सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – नाटयकर्मी कृष्ण शाह यात्रीको परिकल्पना तथा निर्देशनमा नाटक ‘बहुला काजीको सपना’ मञ्चन आरम्भ भएको छ । माघ १७ बाट सुरु भएको यो नाटक सर्बनाम नाटकघरमा फागुनको पहिलो सातासम्म मञ्चन हुने निर्देशक यात्रीले बताएका छन् ।

विजय मल्लले ६६ वर्षअघि लेखेको ‘बहुला काजीको सपना’भित्र तत्कालीन समयमा चरम गरिबी र अभावका बीच पनि शिक्षाको उज्यालो फैलाउन चाहने एक क्रान्तिकारी पात्रको सपनालाई दर्शाइएको छ । सहरमा भरियाको काम गरि बल्लतल्ल एक छाक खान पुग्ने भक्ते र माने जस्ता प्रतिनिधी पात्रले आफ़्ना सन्तानलाई पढाउने हौसला ‘बहुला काजी’ नामका पात्रबाट पाउँछन् । बहुलाकाजीको सल्लाहले बालक वीरबहादुरले पढ्न थाल्छ । पढाइमा ऊ अब्बल भएर देखापर्छ । सबैको आशाको केन्द्र बन्छ ।उसले पनि नयाँ सपना देख्न थाल्छ । तर एक सामान्य ज्वरोमा समेत पैसाको अभावमा उपचार नपाई वीरबहादुर थला परेपछि उज्याला सपनाहरु कसरी टुट्छन् र भताभुङ्ग हुन्छन् भन्ने कुरा थाहा पाउन भने यो वियोगान्त नाटक हेर्नैपर्ने हुन्छ । रंगमञ्च र अभिनयमा लामो अनुभव सँगालेका कलाकारहरुको प्रमुख अभिनय रहेको यस नाटक हेरेपछि धेरै दर्शकहरुको आँखा रसाएको पाईन्छ।

एघार र बाह्र कक्षा विद्यार्थीहरुको कोर्समा समेत भएको यो नाटक अहिलेको समयमा पनि निकै सान्दर्भिक भएकोले मञ्चन गरिएको नाट्यकर्मी यात्रीले बताए । यात्रीको निर्देशनमा ‘बहुला काजीको सपना’ पहिलोपटक २०४९ सालमा मञ्चन भएको थियो । अहिले सर्बनाममा मञ्चन भइरहेको यस नाटकमा विष्णुभक्त फुयाल, काजी रम्तेल, अशोक शिवाकोटी, लक्ष्मण पौडेल, अवतार कँडेल, अर्चन राई, स्वर्णिम थापा, जीवन विलास पाण्डे, अजय रेग्मी, पिटर प्रिन्स, सुदीप खतिवडा आदिले अभिनय गरेका छन् । नाटक ज्योतिपुञ्ज साइन थिएटरले प्रस्तुत गरेको हो । ***
1 Drama - Bahula Kajiko Sapana by Yatri 2 Drama - Bahula Kajiko Sapana by Yatri 3 Drama - Bahula Kajiko Sapana by Yatri 4 Drama - Bahula Kajiko Sapana by Yatri 5 Drama - Bahula Kajiko Sapana by Yatri 6 Krishna Shah Yatri

 

 

 

तपाईको प्रतिक्रिया