । तर आवश्यक कदम नचाल्दा घटना भयो ।

अपहरणकारीले कसरी विमान नियन्त्रणमा लिए र स्यांक्सभिलेको मैदानमा ठोक्किएको विमानमा कसरी यात्रुले अपहरणकारीमाथि विजय पाए ? यो विमान कहाँ लक्षित थियो ?

चारवटै विमानमा अपहरणकारीले ककपिटमा छिरेर बक्स कतर लगायतका घरेलु सामानको भरमा पाइलटलाई नियन्त्रणमा लिएका थिए । स्यांक्स्भिलेमाथि उडेको युनाइटेड एयरलाइन्स ९३ मा यात्रुले ककपिटभित्र प्रवेश गरी अपहरणकारीलाई नियन्त्रणमा लिएर मार्न सफल भए । नभए त्यो विमान ह्वाइट हाउस वा क्यापिटल भवनमा ठोक्किने थियो ।

यो अाक्रमणको एक महिना भित्रै अमेरिका र उसका सहयोगीले अफगानिस्तानमा किन आक्रमण गरे ?

आक्रमणको जिम्मा लिएको अलकायदाले सन् १९९६ देखि अफगानिस्तानमा शासन गरेको थियो । यस्तै अफगानिस्तानले इस्लामिक बिद्रोही संगठन तालिबानलाई आश्रय पनि दिएको थियो । यसैकारण तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसले अमेरिकी कांग्रेसको सहमतिमा अफगानिस्तानमा आक्रमणको घोषणा गर्नुभएको हो ।

यो घटनाले अमेरिकालाई कसरी इराक युद्धमा पुर्‍यायो ?

बुस प्रशासनले ९/११ को घटनाको सम्बन्धमा अलकायदा र इराकी जासुसी संस्थाबिच सम्बन्ध रहेको आरोप लगायो । अमेरिकी प्रशासनले इराकमा जैविक हतियारसहितका आम नरसंहारकारी हतियारको प्रयोगशाला रहेको दाबी गर्‍यो र इराकमा आक्रमण सुरु भयो ।

ओसामा विन लादेनलाई फेला पार्न कति समय लाग्यो ?

ओसामा विन लादेनलाई फेला पार्न अमेरिकी अधिकारीलाई झण्डै १० वर्ष लाग्यो । उनको टाउकोको मूल्य २५ मिलियन अमेरिकी डलर तोके पनि भेट्न भने १० वर्ष पखिर्नुपर्‍यो । सन् २०११ को मे २ मा अमेरिकी जल सेनाको एक दस्ताले पाकिस्तानको एबोटावादमा लादेनको गोप्य कक्षमा आक्रमण गरी उनीसहित उनका सुरक्षाकर्मीको हत्या गर्न सफल भयो ।

९/११ पछि अमेरिका कसरी परिवर्तन भयो ?

यो आक्रमणले अमेरिका सरकारलाई आतंककारी विरुद्धको कारबाहीमा केन्द्रित गरायो । अमेरिका भित्र मात्रै नभएर विश्वभरी भइरहेका आतंककारी आक्रमण विरुद्ध अमेरिकी सरकार लागि परेको छ । सुरक्षा सतर्कता बढाइएको छ भने विमानस्थलमा सुरक्षा चेकजाँच पनि बढेको छ ।

अहिले त्यस्तै आक्रमणको सम्भावना छ ?

असम्भव छैन, तर त्यस्तो सजिलो पनि छैन । सुरक्षा सतर्कता निकै कडा छ । यस्तै गुप्तचर विभागले पनि निकै चनाखो भएर काम गरेका छन् ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया