आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
आज जिन्दगीको अन्तिम दिन हो ।
 बिहानै उठेँ। छतमा गएर घर वरिपरि हेरेँ, मर्निङवाक गएँ । साथीहरुलाई उसैगरी भेटेँ । हिजो भन्दा खास्सै परिर्वतन थिएनन ।
 तर मलाई अनौठो लागिरहेको थियो । ‘यो पृथ्वीमा अन्तिम दिन । अब जम्मा १३ घण्टामात्र बस्छु । त्यसपछि जिन्दगीको स्वेच्छिक अवकास ।’
 ‘मान्छेले आफू बाँच्नका लागि अपराध गर्छ, अर्काको हत्या गर्छ, चोरी डकैती, ठगी… तर किन ?’ मनमनमा सोच्दै थिएँ ।
 दोबाटो आएछ ।
 साथीहरुसँग हाँस्दै छुट्टिएर एक्लै ओरालो लागेँ ।
 पुराना स्मृतिहरु वरिपरि घेरिएका थिए । नजिकै आरुको बोट रहेछ। गुलावी फुलेको आरु। ‘कति सुन्दर यो फूल । बढीमा एक हप्ता त बाँच्छ नि ।’
 ‘म त करिब तीन दशक बाँचिसकेकी छु । फूललाई एक हप्तामा ओइलाउन डर लाग्दैन भने मलाई ३०को दशकमा हराउन के को डर ?’
 एउटा फूल टिपेँ, हातमा लिएर हेर्न थालेँ ।
 ‘मैले चाहेको भए कसैले मलाई यसैगरी हातमा लिन्थ्यो र ओल्टाई पल्टाई हेथ्र्यो ।’
 मेरो हातको फूल नियालेँ, केही निराश जस्तै लाग्यो ।
 ‘बोटबाट टिपिसकेपछि फुल विग्रन्छ की भनेर माया गर्नु ढोङ मात्र हो ।’
 त्यहीबाट एकपटक आकाश नियाँले । ‘अब यो आकाशपनि विस्तारै विरानो हुनेछ ।’
 जिन्दगीमा सबैभन्दा बढी समय यही शून्य आकाशसंग विताएकी छु । न कसैको अबरोध, न छलछाम, त्यसैले होला शून्यता सबैभन्दा प्रिय लाग्छ ।
 ‘अबको केही घण्टामा नै यही शून्यतामा हराउछुँ, मेरो प्रिय शून्यता !’ आँखा चिम्म गरेँ । एकान्त सम्झिएँ ।
 साँझको घुर्मैलो देखिने आकाश हेर्नु कति रमाइलो हुन्छ । अझ पहाडको टुप्पोमा पुगेको बेला देखिने निलो आकाश ! एक पटक निलो आकाशको कल्पना गरेँ । फेरि आँखा चिम्लिएँ । ओहो यो आनन्द ?
 त्यसपछि उही ओरालो लागेँ ।
 स्वेच्छिक मृत्यु, नजिकै आएजस्तै लागेको थियो ।
 ‘म विरामी त छैन ?’ ओरालोमा फूल्दै गरेको गुलाब टिपेँ, त्यही गुलाबको काँडाले हातमा कोपरेँ । हिजोकै जसरी दुख्यो । म शारीरिक मानसिक दुवै रुपमा ठीक छु, केही भएको रहेनछ ।
मान्छेका चाहना फरक फरक हुने रहेछन् । त्यसैले त भनिन्छ नी संसार विचित्र छ । आफ्नै चाहना ‘मृत्यु’ सम्झिएर खित्का छोडेर हाँस्न मन लाग्यो ।
 ‘हुन त मैले बाँचेर पनि यो पृथ्वीलाई के नै दिन सकेकी छु र ? म हुनु र नहुनुमा के फरक पर्छ ? मेरो अनुपस्थितीमा आफन्त र साथीहरुले केही दिन अभावको महसुस गर्लान । केही समयसम्म आमा, बुबा नमज्जाले रोलान । मलाई हुर्काउदै गर्दा देखेका सपना आफ्नै आँखा अघि एकैपटक झ¥याम्म फूट्दा अर्धचेत होलान । त्यो भन्दा बढी केही हुने छैन ।’ मर्नु र बाच्नुमा खास्सै अन्तर पनि देखिन ।
