शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

सुशील कोइरालाको निधनपछि कांग्रेसको महाधिवेशन अब नियमित निरन्तरता मात्र रहेन, उसको आन्तरिक जीवनमा पनि यो महाधिवेशन महत्त्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ बन्दैछ । यसपटक कांग्रेस नेतृत्व लामा समयपछि कोइराला परिवार परिवारबाट बाहिरिने संकेत देखा परेको छ । सुशीलको निधनपछि कांग्रेसभित्र नेतृत्वका लागि बेग्लै बहस र जोडघटाउ सुरु भएको छ ।
प्रतिस्पर्धाको समीकरण अब नयाँ ढंगबाट निर्माण हुने सम्भावना छ । सभापतिमा शेरबहादुर देउवा पहिल्यै उम्मेदवारी घोषणा गरेर त्यसको तयारी र रणनीतिमा जुटिसकेका छन् । संस्थापन पक्षबाट रामचन्द्र पौडेलले आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्, तर औपचारिक घोषणा हुन बाँकी छ ।
सुशीलको रिक्तता स्वाभाविक रूपमा देउवाका लागि राहत हुने देखिन्छ । यता पौडेल पनि सुशील नहुँदा थप ढुक्क भएजस्तो देखिन्छन्, तर दुवैका लागि चुनावी मैदान त्यति सजिलो छैन ।
नेतृत्वका लागि संस्थापनभित्र देखिएको आन्तरिक टकराव र तीव्र महत्त्वाकांक्षा व्यवस्थापन गरेर बलियो उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिन पौडेललाई अझै पनि सकस हुनसक्छ । संस्थापनभित्रका केही पात्र सुशील उठ्दा चुप लाग्न बाध्य हुन्थे तर उनको निधनपछि अहिले ती पात्रहरूमा पनि नेतृत्वमा छिट्टै पुग्ने महत्त्वाकांक्षा जागेको छ ।
देउवा पक्ष आफ्नो स्थान सुदृढ गर्न वडातहको महाधिवेशनदेखि नै रणनीतिक रूपमा खटिएको छ । संस्थापन पक्षभन्दा केही कमजोर देखिए पनि देउवा पक्ष संगठित छ । आफ्ना पक्षका महाधिवेशन प्रतिनिधिलाई जिताउन देउवा पक्ष स्थानीय तहदेखि नै सक्रिय भइरहेका बेला संस्थापन पक्ष भने आन्तरिक खिचतानीमै अल्झिएको देखिन्छ । अहिलेसम्म संस्थापन पक्षले औपचारिक रूपमा सभापतिमा आफ्नो उम्मेदवार चयन गर्न सकेको छैन ।
पौडेलले व्यक्तिगत रूपमा उम्मेदवारी घोषणा गरे पनि संस्थापन पक्षबाट अरू पनि सभापतिमा आकांक्षी देखिएका छन् । महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला र रामशरण महतले पनि सभापतिका लागि आकांक्षा देखाइसकेका छन् । त्यस्तै कोइराला परिवारभित्रबाट शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले पनि नेतृत्वका लागि चाहना सार्वजनिक गरिसकेका छन् । सभापतिमा उम्मेदवार बन्ने घोषणा र दाबी महत्त्वपूर्ण पदका लागि बार्गेनिङ भए पनि त्यसलाई व्यवस्थापन गर्न सजिलो छैन ।
समष्टिगत रूपमा हेर्दा संस्थापन पक्ष बलियो छ, तर विभाजित देखिन्छ । त्यहाँभित्र थुप्रै गटउपगुट छन् । सुशील छँदा उनको वरिपरि रमाउने पात्रको बेग्लै कोटरी छ । त्यसलाई संस्थापन पक्षका अरू नेताहरूले रुचाउँदैछन् । संस्थापन पक्षमा रहेका प्रकाशमान, कृष्णप्रसाद सिटौला र रामशरण महतसँग आआफ्नै खालको भूमिका, महत्त्वाकांक्षा र नेटवर्क छ ।
