२०७२ सालको शुरुवातमै नेपालले महाभूकम्पको सामना गर्दै ठूलो जनधनको क्षति व्यहोर्नुपर्यो । बैशाख १२ गते शनिवार दिउसो गोर्खाको बारपाक केन्द्रबिन्दु रहेको महाभूकम्प र त्यसको भोलिपल्ट दिउसो सिन्धुपाल्चोक केन्द्र रहेको दोस्रो ठूलो कम्पनले सिंगै देश हल्लायो भने करिब २० जिल्लामा नराम्रो असर पारेको छ ।
अहिलेको नेपाली समाजले भोगेको यो नै सबैभन्दा ठूलो प्राकृतिक प्रकोप हुन पुगेको छ भने मृतकको संख्या र व्यक्ति व्यक्तिका घर, गोठ, चौपाया, पंक्षी, बालीनाली लगायतका अन्य धनसम्पत्तिको क्षतिको विवरण आउन खोजी गरे पनि निकै समय लाग्ने देखिन्छ । पुरातात्विक महत्वका धरोहरहरु, मठमन्दिर र सरकारी भवनहरुको पुनर्निर्माणमा लाग्ने समय र राशीको अहिले नै लेखाजोखा छैन । अव भग्नावशेषहरुमा पुरिएकाहरुको जीवितै उध्दार हुन सक्ने आशा लगभग समाप्त भएको छ । मृतकहरुको शवको उत्खनन् र खोजी सकिएको छैन । घाइतेहरुको उध्दार र उपचारको क्रम चलिरहेको छ । राहत वितरण र घरबार बिहीनहरुलाई टेन्टलगायतका ओत लाग्ने सामग्रीको अभाव टरिसकेको छैन ।
नेपालमा भूकम्पका बारेमा शिक्षाको अभाव देखियो । यसले गर्दा हल्लाका पछाडि अधिकांश नेपाली दौडन बाध्य भए भने सहर बजारमा घरहरु सग्ला भएकाहरु पाल, टेन्टमा बस्ने र घर, गोठ सबै ध्वस्त भएका गाउँका बासिन्दा खुला आकाशमुनि बस्न बाध्य भए । ठूला भूकम्पहरुबाट लिनुपर्ने शिक्षा र राज्यले गर्नुपर्ने तयारी शुन्यप्रायः देखियो । २०४५ को भूकम्पले पारेको असरपछि पनि नेपालमा भूकम्प आउने कुरा भईरहेको थियो तर त्यसको तयारी राज्यले त गरेन नै जनतालाई पनि यस्तो हुन सक्छ भनेर सचेत गराउने काम भएन । भूकम्पको लगत्तै जुन खालको उध्दार र अन्य आपतकालिन व्यवस्थापन गर्नुपर्ने थियो त्यो कार्यमा पनि राज्यतहको कमजोरी छताछुल्ल भयो ।
सरकारका जिम्मेवार मन्त्रीहरु जे भैरहेको छ वा गरिएको छ त्यसमा पूर्ण सन्तुष्ट भएका अभिव्यक्ति मिडियाहरुमा देखिनु अर्को लाजमर्दो अवस्था थियो र यो क्रम अझै रोकिएको छैन । खासमा कमजोरी स्वीकार्दै र सच्याउँदै अगाडि बढ्ने प्रतिवद्धता देखाउनुपर्नेमा त्यस्तो हुन सकेको छैन । जनता अहिले सम्म त आ-आफ्ना पीडा र समस्याले धैर्य गरिरहेको जस्तो देखिएको छ । यदि सरकार र दलका नेताहरुले आफ्ना अभिव्यक्ति र कार्यशैलीमा समयमै सुधार
नगर्ने हो भने जनआक्रोश अर्को समस्या बन्न सक्छ ।
उध्दारका नाममा विदेशीहरुको चलखेल र सक्रियता नपच्ने खालका भए भन्ने गुनासा सरकारी निकायका जिम्मेवार व्यक्तिहरुबाटै आएका छन् । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल र त्यसको संवेदनशीलतालाई राज्यले हलुका ढंगले लिएको कारण त्यहाँ उध्दारका नाममा आएका विदेशी सेनाहरुको गतिविधि असामान्य भएको टिप्पणी सचेत नागरिकहरुले समेत गरिरेहका छन् । ति कुराहरुको छानविन र आगामी दिनमा सावधानी अपनाउन जरुरी छ ।
भूकम्पलाई कसैले टार्न सक्ने थिएन तर क्षतिलाई कम गर्न र चुस्त तयारीले जनताको पीडा कम गर्न सम्म सक्ने थियो । ति सबै कुरा हुन नसके पनि अव के गर्ने र कसरी अगाडि बढ्ने भन्ने महत्वपूर्ण छ । समस्यालाई सम्भावनाका रुपमा लिएर देशलाई विकासको नयाँ मार्गमा हिडाउन सक्नुपर्छ ।
अहिले नेपाल संसारका दातृ र सहयोगी राष्ट्रहरुको मुखमुखमा झुण्डिएको छ र सहयोग गर्नुपर्छ भन्ने भावना पनि देखिएको छ । जापान जस्तो नेपालको सहयोगी राष्ट्रले नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित दातृराष्ट्रहरुको छुट्टै बैठक बोलाउन पहल समेत गरेको छ । यस्ता अवसरहरुलाई राम्रो सदुपयोग गर्न नेपाल पक्षले आवश्यक तयारी गर्नु जरुरी छ । देशका निम्ति आइपरेको तत्कालको समस्याको समाधान मात्रै नभएर यस पछिको नेपालको समग्र विकास र पूर्वाधार निर्माणसम्मको खाका तयार गर्नुपर्छ । राष्ट्रिय एकता प्रदर्शन गरेर अगाडि बढ्नका लागि पनि यो अवसर हो । भविष्यमा यस्ता खाले प्राकृतिक प्रकोपहरु आउँदा कसरी समाधान गर्ने र थोरै भन्दा थोरै जनधनको क्षति हुने उपायहरु अपनाउने तर्फध्यान दिनु जरुरी छ । नेपाल भूकम्पीय जोखिममा छ भन्ने कुरा बैज्ञानिक रुपमा पुष्टि भैसकेको छ भने बाढी पहिरो जस्ता अन्य प्राकृतिक प्रकोपको पनि नेपालले सामाना गर्नु परिरहेको छ । त्यसकारण पनि राष्ट्रले विकास गर्ने पूर्वाधारहरुमात्रै नभएर लगानीकर्ताहरुले गर्ने लगानी र व्यक्तिगत जिविकोपार्जनका निम्ति निर्माण गरिने संरचनाहरुमा पनि सरकारको ध्यान जानु पर्दछ ।***