मर्ने निर्णय गरिसकेकी छु । अब पछि फर्किन सक्दिन ।
 ओरालो झरिरहेँ । चोकमा पुगेपछि मेरो अगाडी आएर एउटा कालो कुकुर ठिङ्ग उभियो । मैले त्यसैलाई हेरेँ । पुच्छर हल्लाउदै उसलेपनि मलाई नै हेरिरह्यो ।
 कुकुरले त भविष्य थाहा पाउँछ भन्छन् । गोठमा स्याल आउदा मात्र होइन भूत आउदा र भूइचालो आउने समय पनि थाहापाउछ र भुक्छ । यसले मेरो मृत्यु पनि देखेको हुनुपर्छ । त्यसैले पुच्छर हल्लाउदै मलाई हेरिरहेको छ ‘अन्तिम पटक’। भोलिदेखि यसलेपनि देख्दैन होला ।
त्यही कुकुरलाई हेरिरहेकी थिएँ । पछाडिबाट एकहुल मान्छे आए । म अलिकति अघि बढेँ । कुकुर पनि मेरो पछि लाग्यो ।
 ‘च्यो च्यो’ त्यसलाई बोलाउदै ल्याए र नजिकैको पसलमा विस्कुट किनेर उसकै अघि छरिदिएँ । एकपटक विस्कुट सुघ्यो र मेरै अनुहारमा हे¥यो ।
 पसल्नीले हास्दै भनिन ‘बच्चा हो र कुकुरलाई विस्कुट दिएको ? दिनेनै भए मासु किनेर दिनुस न ।’ अलि रुखो बोलेझै लाग्यो ।
 गोजीमा छामेँ अब जम्मा २० रुपैयामात्र बाँकी रहेछ । ‘त्यसको के आउछ र ? मासु किन्ने पैसा पुग्ने भइदिएको भए आज यो कुकुरलाई अघाउनेगरी मासु खान दिन्थे । तर पैशा छैन ।’ त्यही पसल्नी बोली सम्झिँदै चुपचाप ओरालो लागेँ ।
 ओरालोको ढुङ्गामा खुट्टा नमज्जाले ठोकियो । म बीच बाटैमा लडेँ ।
 ऐया आमा!
 रगत पनि बग्यो । नचिनेको बटुवाले मलाई डोर्या‍उदै मेडिकल सम्म पुर्या‍यो ।
 ‘बीचबाटोमा ढुङ्गा किन फालेका होलान ? तपाइले पनि ख्याल गरेर हिड्नुपर्थ्यो नि ।’ सहानूभूति दर्सायो । खुट्टाबाट रगत बगिरहेको थियो ।
 खुट्टामा दुखेपनि आँसु झरेनन । रगत बगेको हेरिरहेँ ।
 ‘जीन्दगीको पीडाहरु यसैगरी बग्ने हो भने ? मान्छे दुखीपनि हुदैनथ्यो होला ।’
 त्यो अपरिचित बटुवाले हतार गर्दै मेडिकलको मान्छेलाई बोलायो । मैले विस्तारी भनेँ, ‘मसँग पैसा नै छैन ।’
 मलाई त्यो मलम पट्टी गर्ने इच्छानै थिएन । बटुवाले भन्यो ‘अहिले नभए के भयो त ? पछि ल्याएर दिनुस न ।’
 मेडिकल वालाले मेरो अनुहारमा हेर्‍यो । ‘म यो टोलको होइन । अब यहाँसम्म कहिल्यै आइपुग्दिन होला ।’ उसलाई भने ।
 बटुवाले आफ्नो गोजी छाम्यो । ‘मेरोपनि पर्स छैन ।’ उ चुकचुकायो ।
 मेडिकल वालाले के बुझ्यो । आफै पछि हट्यो । त्यो बटुवा त्यहाँबाट आफ्नो बाटो लाग्यो ।
‘एकैछिन खुट्टा दुखेर के भयो त ? अब जीन्दगी दुख्दैन नी ।’ शीतले चिसो भएको बाटो हेर्दै घरतिर लागेँ ।
 सरासर कोठामा छिरेँ । ढोकाको नजिकै पुस्तकको र्‍याक थियो । त्यसको छेउमै ऐना ।
 ऐनाको अगाडी बसेर तलदेखि माथिसम्म आफैलाई नियालेँ । मेरो अनुहार कता कता आमासंग पनि मिल्छ रे ।
 आमालाई सम्झिएँ । ‘मलाई जिन्दगी दिने उनै हुन, तर मृत्युको निर्णय एक्लै लिदै छु ।’ उनीप्रति अन्याय भएको महसुस पनि गरेँ ।
 मावल जादै गर्दा बासको साँघुबाट चिप्लिएर मोलुङखोलामा झरेको बेला आमाले आफ्नै ज्यानको जोखिम मोलेर मलाई बचाएकी थिइन । खोलाबाट निकाल्नेसाथ केहीबेर अंगालो हालेर रोइन ।
 झमक्कै साँझ परिसकेको थियो । रुने समय नभएर होला, उनी फेरि बाटो लागिन ।
 उकालीको बरको फेदमा सुस्ताउदै भनिन । ‘तलाई खोलाले बगाएको भए कसरी बाँच्थे म ?’ आमाको गला अबरुद्ध भएको थियो ।
 बच्चै थिएँ । त्यसबेला मलाई मृत्यु र जीवनको खास्सै बोध भएको थिएन होला । त्यसैले मृत्युदेखि डर लागेको थिएन ।
 अहिले मृत्यु र जीवन बुझेर पनि मलाई मृत्युको डर लागेको छैन ।
 फेरि आफैलाई नियाँले । आखिर जीन्दगी भनेकै यही त रहेछ नी । चाहिनेजति बुझे झै लाग्यो । ‘केही रहरहरु थिए, त्यतीकै हुनेभए ।’
 एक दुइ अनुभव गर्न मन लागेका कुराहरुपनि विर्सन खोज्दै थिएँ ।
 ‘केही समयमानै अब यी सबैसंग छुटिदैछु ।’
 तर अन्तिम दिन रमाइलो त गर्नुपर्छ । बाचुन्जेल रमाउनुपर्छ ।
 ‘रमाइलो मान्ने मनले होकी, आखाँ र मुखले हो । जहाँ गएपनि मन नरमाएपछि के को रमाइलो ?’ मनभरि अन्तरद्धन्द्ध चलेको थियो ।
 दिउँसो साथीहरु जम्मा गरेर बसेँ ।
फेसबुकको वालमा एउटा स्टाटसमा अपडेट गरेँ । ‘आज मेरोलागि अन्तिम दिन हो ।’
 तुरुन्तै फोन आयो । ‘के भयो? किन त्यस्तो लेखेको ?’ एक परिचित आवाज थियो ।
 ‘त्यतीकै लेखेको, बास्तविकता होइन ।’ मैलेनै फोन काटिदिएँ ।
फोन काट्ने साथ फेरि मोवाइल बज्यो ‘फेसबुकमा के लेखेको ?’
 दिदिने रिसाँउदै फोन गरी । मैले नढाँटी भनेँ, ‘आज आत्महत्या गर्न मन लागेको छ ।’
 एकपटक मज्जाले झपारी ।
 फेरि फोन काटेँ ।
 फोन गर्नेहरु धेरैले सोधे, ‘स्टाटस किन त्यस्तो ?’
 एक छिनपछि फोन उठाउन पनि छोडेँ ।
 फेसबुककै अनलाइनमा भएको एकजना साथीलाई भनेँ । ‘आज मर्न मन लागेको छ ।’
 तुरुन्तै लेख्यो । ‘किन ? के भयो ?’
 ‘खै, तर मर्न मन छ ।’
 त्यसपछि उसले जीन्दगी बुझाउन थाल्यो । ‘जीन्दगी अमूल्य छ ।’ मलाई भन्दा बढी थाहा रहेछ जीन्दगीको बारेमा । ‘जीन्दगी मर्नका लागि हैन, ज्यूनुपर्छ । जीन्दगी त रमाइलो पो हो ।’ धेरैबेर सम्झाईरह्यो ।
 मर्नु अघि एउटा गजल लेख्न मन लाग्यो । तर लेखिनँ, गजलपनि लेख्छु भन्ने साथ कहाँ आउछ र ?
 त्यसअघि लेखेका डायरीहरु जम्मा पारेँ र सिरानीमा राखेँ । ल्यापटबमा राखेको पासवर्ड हटाए र धेरै लेख रचनाहरु डेक्सटपमा सारेँ ।
 फेरि ऐना हेरेँ ‘जीन्दगीकै माया सकिएको मान्छेलाई यी अक्षरको के माया लागेको होला ?’ आफैलाई हेरेर फिस्स हाँसे ।
 करिब १२ घण्टा सकिसकेको थियो । मोवाईलको स्विच पनि अफ थियो । अन गरेँ र नजिकैको टेवुलमा राखेँ ।
 अब त जीन्दगीको स्वच्छिक अबकासको समय पनि आइसकेको थियो । मृत्युको निर्णय लिइसकेकी मलाई घाइतेमात्र हुनु थिएन । शरीरका अंग अंग निदाउन भन्ने लाग्यो । कसैले चाहेर पनि मलाई व्यूझाउन नसकोस । म स्वतन्त्रता सहित निर्वाध रुपमा मर्न चाहन्थेँ । त्यसैले ७ ओटा स्लिपिङ ट्याबलेड खाएर ढल्किएँ । कहिल्यै नपाएको आनन्द प्राप्त भयो ।
 आकाशमा उडेका चराहरुलाई घण्टौसम्म हेर्ने मलाई आफै आकाशमा उडेझै भइरहेको थियो । शून्यता, न कसैको डर, न रहर र चाहनाको भारि । निलो आकासमा खुल्ला मन सहीत माथि माथि जाँदै थिएँ ।
 मोबाइल घण्टी बज्यो ‘मरेको व्यक्तिलाईपनि किन फोन गरेको होला ?’
 मरेपछि जाने ठाउमा त फोन गर्नपनि पाइदैन होला । अन्तिम पटक फोन उठाउनुपर्यो‍ भन्दै उठाएँ ।
 एउटा धोद्रे धोद्रे परेको केटा आवाज बोल्यो ‘सरु तिम्रो सामु उपस्थित हुन सकिन । प्रतिक्षामा धेरै बर्ष विताएको छु, तिमीले महसुस गरेको हुनुपर्छ । तर चुपचाप हेरिरहर्यौ‍ । अब चुप बस्नु भनेको जीन्दगीलाई दुर्घटना तर्फ धकेल्नुमात्र हो । त्यसैले ह्याप्पी भ्यालेन्टाइन्स डे ।’ उ अझै बोल्दै थियो । ‘हाम्रो स्वतन्त्रता खोसिदैन, रहरहरु साझा हुनेछन् । इच्छाहरुको सम्मान हुने छ । यही समाजमा हामी दुइको छुट्टै संसार रम्नेछ ।’
 झसंग भएँ, म आकाशमा उड्ने, चराहरुसंग रम्ने र शून्यतामा हराउने त सपना मात्र रहेछ । तन्द्राबाट व्यूझिएँ ।
 केटा आवाज मेरो मन मस्तिष्कमा घुमिरह्यो । यो संसार छोड्दै गरेको सपना देख्दापनि कम रमाइलो थिएन । खुल्ला आकासमा उड्नुको मज्जा, मिठो थियो त्यो क्षण ।
त्यो भन्दा रमाइलो लाग्यो मेरो रहर र स्वतन्त्रताको सम्मान गर्छु भन्ने धोद्रे आवाज । शब्द चयन र संयोजन मिलेको प्रतिबद्धता, शून्यतामा उड्नुभन्दा बढी आनन्द आउने क्षण बन्यो ।
आफ्नो छेउमै छामेँ, छरिएको सिरानी ! आँखा उघारेँ, पर्दाबाहिर झ्यालबाट घाम हाँसिरहेथ्यो ।
तपाईको प्रतिक्रिया