सहानूभूति पौडेलप्रति भए पनि नाफाघाटाको हिसाब गरेर मात्रै उनीहरूले पौडेललाई काँध थाप्ने अवस्था बन्न सक्छ । संस्थापन पक्षका दोस्रो पुस्ताका नेता सकेसम्म आफैँ अघि बढ्ने र आफ्नै स्थान सुदृढ गर्ने दाउमा छन् । त्यस्तै कोइराला परिवारभित्रका शशांक, सुजाता र शेखरबीच पनि एकमत छैन । तीनैजनाको भूमिका र शैली फरक छ । तीनबीच एक खालको प्रतिस्पर्धा पनि छ । कार्यकर्ता पंक्तिमा शशांक बढी लोकप्रिय छन् । महत्त्वपूर्ण पद वा भूमिका नपाउँदा यी तीनै पात्र पौडेल नेतृत्वको क्याम्पमा अडिरहने सम्भावना छैन ।
यसको राम्रो हेक्का देउवा पक्षलाई हुनुपर्छ । कोइराला परिवारभित्रको कुनै एक पात्रलाई तान्न सकेमा देउवा पक्षको अवस्था थप मजबुत हुने देखिन्छ । त्यसले कार्यकर्तामाझ पनि महत्त्वपूर्ण सन्देश दिन सक्छ र चुनावी मैदानमा त्यसको मनोवैज्ञानिक असर पनि अर्थपूर्ण हुन्छ ।
कांग्रेसभित्रको आन्तरिक जोडघटाउमा खुमबहादुर खड्काको भूमिका अहिले पनि असरदार हुन्छ । संगठनमा उनको आफ्नै खालको नेटवर्क छ । उनले पनि देउवा पक्षलाई सघाउने संकेत दिइसकेका छन् । संस्थापन पक्षका लागि यो पनि एउटा चुनौती हो । संस्थापन पक्षलाई सघाउँदै आएका चन्द्र भण्डारी र विश्वप्रकाश शर्मालगायतका केही युवा नेता देउवातिर खुलेरै लागिसकेका छन् । गगन थापा चुनावी मैदानका बेग्लै आकर्षण हुन् । गगनलाई पनि देउवा पक्षले आफ्नो बनाउने सम्भावना छ । अर्जुननरसिंह केसी त पहिल्यै देउवातिर ढल्किसकेका छन् । यी सबै परिस्थितिले पनि यसपालि सभापति जित्ने आत्मविश्वास देउवामा पहिलेभन्दा बलियो देखिन्छ । कोइराला र देउवा पक्षबीच गाउँ–टोलसम्म कोरिएको विभाजनको रेखा मेटेर एकताको सन्देश दिने अवसरको रूपमा पनि कांग्रेसले यो महाधिवेशनलाई उपयोग गर्न सक्नुपर्छ ।
तीनपटकसम्म प्रधानमन्त्री भएका र पार्टीभित्र निरन्तर संस्थापनविरोधी पक्षको नेतृत्व गर्दै आएका देउवाको संगठनमा आफ्नै खालको नेटवर्क छ । उनले जस्तोसुकै अवस्थामा पनि काँध थाप्ने कार्यकर्ता बनाएका छन्, तर पौडेलसँग त्यस्तो नेटवर्क देखिँदैन । रामचन्द्रलाई दाइका रूपमा धेरैले सम्मान गर्छन् र उनीसँग खासै गुनासो पनि छैन । तर उनलाई काँध थाप्न धेरै तयार हुँदैनन् ।
आफ्नो क्याम्पमा देउवा सर्वसम्मत छन् र उनको निर्णय अन्तिम हुन्छ । तर संस्थापन पक्षमा सुशीलको निधनपछि अब पौडेल सर्वसम्मत छैनन् र उनको निर्णय अन्तिम नहुन सक्छ । धेरैलाई सोधेर र चित्त बुझाएर होसियारीसाथ पाइला चाल्नुपर्ने अप्ठ्यारो अवस्था छ ।
देउवाले आफूतिर लाग्नेहरूलाई सबै हिसाबले संरक्षण गर्न सक्छन् र गर्दै आएका छन् । त्यसका लागि स्रोत र नेटवर्क पनि देउवासँग राम्रो छ । तर पौडैलसँग न त्यो खुबी र कला छ न त नेटवर्क र स्रोत । चुनावी मैदानमा भावनाले केही चल्दैन, नेटवर्क र स्रोत नै चाहिन्छ । देउवातिर लाग्नेहरूले आफ्नो सुरक्षाका लागि देउवालाई मात्रै खुसी बनाए पुग्ने अवस्था छ । संस्थापनतिर लाग्नेहरूले धेरैलाई खुसी पार्नुपर्ने र चित्त बुझाउनुपर्ने अवस्था छ । किनकि त्यहाँ पौडेललाई नटेर्ने वरिष्ठ पनि छन् । सुशील नहुँदा संस्थापन पक्षको सबै नेटवर्कको साथ आफूले पाउने विश्वास रामचन्द्रलाई हुनसक्छ ।
