कात्तिक ७ गते –सडकमा सयौं रुख ढालेर अवरोध । सुनसरी, धनकुटा, तेह्रथुम बन्द ।
कात्तिक ८ गते – सिरहाका विभिन्न ठाउँमा बम, जिल्ला बन्द ।
यी हुन् एमाओवादीका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै उनकै नेतृत्वमा रहेको दलबाट छुट्टिएको नेकपा–माओवादीले गरेका क्रियाकलाप ।
असोज तेस्रो हप्ता एमालेका उम्मेदवारमाथि गोली प्रहार भएदेखि सुरु भएको चुनाव विरोधी गतिविधिहरु अहिले झन्झन् बढीरहेका छन् । बाराका एमाले उम्मेदवार मोहम्मद आलमको हत्याको जिम्मा तराई जनतान्त्रिक पार्टी (मधेस)ले लिएपनि चुनाव विरोधी क्रियाकलाप गर्नेमा नेकपा–माओवादी नै अगाडि छ ।
त्यसमाथि पनि प्रचण्डलाई ‘धोकेबाज’को रुपमा लिएको वैद्य माओवादीले उनैलाई केन्द्र बनाएर आक्रमण सुरु गरेका छन् ।
बन्द गर्ने, बाटोमा रुख ढाल्ने बेलासम्म प्रचण्डले ‘वैद्यले बन्द गर्दैमा चुनाव रोकिन्न, मेरो यात्रा खलबलिन्न’ भनेकै हुन् ।
त्यसैले होला, झन् त्रसित बनाउनुपर्छ भनेर वैद्य माओवादीका कार्यकर्ताले विहीबार रातभर बम बिच्छ्याउने काम गरे ।
वैद्यको बन्द र तगारो छिचोलेर प्रचण्डले पश्चिमका तीनै जिल्लामा भाषण गरे । धनगढी पुगेर बरु ५० सिट नै दिन सकिन्छ भन्दै संविधानसभामा आउन अपील नै गरे । तर बम नै बिच्छ्याउन थालेपछि प्रचण्डलाई अवस्था चुनौतीपूर्ण र असहज बनेको छ ।
भलै निर्वाचन आयोगले हेलिकप्टरमार्फत चुनाव प्रचार गर्नको लागि बाटो खुल्ला गरिदिएपछि स्थलमार्गको विकल्पमा प्रचण्डले हवाइमार्ग रोज्लान् । तर पनि त्यसले असहजता चिर्न भने सक्दैन ।
जसलाई प्रचण्डले बन्दुक पड्काउन र बम बनाउन सिकाए, उनीहरुले नै प्रचण्ड हिंड्ने बाटोमा धराप थापिदिएका छन् ।
तत्कालिन भूमिगत विद्रोही माओवादीमा रहेको ‘भूमिगत’ अन्तरसंघर्ष खुल्ला राजनीतिमा आएपछि छरपष्ट भयो । छरपष्ट मात्र भएन पार्टी नै टुक्रियो । पार्टीमात्र टुक्रिएन एक अर्काप्रति ‘प्रधानशत्रु’को रुपमा दुई माओवादीका नेता कुर्लिन थाले । कुर्लिएनन् मात्र, आक्रमण नै सुरु गरे । बम नै बिच्छ्याएर, वर्गसंघर्षको रुपमा ‘शत्रु’विरुद्ध खनिएजस्तै । ***