आइतबार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

Chitra Bdrटोकियो – दोस्रो संविधान सभाको पनि संविधान बनाउने समय घर्किदै गर्दा संबिधानमा सहमति जुट्न बाँकी रहेका अन्तर्वस्तुमा सहमतिको रटान र छलफलहरु पेचिलो ढंगले अगाडि बढिरहेका छन् । दलहरुबीच विभिन्न ढंगले सहमतिका लागि घनिभूत प्रयास भईरहेको भए पनि आजका मितिसम्म सहमतिको संभावना र संकेतहरु देखा परेका छैनन् । बिशेषगरी राज्यको पुनरसंरचना, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता दुरगामी महत्व राख्ने गहन बिषयहरुमा दलहरुबीच विमतिका खाडलहरु पुरिन सकेका छैनन् । यसैविच सुरुदेखि निरन्तर संघियताको विपक्षमा उभिंदै आफ़्नो अडानमा अडिग रहँदै आउनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सभासद चित्रबहादुर केसीसंग संबिधान निर्माणमा देखिएका जटिलता र मुलुकको वर्तमान संवेदनशील परिस्थितिका सन्दर्भमा समुद्रपारिले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

तोकिएकै समयमा संबिधान आउला त ?
देश अहिले ठूलो संकटमा परेको छ । ठूला भनिएका दलहरु सत्ताको लुछाचुँडीमा लिप्त छन् । उनीहरुको चर्तिकला हेर्दा उनीहरु नै वास्तवमा संबिधान बनाउन चाहेका देखिदैनन् । कसैले जातीय राज्य त कसैले भूगोलको राज्य मागेर लफडा गरिरहेका छन् । मोर्चाबन्दी गरेर संबिधान बन्न नदिन अनेकौ तिकडम रचिरहेका छन् । त्यसैले भनिएकै समयभित्र संबिधान आउन कठिन छ । संभावना ज्यादै न्यून हुँदै गएको छ ।

संघियताकै कारण हो त संबिधान निर्माणमा समस्या ?
नेपालले संघियता थेग्नै सक्दैन, त्यसकारण नेपालका लागि संघियता आवश्यक छैन । नाइजेरिया, सुडानजस्ता मुलुकलाई संघियताले कहिलै उम्कन नसक्ने गरी गृहयुद्धमा धकेलेको देख्दादेख्दै बिदेशीहरुको स्वार्थपूर्ण चलखेल र यहाँका नेताहरुको अकर्मण्यताका कारण संघियताको रटान भईरहेको छ, यो विडम्वनापूर्ण छ । हाम्रोजस्तो मुलुकका लागि संघियता चाहिएकै छैन । संघियताकै अनावश्यक लफडाले अघिल्लो संबिधान सभाले पनि संबिधान दिन सकेन र यसपालि पनि पुरानै समस्या बल्झिएको छ । संबिधान निर्माणमा संघियताको बखेडा बाधक बनेको सबैलाई घामजस्तै र्छलङ्ग छ ।

नेपालको राजनीतिमा यति लामो अस्थिरता किन ? समस्या कहाँनेर छ ?
यहाँका पार्टीका नेताहरु राष्ट्र र जनताका लागि नभएर आफ़्ना लागि कमाउने ब्यापारका रुपमा राजनीति गरिरहेका छन् । नीति, सिद्धान्त, निष्ठा र आस्था कसैमा देखिएन । नेताहरु ब्यक्तिगत महत्वाकाँक्षा र उपभोक्ताबादी हुँदै गए । अनेकन हठकण्डा अपनाएर आफु कसरी बन्ने र नातागोतालाई कसरी बनाउने भन्ने मै तल्लिन रहे । जसले गर्दा राजनीति फोहरी खेलका रुपमा बिकास हुँदै गयो, राणाकालिन, पञ्चायतकालिन र राजाको प्रत्यक्ष शासन भन्दा पनि झन अस्थिर बन्दै गयो । यसको मुल जड नेताहरु आफ़्नो निजी स्वार्थभन्दा माथि उठ्न नसक्नु र सत्ता अनि कुर्सीका लागि मात्र राजनीति केन्द्रीत गरिनु हो ।

