आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौँ – गुन्यू–चोली अनि मजेत्रोमा सजिएकी छन् । झट्ट हेर्दा गुरुङसेनी युवतीजस्तै देखिन्छिन् । पहिरन, हाउभाउ र उनले बोल्ने गुरुङ भाषाले विदेशी भएको पत्याउनै मुस्किल । पर्यटकीय गाउँ सिक्लेसमा बस्दै आएकी उनी जापानको राजधानी टोकियोकी २९ वर्षीया नानाको योसिमोतो हुन् ।

गुरुङ पहिरनमा सजिएर समूहमा सोही भाषाको गीत गाउन पटक्कै धक मान्दिनन् । टोकियोको मेट्रोपोलिटन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर गरेर विद्यावारिधिका लागि उनी दुई वर्षयता सिक्लेसकी बासिन्दा बनेकी हुन् । शोधको विषय गुरुङ संस्कृति र संस्कारमा आधारित जातभित्रको नाता रोजेकी छन् ।
‘स्पष्ट नेपाली र गुरुङ भाषासमेत खरर बोल्ने उनी गुरुङ रीतिरिवाज र संस्कारमा भिजिसकेकी छन्,’ मनबहादुर गुरुङले भने । उनी यहाँको गुरुङ संस्कारमा छोटो समयमै भिज्न सफल भएकी हुन् । गुरुङ गाउँमा भांग्रा बुनाइमात्र होइन कोदो र धान रोप्नसमेत सिपालु भइसकेकी छन् । गाउँलेसँगै खेतबारीमा जस्तोसुकै काम गर्न तम्तयार हुन्छिन् । टोकियोजस्तो व्यस्त सहरबाट आएर गाउँमा सामान्य ग्रामीण युवतीजस्तै बसेको देख्दा सबै अचम्मित हुन्छन् ।
‘यो ज्यान जापानी भए पनि मन त मेरो पूरै नेपाली भइसक्यो,’ हँसिलो मुद्रामा उनले भनिन्, ‘गाउँले जीवनशैलीमा रमाउन पाउँदा बेग्लै आनन्द लागिरहेछ ।’ नेपाल सांस्कृतिक रूपमा धनी तथा गाउँहरू संस्कार र संस्कृतिबाट युक्त रहेको उनले बताइन् । नेपाली हावापानीमा कति रमाएकी छन् भने नाम बदलेर सीता गुरुङ क्रोम्छै (थर) राखेकी छन् । क्रोम्छै थर भएका गुरुङहरूसँग साइनो जोडदै हिँडछन् । यहाँको जीवनशैलीबारे अरूलाई बताउन सक्ने भइसकेकी छन् । अधिकांश युवतीका पति विदेश हुने र यतै रहेकाहरू पनि माइतीमै बसेको भेटेको उनले बताइन् । ‘पत्नीलाई भेट्न बरु पति नै ससुराली आउने रहेछन्,’ उनले भनिन् ।
उनको भनाइमा नेपालबारे जापानमा अध्ययनरत छँदादेखि नै सुन्दै आएकी थिइन् । आठ वर्षयता नेपाल मोहले साँच्चिकै तानेको रे । त्यही बेला काठमाडौंस्थित विश्वभाषा क्याम्पसमा आएर ६ महिना नेपाली भाषा सिकेर फर्केकी थिइन् । समाजशास्त्रमा विद्यावारिधि गर्दै गरेका सिक्लेसका पोलबहादुर गुरुङसँग उनको चिनापर्ची भएको त्यतिबेलै हो । गुरुङले नै सिक्लेसबारे उनलाई बताएका थिए । सोही चिनापर्चीले उनलाई विद्यावारिधि शोधको विषय फुरायो । बिहेको प्रसंगमा उनले भनिन्, ‘भनेजस्तो पाएँ भने यतै ।’

(कान्तिपुर दैनिकबाट)

 

तपाईको प्रतिक्रिया