Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

Manishaटिर्लिङ टिर्लिङ….. घडिले विहान ४ बजेको घण्टी बजाएपछि आँखा खुल्यो निन्द्रा नपुगे पनि जबरजस्ती उठे । विहान ७ बजेर ४५ मिनेटमा जसरी पनि टोकियोको सिन्जुकु स्टेशन पुग्नुपर्ने थियो । मेरो डेराबाट गन्तव्य स्थलसम्म पुग्न लगभग १ घण्टा नै लाग्थ्यो । यसरी निन्द्रा नै नपुगी उठ्नुपर्दा त्यो दिन त मलाई ट्रेन स्टेनमा नै घर बनाएर बस्न मिल्ने भए हुन्थ्यो नि, जस्तो लाग्यो । सरसामान पोको पारी हल्का ब्रेकफास्ट गरी बाटो तताएं । सिन्जुकु जाने भएपनि त्यहाँबाट कता जाने थाहा थिएन । त्यसैले यो बारे बुझ्न आयोजक मध्यका एक दिपक थापा दाइलाई फोन गरेर जानाकारी लिंए ।

हतपतको काम लतपत त भई नै हाल्यो जति नै हतार गरे पनि पहिलो ट्रेन मिस भईहाल्यो, दोस्रो ट्रेन साढे ५ बजेको थियो ।  ठिकै छ ‘नहुनु मामाभन्दा कानो मामा निको’ भन्ने उखान सम्झदैं दोस्रो ट्रेन समाते पहिलेको ट्रेन एक्स्प्रेस थियो, यो चाहीं लोकल, त्यसमाथि पनि यो ट्रेनबाट जाँदा नोरिखाई (ट्रेन चेन्ज) गर्नुपर्ने यसबाट त झनै ढिलो पो हुनेभो, – यस्तै-यस्तै सोच्दै चढें । बिहानै बाटोमा हिंड्दा चिसो सिरेटोले टाउकोमा हान्दा ओहो जापानमा जाडो शुरु भइसकेछ कि क्याहो जस्तो भान हुन थाल्यो झोलामा राखेको सानो पछ्यौरी झिकेर ओढे । तर जापानको ट्रेनभित्र चढेपछि जाडो भन्नु पनि पर्दैन गर्मी भन्नु पनि पर्दैन । आङको पछ्यौरी फेरी पट्याएर राखे । सिन्जुकु पुग्दा साढे ६ बजेको थियो होला धन्न समयअघि नै पुगे, मनमनै खुसी भएं । 3

अब भने म होइन हामी भन्दा ठिक होला, हामी टोकियोबाट ३ घण्टा लामो बसयात्रा गर्दै गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को ८ औं क्षेत्रीय सम्मेलनमा सहभागी हुन नागानो प्रिफेक्चरको तातेसिना जाँदै थियौं ।  आफ़ु कार्यरत मिडिया हाउसको तर्फ़बाट संचारकर्मीको हैसियतले  म पहिलो पटक एनआरएनको सम्मेलनमा भाग लिंदै थिए । मनमा निकै उत्सुकता र उमंग छाएको थियो । सिन्जुकु पुगेर थापा दाइलाई भेटें कोही पहिलेदेखि नै त्यहाँ आएर बसेका थिए भने कोही आउने क्रममा थिए । बिस्तारै-बिस्तारै तोकिएको समय बित्दै गयो, केहि सहयात्री नआइपुग्दा जापानमा आएर पनि समयको निश्चिततालाई अझै नबुझेको देख्दा ‘जापानमा आएर धेरै समय बसेको, धेरै कुरा जानेको छु भनेर के धाक लगाउनु, अनि के मैं हुँ पल्टेर एनआरएन सम्मेलनमा जाने होला’ भन्ने मनमा लाग्यो । नेपालीको बानी कहिल्यै नहुनी भन्ने उखान पनि अन्य सहयात्रीबाट सुनियो । केहिबेरमा सबैजना भेला भईयो र धेरैजसो अघिल्लो दिनमा नै गईसकेकोले हाम्रो अन्तिम समुहमा जाने हामी २१ जना मात्र थियौं । ढिलोचाँडो सहयात्री सबै भेला हुँदै गयौं तर पनि मैले चिनेजानेको व्यक्ति कोही पनि नदेख्दा नरमाइलो लाग्यो । यति लामो यात्रा अब कसरी बित्ने होला बोरै हुनेभो’ मनमा कुरा खेल्न थाल्यो ।  2

