शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – २५५६ औ बुद्धजयन्ती तथा नेपाली नयाँ वर्षको अवसरमा आइतवार टोकियोमा नेपालीहरुले एक शान्तियात्रा प्रदर्शन गरेका छन् ।

जापानी समुदायमा बुद्ध नेपालको लुम्बिनी भन्ने ठाउँमा जन्मेका हुन्, लुम्बिनी नेपालमा पर्दछ भन्ने सन्देश प्रवाह गर्ने मुलभूत उद्देश्यले टोकियोमा नेपालीहरुले उक्त शान्तियात्रा गरेका हुन ।

टोकियो शिबुया नजिकै रहेको मियाशिता पार्कबाट सुरु भएको शान्ति र्‍याली शिबुया नगरीको परिक्रमा गरी पुनः सोही स्थानमा आई बिर्सजन गरिएको थियो । र्‍यालीमा सहभागीहरुले बुद्ध नेपालमै जन्मेका हुन, बुद्धको जन्मथलो नेपालको लुम्बिनी हो, नेपाल जापानको सम्बन्ध अमर रहोस् जस्ता जापानी र अंग्रेजी भाषामा लेखिएका प्लेकार्ड बोकेर गगनभेदी नारा लगाउंदै शिबुया क्षेत्र परिक्रमा गरेका थिए ।

र्‍यालीमा एनआरएन आईसीसीका उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेल, आइसीसी सदस्यद्वय भूषण घिमिरे, रोशन केसीलगायत जापानका बिभिन्न संघसंस्थाका प्रतिनिधि, बिद्यार्थी, ब्यवसायी तथा सर्बसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो । सो अवसरमा नेपालका चर्चित गायिका कोमल वली र हास्यकलाकार मनोज गजुरेलको पनि बिशेष उपस्थिति रहेको थियो ।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश जापानी समुदायमा प्रवाह गर्न उक्त र्‍यालीको आयोजना गरिएको आयोजक संस्था मध्यको एक नेपाल जापान युथ क्लवका अध्यक्ष तासी लामाले बताए । उनले भने – ‘यसप्रकारको कार्यक्रम हरेक वर्ष नियमित गरिने सोंच रहेको छ, र्‍यालीमा सबैजना आईदिनुभयो सबैलाई धन्यबाद छ । मौसमले पनि साथ दियो कार्यक्रम सोचेको भन्दा राम्रो भयो अत्यन्त खुशी लागेको छ ।’

प्रवासमा रहेर पनि यस प्रकारको सन्देशमुलक कार्यक्रम सम्पन्न गर्न पाउँदा अत्यन्त खुशी लागेको धारणा ब्यक्त गर्दै यसखालको कार्यक्रमबाट प्रवासमा नेपाली एकता र सहिष्णुता स्थापित गर्न मद्दत पुग्ने अर्को आयोजक संस्था वी फर अलका अध्यक्ष सरोज खत्रीले समुद्रपारिलाई बताए । ‘आगामी समयमा अझ प्रभावकारी ढंगले यसखालको कार्यक्रमलाई निरन्तरता दिईने छ’ – उनले भने ।

बुद्धबारेको भ्रम चिर्न यसखालको प्रदर्शनले सघाउ पुग्ने हास्यकलाकार मनोज गजुरेलले बताए । उनले भने – ‘यसप्रकारको कार्यक्रम हामी कलाकारहरुले पनि आफ़्नो तर्फबाट गर्दै आईरहेका छौं, संयोगले जापानमा यस कार्यक्रममा सहभागी हुने अवसर मिल्यो खुशी लागेको छ । नेपालको राष्ट्रिय स्वाधिनतामाथि बिभिन्न कोणबाट धावा बोल्ने कामहरु बेलाबेलामा भईरहेका छन् । त्यही चिन्ता आज जापानबाट एक शान्ति र्‍यालीमार्फत अभिब्यक्त भएको छ । प्रवासमा रहेका नेपालीहरु अन्यत्रबाट पनि यसप्रकारको कार्यक्रमहरु भईरहेका छन् । आज टोकियोले एउटा सन्देश दिएको छ । जुन देशमा जसरी त्यहाँका नागरिकले सजिलैसंग बुझ्दछन र उनीहरुको ध्यानाकर्षण गर्न सकिन्छ त्यसरी नै कार्यक्रम गर्ने हो त्यो आज यहाँ भएको छ । तर एक दिनको र्‍याली, एकदिनको झण्डा बोकाई, एक दिनको टोपी लगाई र एकदिन फेसबुकमा फोटो टँसाईले मात्र खासै अर्थ राख्दैन । यस्ता कार्यक्रमहरु नियमित हुनुपर्दछ । थप प्रभावकारी बनाउँदै लैजानुपर्दछ । यस सन्दर्भमा सरकारको भूमिका बारे जिज्ञासा राख्दा गजुरेलले भने – ‘पछिल्ला केहि दशकयता हरेक सरकारहरु कमजोर रहे । सरकार स्वदेशी, सरकारमा प्रभाव बिदेशी, नियुक्ति स्वदेशी, नियुक्तिमा प्रभाव बिदेशी भएकोले राष्ट्रिय स्वाभिमानताको सवालमा सरकारको भूमिका कमजोर रहँदै आएको छ । त्यसैले राज्य र सरकारको मात्र भर नपरेर नागरिकहरुले यस्ता दबाबमुलक कार्यक्रमहरु गर्दै जानुपर्दछ ।’

संयोगले यस खालको कार्यक्रममा सहभागी हुन पाएकोमा अत्यन्त खुशी लागेको गायिका कोमल वलीले प्रतिक्रिया दिईन् । उनले भनिन् – ‘नेपाललाई बिश्वमा चिनाउने धरोहर बुद्धलाई जापानमा चिनाउने काम भएको छ । जापानी नागरिकहरुमा बुद्धको जन्मथलोबारेमा रहेको भ्रम यसप्रकारको कार्यक्रमले चिर्न सक्ने बिश्वास लिन सकिन्छ । जापानमा रहेका नेपालीहरु अत्यन्त ब्यस्त हुनुहुन्छ यद्यपि यसप्रकारको कार्यक्रम गरेर नेपाली एकता र देशप्रतिको माया एवं चिन्ता प्रकट गर्नुभएको छ यो आफैमा प्रशंसनीय छ । यस्ता कार्यक्रमहरु नियमित गर्दै जान जरुरी छ । बुद्ध धर्मावलम्बीहरुको बाहुल्य रहेको जापानमा बुद्धकै जन्मथलो बारे भ्रम रहिरहनु दुखको कुरा छ, यसलाई चिर्न जापानमा बस्नुभएका नेपालीहरुले गर्नुभएको प्रयत्न सह्रानीय छ, यहाँहरुलाई बधाई छ । यस्ता कार्यक्रमहरु अरु देशमा बस्ने नेपालीहरुले पनि गर्न जरुरी छ ।’

‘हामी नेपालीहरुले यस्तै प्रदर्शन सन् २००६ मा पनि गरेका थियौं त्यो क्रान्तिका लागि थियो, मुलुक परिवर्तनका लागि र लोकतन्त्रका लागि थियो अहिले शान्तिका लागि छ’ – जापानका एक चिरपरिचित ब्यवसायी महेश श्रेष्ठले समुद्रपारिलाई भने – ‘तन्नेरी पुस्ताका जापानीहरुका लागि बिशेष रोजाई बन्ने गरेको यो शिबुया सहरमा यस प्रकारको कार्यक्रम गरिनुले पक्कै पनि जापानीहरुमाझ बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश प्रवाह गर्ने छ भन्ने आशा गर्न सकिन्छ । यसबाहेक यहाँको शिक्षा मन्त्रालयलगायतका सम्बन्धित निकायको पनि ध्यानाकर्षण हुने खालको दबाबमुलक कार्यक्रम आगामी दिनहरुमा गर्न सकियो भने थप प्रभावकारी हुने छ, जसले गर्दा बुद्धबारे लेखिएका भ्रमपूर्ण पाठ्यपुस्तकहरु नै परिवर्तन गर्न दबाब पुगोस् ।’

‘यसप्रकारको कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाद्वयलाई धन्यबाद र उत्साहजनक सहभागिताका लागि नेपाली तथा जापानी दाजुभाईहरुलाई पनि धन्यबाद दिन चाहान्छु । शान्तिपूर्ण वातावरणमा शान्तियात्रा सम्पन्न भएको छ यस प्रकारको कार्यक्रमले पक्कै पनि जापानीहरुमा बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश दिएको छ र बुद्धको जन्मथलोबारेको भ्रम हटाउन मदत पुग्ने छ’ – नेपाली जनसम्पर्क समितिका तदर्थ संयोजक भूपिगोविन्द श्रेष्ठले भने – ‘जापानको पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिएको भन्ने गलत तथ्य उल्लेख छ यसलाई सच्याउनका लागि आगामी दिनहरुमा थप दबाबमुलक कार्यक्रमहरु आयोजना गरिनुपर्दछ । यस्तो महत्वपूर्ण अवसरमा नेपाल सरकारको प्रतिनिधिको पनि सहभागिता हुनुपर्ने हो तर अचम्म लागेको छ उहाँहरुको सहभागिता आज हुन सकेको छैन ।’

र्‍यालीमा नेपाली पोशाक, जातजातिका पोशाक, ढाकाटोपीमा सजिएका सयौं नेपालीहरु नेपालको राष्ट्रिय झण्डा, बिभिन्न नाराहरु लेखिएका प्लेकार्ड बोकेर जापानीहरुलाई सन्देश दिईरहेका थिए – बुद्ध हाम्रो देश नेपालमा जन्मेका हुन् भारतमा होइनन् भनेर। सामुहिक राष्ट्रियगानबाट र्‍यालीको सुरुवात गरिएको थियो । र्‍यालीमा नेपाली र जापानीहरु गरी करिव २५० जति सहभागीहरु रहेको युथ क्लवका अध्यक्ष तासी लामाले बताए ।****

ph 1 ph 2 Ph 3 Ph 4 Ph 5 Ph 6 ph 7 ph 8 Ph 9 Ph 10 Ph 11 Ph 12 Ph 13 Ph 14 Ph 15 Ph 16 Ph 17 Ph 18 Ph 19 Ph 20 Ph 21

तपाईको प्रतिक्रिया