आखिर जनताले नै जिताएर पटक पटक ठूला दल र नेता बनाएका हैनन् र ?
नेपाली जनतामा अझै चेतनाको स्तर माथि उठ्न सकेको छैन । जनप्रतिनिधि चयन गर्ने सन्दर्भमा पनि उनीहरुमा विद्यमान वर्षौदेखिको पुरानै संस्कारका कारण देश र जनताको पक्षमा काम गर्ने दल र नेता भन्दा सत्ता, चाप्लुसी र तिकडम गर्ने नेतालाई जिताउने सँस्कार अझै हाबी छ । धन र बलको आड्मा शक्तिमा पुग्ने संस्कारले गर्दा यस्तो भएको हो । चुनावलाई प्रभावित पारेर आफु सत्तामा जाने सँस्कार नेपालमा अझै ब्याप्त छ । त्यसैको परिणामस्वरुप देशमा राजनैतिक अस्थिरता ब्याप्त भएको हो । यसको ज्वलन्त उदाहरण ज्यादै खर्चिलो हुँदै गईरहेको निर्बाचनलाई लिन सकिन्छ । ३, ४ करोड खर्च गरेर सभासद बनेका छन्-बनाईएका छन् । ठूलो लगानी गरेर सभासद बनेकाहरुले के इमान्दारीपूर्वक काम गर्न सक्लान् त ? अवश्य सक्दैनन् ।

शासकीय स्वरुप र निर्वाचन प्रणालीका सम्बन्धमा तपाईको पार्टीको धारणा के हो ?
संसदीय शासन प्रणालीमा राष्ट्रपति वा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने ब्यवस्था हुँदा अधिनायकबाद हाबी हुने खतरा रहन्छ । त्यसैले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलांकारिक राष्ट्रपतिको ब्यवस्था हुनुपर्दछ भन्दै आईरहेको छ । निर्वाचन प्रणाली मिश्रित हुनुपर्दछ । संबैधानिक अदालत खारेज हुनुपर्दछ र सर्बोच्च अदालत नै संबिधानको अन्तिम ब्याख्या गर्ने निकाय हुनुपर्दछ भन्ने हाम्रो पार्टीको धारणा हो ।

तपाईको पार्टी राष्ट्रिय जनमोर्चा कति जिल्लामा बिस्तारित छ ? ७५ वटै जिल्लामा पुग्नचाँही किन नसकेको हो ?
हामी अहिले ३५, ४० जिल्लासम्म पुगेका छौं । हाम्रा एजेण्डालाई नेपाली जनताले रुचाएका छन् । हामी क्रमशः सबै जिल्लामा संगठन बिस्तार गर्दैछौं । हामीले अरुले जस्तो ठेक्कापट्टा, टेण्डर र चन्दाआतंक मच्चाउदैंनौ । फुल टाइम काम गर्ने पार्टी कार्यकर्ता पाल्न सक्ने हाम्रो पार्टीमा पैसा छैन । त्यसकारण पनि हामी सबै जिल्लामा संगठन बिस्तार गर्न नसकिएको हो । यद्यपि हाम्रो पार्टीको भ्रात्तृसंगठनहरु भारत, ओमन, साउदीअरव, कतारलगायतका बिदेशमा पनि छन् । युरोप, अमेरिका र जापान, कोरिया लगायतका पूर्वी एशियामा भने हाम्रो संगठन बिस्तार हुन सकेको छैन, बिस्तार गर्ने योजनामा छौं ।

६०१ सभासदहरु अहिले के गर्दैछन् ? राज्यकोषबाट सुबिधा लिएका उनीहरुलाई काम दिन नसकिएकै हो त ?
हाम्रो पार्टीले सुरु देखि नै ६०१ जना सभासद आवश्यक छैन यो राष्ट्रका लागि बोझ हुन्छ भनेर भन्दै आएका हौं । अतिबादी र जातीबादीहरुले फेरि पनि संबिधान सभाको आकार ६०१ नै बनाए । सभासदहरु अहिले पेण्डुलम बनेका छन् । शिर्षस्थ भनिएका नेताहरु आफ़्नै दलभित्र त बिधिवत छलफल र बहस गर्दैनन् भने ६०१ जनाको के कुरा, त्यसैले अहिले धेरैजसो सभासदहरु निर्णायक भूमिकामा भन्दा संख्या पुर्‍याउने गणपुरक भूमिकामा र आफ़्ना नेताको भनाईमा ताली बजाउने भूमिकामा छन् । नेपाली जनताले पाल्नुपर्ने ६०१ जना, महत्वपूर्ण निर्णय गर्ने बेलामा ३, ४ वटा टाउकाले मात्र गर्छन् । ३, ४ जना नेताले गरेर हुने भए ६०१ किन चाहिएको होला ? यसबाट पनि प्रष्ट हुन्छ कि हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले राखेको धारणा जायज छ । काम गर्नका लागि नभएर ६०१ जना भाग पुर्‍याउनका लागि मात्र हो भन्ने कुरा अब प्रष्ट भएको छ ।