सबैजना पालैपालो बस चढ्यौं मैले पनि एउटा सिट लिएं । बस तोकिएको समयभन्दा आधा घण्टा ढिलो गरी सवा ७ मा हिंड्यो । बस हिंड्न नपाउँदै आवाज आयो – ‘बसमा एकजना मात्र महिला प्रतिनिधि हुनुहुन्छ हामी उहाँलाइ नै अगाडि बढ्ने मौका दिनुपर्छ त्यसैले उहाँले कार्यक्रम संचालन गर्नुपर्‍यो ।’ जुन आवाज थियो मजदुर संगठन जापानका उपाध्यक्ष पदम गुरुङ दाइको, जो एक जना मात्र मैले र मलाई चिनेको हुनुहुन्थ्यो (उहाँ पछि आउनुभएको थियो ) । यति सुनेछि मेरो मनमा पनि हौसला जागेर आयो यात्रामा बोर चाहिँ नहुने भयो भन्ने लाग्यो ।१

अब मैले परिचयात्मक सँगै मनमा लागेका कुरा भन्न र आफ्नो कला प्रस्तुत गर्न पाईने भयो भन्दै कार्यक्रम शुरु गरें । यति मात्र होइन हामीले कार्यक्रमको पनि न्वारन गर्‍यौं ‘एनआरएन कन्फ़ेरेन्स टूर’ अर्थात ‘एनआरएन सम्मेलन यात्रा’ । ‘एनआरएन सम्मेलन यात्रा’ कै क्रममा मैले धेरैलाई चिन्ने मौका पाएं ।  यात्रुहरु जापानका रेमिट्यान्सदेखि लिएर रेष्टुरेण्ट व्यवसायीसम्मका हुनुहुन्थ्यो । त्यस्तै नेपालका राजनीतिक हस्ती, कलाकार, व्यवसायीदेखि लिएर नेपाल पत्रकार महासंघका उच्च पदाधिकारीसम्म अनि नेपालदेखि जापान र अन्य देशका एनआरएन सदस्य पनि । सबैले निकै सहज वातावरणमा कार्यक्रममा सहभागी भई सहयोग गर्नुभयो । सिटी एक्सप्रेसका महेश श्रेष्ठ दाइले गाउनुभएको ‘देशले रगत मागे’, इश्वर गुरुङ दाइको ‘शान्ति शान्ति’ बोलको गीत त्यस दिनभरी नै मेरो मुखमा झुण्डिरहृयो । 6

हामी बसयात्रामा थियौं, बाहिर घाम भर्खरै देखिने क्रममा थियो न जाडो न गर्मी । करिब २ घण्टाको सफ़र पछि गाडी रोकियो, जहाँ रेष्टुरेण्ट, सुपरमार्केट साथै हल्का रिफ़्रेसमेन्टको व्यवस्था थियो । जसलाई हामीले नेपालको नारायणगढ काठमाडौं सडकखण्डमा पर्ने मुग्लिनको संज्ञा दियौं । त्यहाँ यात्रीहरुका लागि कोसेली किन्ने पसल थिए (जापानमा कतै घुमफ़िरमा निस्केपछि ओमियागे अर्थात कोसेली किनेर फ़र्कने चलन छ), जहाँ नेपालको धादिङ, दमौली, मुग्लिन, मलेखुमा जस्तो लोकल उत्पादन बेच्न राखिएका थिए । ड्राइभरले हामीलाइ १० मिनेटको समय दिएर सो स्थानमा गाडी रोकेका थिए । त्यहाँको बजार व्यवस्थापन, सफ़ासुग्घर शौचालय र शौचालयभित्रका आवश्यक वस्तुको उचित ब्यवस्थापनले नेपालको भुइंमा टेक्न लायक ठाउँ नराखी फोहोर गरिएका सार्वजनिक शौचालयको याद आयो । संस्कृति र सभ्यताको धनि देश भईकन पनि सम्बन्धित पक्षको उदासिनताका कारण यस्ता स्थानमा असभ्यताले कब्जा जमाएकोमा दुख महसुस भयो । समय सकिंदै थियो त्यसैले सबै जना पालैपालो बसमा चढ्यौं । हामी अझै पनि कार्यक्रम ‘एनआरएन सम्मेलन यात्रा’ कै क्रममा थियौं । यसपछि बाँकी एनआरएन सदस्यको परिचय तथा भलाकुसारीपछि कार्यक्रमलाइ औपचारिक रुपमा बिट मार्‍यौं ।4

अब भने आफ्नै सुरमा नयाँ स्थानको मज्जा लिन थालें । बाहिर यसो हेर्‍यो अलि पर हरिया डाँडा भीरपाखा, वरिपरि कतै रातापहेंला सयपत्री फुलेका त कतै फापरका सेता, गुलाबी फूल लहराएका अनि कतै पहेंलपुर हुनेगरी धानको बाला झुलेका । त्यति मात्र होइन ताल-तलैया नेपालकोजस्तो बौध्द स्तुपा तथा पिरामिड आकारका मन्दिर टाढैबाट देख्दा कहिबेर त लाग्यो ‘म कतै नेपालमा त छैन’ अचानक बसमा बत्ती नै बाल्नुपर्ने अध्याँरो हुनेगरी सुरुङमार्गको मुनि हुंदै बस गुड्दा झस्किंदो रहेछु कहाँ हुनु यो त नेपाल हुनै सक्दैन नेपालमा यस्ता सुरुङमार्ग नै छैन, ट्राफ़िक नियमको पालना नै छैन । यदि हुँदो हो त नेपालमा पनि समय धेरै नखर्चीकन लामा लामा दुरीका स्थानहरुमा छोटो समयमै यात्रा गर्न सकिन्थ्यो अनि दिनदिनै एउटा न एउटा यातायात दुर्घटनाको खबर सुन्नु पर्दैनथ्यो । तीन घण्टे लामो यात्रा निकै आरामदायी तरिकाले बित्दै थियो । खाल्डाखुल्डी बिनाको समथर बाटो, यात्राभरि गाडीको समान गति, यात्रा अवधिभर उभिंदा पनि केहि असहजता महसुस नभएको अवस्था, बसभित्र पनि एअरकन्डिसन र माइकको व्यवस्थाले नेपालको यात्रालाई बिर्साउथ्यो (आजभोलि नेपालका बसमा पनि एअरकन्डिसनको व्यवस्था भएपनि सर्वसाधारणको पहुंच छैन) । तर जब बाहिर हेर्थ्यौं नेपालको यादले सताउँथ्यो हुबहु नेपालका भीरपाखा, खेतबारीका फाँट, सौन्दर्य अनि आपसमा गफिन्थ्यौं ‘नेपालमा पनि यस्ता प्राकृतिक सौन्दर्यसँगै भौतिक निर्माण पनि हुन सके कति राम्रो हुन्थ्यो होला । प्राकृतिक रुपमा त नेपाललाई कसैले जित्नै सक्दैन अब भौतिक बिकास पनि भइदिएर देशमै काम गरेर खाने अवस्था सिर्जना भए त हामी पनि अरुको देशमा आएर किन पसिना बगाउँथ्यौँ र ?’ यस्ता कुराहरु मनभरि कल्पना गर्दै यात्रा अगाडि बढ्दै थियो । 5

जापानी समथर सडकका ८-१० वटा टनेल पार गर्दै, अनेकौं रमणीय दृश्यको अवलोकन गर्दै बिहानको १० बजेतिर गन्तव्यस्थल नागानो केन पुग्यौं । बस तातेसिनाको तातेसिना रेसोर्टमा गएर रोकियो । यसरी हाम्रो कार्यक्रमको नामजस्तै एनआरएन सम्मेलन यात्रा यहीँ पुरा भयो तर मेरा लागि अति नै अविस्मरणीय अध्याय भने यहींबाट शुरु भयो, जहाँ कतिपय अवस्था मेरा लागि निकै उत्साहप्रद रहृयो भने केहि चिनिएका तथा चिनेका व्यक्तिहरुको व्यवहारले मलाई निकै हतोत्साही बनायो ।***

तपाईको प्रतिक्रिया