बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

ए बैगुनी

फूल बनेर !
तिम्रो घर आँगनमा
मग्मगाइ रहेको थिएँ
जुन बनेर तिमी हिड्ने बाटोमा
छाइ रहेको थिएँ ।
रङ्गै रङ्ले भरेर
तिम्रो जीवन सजाइ रहेको थिएँ ।

bhawana dd

कलकल बग्ने चिसो पानी बनेर
तिम्रो प्यास मेटाई रहेको थिएँ ।
बर्षात्को दर्के झरीमा पनि
आफू लछारपछार हँुदै
तिमीलाई ओत दिइरहेको थिएँ ।

चैत बैशाखको उराठमा
आफू ओइलाएर
सुवास छरिहेको थिएँ ।
पुस माघको कठ्यांग्रिने जाडोमा
आफू कठ्यांग्रिए पनि
तिमीलाइ न्यानो पारेकै थिएँ ।
मडारिएर आउने चैते हुरिमा
आफु नाङ्गो आकृति बनेर पनि
तिम्रो लागि
बस्त्र सिइ रहेकै थिएँ ।
केवल तिम्रै लागि
लडि रहेँ डटि रहेँ
तिम्रै लागि बाँची रहे हाँसी रहे ।
तर तिमी किन यति कठोर ?
र निर्दयी बनिरह्यौं ?
टप्प टिपी वास्ना लियौं
निमोठेर दुइ हत्केलाले
बीचमा राखेर कच्याककुचुक पारेर
किन फालिदियौं ?
आफू भित्र भित्रै
पिडा लुकाएर पनि
तिमीमा समर्पित भइरहँे
आफू रित्तिएर पनि तिमीलाई
भरीभराउ पारि रहे ।
आफू भोक तिर्खा लुकाएर पनि
तिम्रो भोक प्यास मेटाइ रहे
आखिर के मेरो यै भूल थियो र ?
तिमीलाई माया गर्नु ?
कि कुनै बिष भेट्यौं मेरो मायामा ?
जसलाई पिएर आज तिमी
मेरो मायाको बद्लामा
मेरो प्रेमको
मेरो सद्भावको
अनि मेरो समर्पणको
मायाको असर देखायौं
ए बैगुनी !!!

–भावना घिमिरे
बिराटनगर –१३

तपाईको प्रतिक्रिया