तर संस्थापन पक्षको नेटवर्क विभाजित छ, देउवाको जस्तो संगठित छैन । सुशीलप्रतिको ‘सेन्टिमेन’ ले पनि यसपटकको महाधिवेशनमा माहोल बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । त्यसलाई क्यास गर्ने रणनीतिमा पौडेल छन्, तर संस्थापन पक्षभित्रै सुशीलका धेरै उत्तराधिकारी प्रकट भएकोले यो काम त्यति सजिलो छैन ।
एउटा प्रमुख राजनीतिक पार्टीको नेतृत्व चयनमा छिमेकी तथा बाह्य शक्तिको चासो र चाहना हुनु स्वाभाविक हो । विभिन्न रूपमा प्रकट तथा प्रवाह हुने यस्तो चाहना र चासो आफैँमा निर्णायक नभए पनि यो अर्थपूर्ण हुन्छ । तीनपटक प्रधानमन्त्री बनेर टेस्ट भइसकेका देउवाले छिमेकी तथा बाह्य शक्तिसँग पनि आफ्नै खालको सम्पर्क, संगत र सहकार्य गर्दै आएका छन् । यो मौका पौडेलले पाएका छैनन् ।
कांग्रेसको नेतृत्व चयनले मुलुकको राजनीतिक समीकरणमा समेत सीधा असर पर्ने भएकाले अन्य दलहरूले यो महाधिवेशनलाई निकै चासोपूर्वक हेरेका छन् । अन्य दलहरूसँगको आन्तरिक डिल र सहकार्यका लागि पनि पौडेलभन्दा देउवालाई सजिलो पात्रका रूपमा हेर्ने गरिएको छ । त्यसैगरी पार्टी राजनीतिमा खासै संलग्न नरहे पनि शक्ति तथा सत्तामा आउने मुख्य पात्रहरूबारे गहिरो चासो राख्ने काठमाडौँमा एउटा ‘एलिट क्लास’ छ । दृश्यमा नदेखिए पनि त्यो वर्गले कसैलाई नेतृत्व वा सत्तामा पुर्‌याउनका लागि स्रोत परिचालन तथा अन्य व्यवस्थापकीय पक्षमा महत्त्वपूर्ण योगदान पुर्‌याउन सक्छ । त्यो वर्गका लागि पनि देउवा पौडेलभन्दा सहज र प्रिय पात्र हुनसक्ने विश्वास गरिन्छ ।
सुशील कोइरालाको निधनपछि कांग्रेस महाधिवेशनमा महत्त्वपूर्ण अवसर पनि छ । कोइराला र देउवा पक्षबीच गाउँ, टोलसम्म कोरिएको विभाजनको रेखा मेटेर एकताको सन्देश दिने अवसरको रूपमा पनि कांग्रेसले यो महाधिवेशनलाई उपयोग गर्न सक्नुपर्छ । देउवा र पौडेलमध्ये एक सभापति बन्ने र एक संसदीय दलको नेता बनेर भावी प्रधानमन्त्रीको रूपमा तयार हुन सकेमा राष्ट्रिय राजनीतिमा कांग्रेसको आगामी भूमिका अझ सशक्त हुनेछ । त्यसका लागि खासगरी दुवैतर्फ रहेका दोस्रो पुस्ताका नेताहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । दोस्रो पुस्ताले चाहेमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कठिन छैन । स्वार्थ र कुर्सीका लागि एउटा कित्तामा घुसेर विभाजनलाई बचाइराख्ने खेल अब दोस्रो पुस्ताका नेताहरूले बन्द गर्नुपर्छ । नत्र विभाजनको सम्पूर्ण दोष उनीहरूले आगामी यात्रामा पीडापूर्वक बेहोर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया