Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024
Barsha-Man-Pun-Finance-Ministerएमाओवादीका प्रभावशाली युवा नेता वर्षमान पुन ‘अनन्त’ उम्मेदवार भएपछि मोरङ ९ अचानक राष्ट्रिय चर्चाको विषय भएको छ । नसोचेको बलियो प्रतिस्पर्धी आएपछि विपक्षी पार्टीहरू स्वाभाविक रूपमा दबाबमा छन् र चुनावी अस्त्रका रूपमा उनलाई ‘टुरिस्ट’ उम्मेदवारका रूपमा पेस गरिरहेका छन् ।
अनन्तसँग गजबका केही विशेषता छन् । उत्तेजना उनको चरित्रमा छैन । जस्तोसुकै आलोचना पनि हाँसेरै सामना गर्छन् । उनी हल्लाखल्लाभन्दा सुदृढ र परिपक्व योजनामा चल्ने नेता हुन् । अघिल्लो चुनावमै पनि उनी इन्चार्ज रहेको र तुलनात्मक कमजोर मानिएको काठमाडौं उपत्यकामा विपक्षी पार्टीहरूले आफू हारिसकेको तबमात्र थाहा पाए, जब चुनावको अन्तिम परिणाम बाहिर आयो । पार्टीमा बलियो हैसियत भएका उनलाई कहीँ पनि टिकट पाउन समस्या थिएन । तैपनि उनी मोरङ ९ नै किन आए त ? नयाँ पत्रिकाको प्रश्नको जवाफ उनकै शब्दमा:
रोल्पालीभन्दा नेपाली
मलाई सबैभन्दा मन पर्ने नेता चे ग्वेभारा हुन् । अर्जेन्टिनामा जन्मे, क्युवाली क्रान्तिको नेतृत्व गरे, मन्त्री पद छाडेर संसारभरि क्रान्तिको लहर ल्याउन हिँडे र बोलिभियामा मारिए । संयोगवश मेरो जीवन पनि एकदमै चलायमान भयो । १५ वर्षको उमेरमा क्रान्तिको बाटोमा हिँडेको म देशका सबैजसो जिल्लामा विभिन्न भूमिकामा खटेँ ।
मैले रोल्पा छाडेको १५ वर्ष भयो । यो बीचमा देशका ६५ जिल्लामा काम गरिसकेँ । कर्मले म जति रोल्पाली हुँ, त्यति नै झापाली हुँ, मोरङेली हुँ, इलामेली हुँ, पाल्पाली हुँ । मैले बन्दुक जति रोल्पाका लागि उठाएँ, त्यति नै रामेछाप वा मोरङका लागि उठाएँ । पछिल्ला १५ वर्षमा मैले जिल्ला बिर्सिसकेँ, केवल देश सम्झिरहेको छु । देशको कुनै पनि सच्चा सेवक कुनै एउटा जाति, समुदाय र क्षेत्रभन्दा माथि हुन्छ ।
मोरङसँग पुरानो नाता
मैले जीवनमा कहिल्यै सजिलो र सुखी बाटो खोजिनँ । बरु कठोर र चुनौतीपूर्ण बाटो रोजेँ । पार्टीमा मैले भूमिका मागिनँ, जहाँ भूमिकाले मलाई माग्यो, म त्यसका लागि तयार भएँ । युद्धकालमा पूर्वी कमान्डको नेतृत्व गर्दै यता आएपछि मोरङले नै मलाई आश्रय दियो । म चार वर्ष यहाँ बसेँ । जाँते आक्रमणमा म आफैँ उपस्थित थिएँ । दमनका ती दिनमा मोरङ कहिल्यै झुकेन । मोरङका जनताको उत्साह, आँट, साहस र परिवर्तनको चाहना मैले त्यतिवेलै देखेको छु । ती चार वर्षमा म मोरङका सबैजसो गाविसमा पुगेको छु ।
पछिल्लोपटक मलाई पार्टीले पूर्वी कमान्ड इन्चार्जको जिम्मेवारी दियो । पूर्वका किरात, मिथिला, कोचिला, लिम्बुवान राज्य मेरा कार्य क्षेत्र भए । निर्वाचनको मिति घोषणापछि मलाई पार्टीले निर्वाचनको वातावरण बनाउने एकमहिने जनसम्बन्ध अभियानमा मोरङको इन्चार्ज बनाएर खटायो । मैले यो वेला पनि मोरङका ९ वटै क्षेत्र घुमेँ र समस्या बुझँे । यहाँ सबैभन्दा पछाडि पारिएको क्षेत्र यही थियो । टाँडी, जाँँते, रमितेखोला, भोगटेनी र लेटाङलगायत सबै पहाडी गाविस उत्पीडित भएको मलाई थाहै थियो ।
जनयुद्धकालमा पूर्वी ब्युरो कमान्डअन्तर्गत कमान्डर भएर यही क्षेत्रमा काम गरेको मलाई जनताले यहीँबाट चुनाव लड्न र यहाँको विकासमा साथ दिन अनुरोध गरे । सुगम जिल्लाको दुर्गम भइरहेको यो क्षेत्रको विकास गर्न एउटा भरपर्दो विकासप्रेमी केन्द्रीय नेता पनि चाहिएको थियो । यहाँ पहुँच नहुँदा विकासका धेरै योजना आउन सकेका छैनन् र आएका पनि अधुरा छन् । पुरानो नुनको गुन तिर्न मैले हुन्छ भनेँ ।
घुम्न होइन नुनको भारा तिर्न 
मेरा प्रतिस्पर्धी साथीहरूको र मेरो जिन्दगी फरक छ । राजनीतिकर्मी भएका नाताले यो उहाँहरूलाई पनि पक्कै थाहा छ । तर, प्रतिस्पर्धाका कारण छाती सानो बनाउनुभएको छ । मैले कहिल्यै क्षेत्रको, जिल्लाको सीमा मानेर काम गरिनँ । मोरङकै कुरा गरौँ, क्रान्तिमा चार–चार वर्ष म यहाँ बसेँ र सबै गाविसमा पुगेँ । क्रान्ति पूरा गर्न रोल्पाबाट यहाँ आउँदा म ‘टुरिस्ट’ थिएँ ? युद्धका ती कठिन दिनमा म यहाँ घुम्न आएको थिएँ ?
म यहाँका जनताका सुख–दु:खसँग राम्ररी परिचित छु । यहाँका सबै गाविसमा पुगेको छु र समस्यालाई बुझेको छु । यहाँका जनताले विकासको अभावमा कति कष्टपूर्ण जीवन बिताइरहनुभएको छ भन्ने आफैँ अनुभूति गर्न पाएको छु । जनयुद्धकालमा जाँते भिडन्तमा म आफैँ सहभागी थिएँ । मैले यहाँका जनताको ‘नुन’ खाएको छु र अब त्यो नुनको भारा तिर्न चाहन्छु । युद्धका ती कठिन दिनमा मैले यहाँका जनताको आश्रय पाएँ, प्रेम र करुणा पाएँ । अब त्यसको जतिसक्दो प्रतिदान दिन चाहन्छु ।
देश जोड्ने अभियान
म पिछडिएको ठाउँ पहिचान गरेर विकासका प्रतिबद्धतासहित आएको छु । म यस्तै पिछडिएको क्षेत्रमा जन्मे–हुर्केको र त्यो नियति बदल्न बन्दुक उठाएको मान्छे हुँ । स्थानीयता भनेको भूगोलमात्र होइन, समान पीडा हो । तर, विशेषगरी एमालेका साथीहरू मलाई ‘पाहुना’ भनिरहनुभएको छ । मोरङमा जब युद्धकालमा जनताका छोराछोरीमाथि झुटा मुद्दा लगाइँदै थियो, तिनलाई मारिँदै र प्रताडित गरिँदै थियो, त्यतिखेर म यहीँ बसेर जनताका आन्दोलनलाई सघाइरहेको थिएँ । म उहाँहरूलाई सोध्न सक्छु, कमरेड माधव नेपाल, ईश्वर पोखरेल वा मदन भण्डारी काठमाडौंमा जन्मिनुभएको हो ? तर, सोध्दिनँ । किनकि सच्चा नेताले कहिल्यै फिता लिएर भूगोल नाप्दैन । जहाँ चुनौती हुन्छ, त्यहाँ उभिन्छ ।
अर्को कुरा, हाम्रो पार्टी देश जोड्ने अभियानमा छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराई तराई र पहाड जोड्ने अभियानमा हुनुुहुन्छ । म पूर्व र पश्चिम जोड्ने अभियानमा छु । म मोरङमा हिजो युद्धकालमा पनि उत्पीडित जनतालाई सघाउन आएको थिएँ, अहिले पनि सघाउनै आएको छु । मोरङको स्थानीयताका नाममा यसको शोषण गरिरहेकाहरू माओवादीले अब त्यसो हुन नदिने भयो भनेर अत्तालिएका छन् । तर, जनतासँग पनि विवेक छ भन्ने तिनले बिर्सेका छन् । जहाँ विकासका पूर्वाधारसमेत पुगेका छैनन्, ठूला नेताहरूले त्यस्ता क्षेत्रलाई पहिचान दिन र परिवर्तन ल्याउन पनि त्यहाँ चुनाव लड्नुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता छ ।
मेरा प्रतिबद्धता 
म आफ्ना प्रतिबद्धतामा पक्का छु । ललितपुरमा मैले योजना र विकासका अधिकांश प्रतिबद्धता पूरा गरेँ । मोरङ ९ मा पनि मेरा केही प्रतिबद्धता छन् । यहाँ मधुमल्ला र उर्लाबारीबाहेक सबै विकट गाविस हुन् । न मोटरबाटो सहज छ, न त स्वास्थ्य, शिक्षाको पर्याप्त भौतिक पूर्वाधार । पर्यटन विकासको पर्याप्त सम्भावना छ । तर, पूर्वाधार छैन । सिंहदेवीमा रहेको जेफाले डाँडादेखि पाटी गाउँको बाधे गुफा, शिवपार्वती गुफा, राजारानी पोखरी उपेक्षित छन् । रमितेखोलामा भ्युटावरको योजना अधुरो छ । कृषि सडकहरू अधुरै छन्, जसले गर्दा उत्तरी मोरङको कृषि उत्पादनले बजार पाउन सकेको छैन । लेटाङ, जाँते, मधुमल्लाजस्ता पुराना कृषि बजारहरू ओझेलमा परेका छन् । उर्लाबारी नगरपालिका घोषणा भएर पनि कार्यान्वयन हुन सकेको छैन ।
यस क्षेत्रका धेरै युवा वैदेशिक रोजगारमा जान बाध्य छन् । स्थानीय रोजगारका क्षेत्र सुनिश्चित हुन सकेका छैनन् । बजार अभावमा कृषि पेसा व्यावसायीकरण हुन सकेको छैन । यहाँ उत्पादन हुने अलैँची, अदुवा, अम्लिसो, मौसमी तरकारी, नासपाती, सुन्तलादेखि अन्य धेरै कृषि उत्पादनहरूले बजार पाएका छैनन् । सुन्दर हावापानी भएका स्थानको प्रचार–प्रसार भएर पनि पूर्वाधारहरू निर्माण भएका छैनन् । स्थानीय क्षेत्रका दलित र पिछडिएका जातजाति र समुदायलाई  पुर्जी निर्माणमा सहयोग गरेर उत्पादनमा लगाउने योजना परेका छैनन् । महिला र बालबालिकाको चाहेजस्तो सशक्तीकरण हुन सकेको छैन । जिल्ला विकास र राष्ट्रिय बजेटमा उत्तरी मोरङ ओझेलमै छ । यो अवस्था म सुधार्नेछु ।
मलाई विश्वास छ, यहाँका जनताको साथ र समर्थन पाएर म जित्ने मात्र छैन, प्रतिस्पर्धारहित ढंगले जित्नेछु । सामान्य जितका लागि त यहीँका साथीहरू काफी हुनुहुन्थ्यो । किनभने, हाम्रो पार्टीले पहिले नै जितिसकेको क्षेत्र जो हो । म त उत्तरी मोरङको अनुहार बदल्न आएको हुँ । यहाँको साझा नेताका रूपमा यो क्षेत्रलाई समृद्ध र सम्पन्न बनाउने मेरो अठोट छ । ***
तपाईको प्रतिक्रिया