पछिल्ला दिनमा उठ्ने गरेको हिन्दुराष्ट्रको आवाज बारे के भन्नुहुन्छ ?
यो गणतन्त्रमाथि कालो बादल मडारिएको संकेत हो । सत्ताको खेलमा देश कमजोर हुँदै गए पछि धमिलो पानीमा माछा मार्नेहरुको एउटा चलखेल हो यो । मुलुक काँग्रेस, एमाले, एमाओबादी र मधेशबादी दललगायतका ३, ४ वटा दलको बन्धक बनेको छ । तिनका नेताहरुले मुलुकलाई पंगु र भिखमंगा बनाएका छन् । अधिनायकबादी शासन चलाएर सेण्डिकेट गरेका छन् । त्यसैको नाजायज फाइदा उठाउदै कहिले हिन्दुराष्ट्रका कुरा कहिले राजतन्त्र ब्युँताउने कुराले यहाँ महत्व पाउने गरेका छन् ।

दोष जति ठूला दललाई थोपरेर तपाईहरु उम्कन मिल्छ र ?
हामी साना दलले गर्ने भनेको आफ़्ना धारणा जनतामा लैजाने हो । जायज कुराको समर्थन र नाजायज कुराको बिरोध गर्ने हो । हामीले त्यो गर्दै आईरहेका छौं । जनताले हेर्ने, बिदेशीले हेर्ने ठूला दललाई नै हो, ती ठूला भनिएका दलहरुले बाटो बिराएपछि दोष कसलाई लगाउने ? उनलाई नै लगाउन पर्‍यो जुन कुरा नेपाली जनतालाई पनि प्रष्टसंग थाहा भईसकेको छ ।

संघियताको बिषयमा यति चर्को बहस चलिरहँदा तपाईको पार्टी यसको बिपक्षमा छ, मुलुक संघियतामा गयो भने तपाईको पार्टी के गर्छ ?
संघियताको बहस मात्र हुँदा त यति धेरै विकृति, विसंगति, भ्रष्टाचार र अराजकता मौलाएको छ भने लागू नै भयो भने के होला, सहजै अनुमान गर्न सकिन्छ । संघियता नेपालका लागि फलिफाप हुनै सक्दैन, यसको खारेजी गर्नुपर्दछ । कथंकदाचित जबरजस्ती संघियता लादियो भने हाम्रो पार्टी यसको खिलाफमा जनतामा जान्छ । संघियताको दुष्परिणाम राष्ट्रियता र सार्बभौमिकता सँधै खतरामा हुने कुरा जनतालाई बुझाउँदै जान्छौं ।

तर संघियताको बिपक्षमा उभिने तपाईहरु अल्पमतमा हुनुहुन्छ नि हैन र ?
बहुमत र अल्पमतको कुरा भन्दा पनि सत्य कुरा के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । जायज बिषयलाई जनतामा लैजान समय लाग्छ । कुनै समयमा सतिप्रथाको पक्षमा जनमत थियो अहिले यो कल्पना पनि गर्न सकिन्न । कुनै कालखण्डमा पृथ्वी गोल छ भन्दा यसलाई पत्याउनेहरु कोही थिएनन् कालान्तरमा सत्य साबित भएपछि पत्याउन करै लाग्यो । च्याप्टो छ भन्दा अहिलेका मान्छेहरु कसैले पत्याउँदैनन् । त्यसैले संघियताको बखेडामा मुलुक बरबाद नहोस भन्ने हाम्रो चिन्ता हो ।

अन्तमा, जापानबासी नेपालीहरुलाई केही भन्नु छ कि ?
गत वर्ष म जापान आएको बेलामा त्यहाँका नेपाली दाजुभाइ, दिदीबहिनीहरुले लगाएको गुण कहिलै बिर्सन सक्दिन । सबै विचार र आस्था भएका नेपालीहरुले असाध्यै राम्रो सहयोग तथा आतिथ्यता प्रदान गर्नुभयो । हाम्रो पार्टी कार्यालय भवन निर्माणका लागि आर्थिक सहयोग पनि जुटाईदिनुभयो । यस अर्थमा मेरा नातापाता, इष्टमित्र, शुभचिन्तक लगायत सबै साथीहरुलाई हार्दिक धन्यबाद तथा आभार ब्यक्त गर्न चाहान्छु । बिशेष परिस्थितिको चपेटामा बिदेश बस्नु परे पनि सँधै बिदेश बसेर हुँदैन । लोकतान्त्रिक अभ्यास गर्दै मुलुक अब प्रगति र परिवर्तनको दिशामा अगाडि बढिरहेको छ । मुलुकभित्रै बसेर आफुले जानेको र सक्ने काम गर्दै यस अभियानमा हातेमालो गर्न अब तपाईहरु स्वदेश फर्केर आउन आह्वान गर्दछु । स्वदेशमा अब तपाईहरुको खाँचो छ । अन्तमा, मेरा भनाईहरु राख्ने अवसर दिनुभएकोमा जापानजस्तो ब्यस्त मुलुकमा रहेर पनि नेपालीहरुलाई सुसूचित बनाउने अभियानमा लागेको समुद्रपारि डट कम र यसमा संवध्द सबैलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु र उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु । ***

तपाईको प्रतिक्रिया