बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024
Photo 121टोकियो – यौनजन्य हिंसाबाट प्रताडित नेपाली बालबालिकाहरुको लागि काम गर्दै आएको रक्षा नेपालकी अध्यक्ष तथा महिला अधिकारकर्मी एवं गायिका मेनुका थापाले बिदेशमा बस्ने नेपालीहरुले आफ्ना सन्तान सकेसम्म आफैसंग राख्न सुझाव दिनुभएको छ ।
नेपाली नारीहरुको हर्षोल्लासको पर्व हरितालिका तीजको उपलक्ष्यमा आइतवार टोकियोमा आयोजित तीज कार्यक्रममा बोल्दै मेनुकाले उक्त कुरा बताउनुभएको हो । समाजका सम्भ्रान्त र आफुलाई उपल्लोदर्जाका मान्छे ठान्ने ठालूहरुबाटै हाम्रा कलिला बालबालिकाहरु बढि यौनहिंसाको शिकार हुनेगरेको उहाँको कथन थियो ।
यौनहिंसाबाट पीडित बालबालिकहरुको उद्वारकार्यमा काम गर्ने सन्दर्भमा धेरै ठूलाठूला शक्तिकेन्द्रहरुबाट डर, धम्की र प्रलोभन आउने गरेको प्रसंग कोट्उँदै उहाँले अगाडि भन्नुभयो – ‘त्यस्ता डर, धम्की र प्रलोभनबाट पटक्कै विचलित नभई आज रक्षा नेपालले १० बर्षको यात्रा पुरा गरिसकेको छ र देशबिदेशमा बस्ने तपाईहरुजस्ता सहयोगी हातहरुको खांचो छ । बिदेशमा बस्ने नेपालीहरुका बढ्दै गरेका आफ्ना सन्तान पैसाको भरमा अरुको जिम्मा लगाउने प्रचलन हाम्रो समाजमा बढ्दो छ, जसको बिश्वासमा आफ्ना सन्तान जिम्मा लगाउँछौ उनीहरुबाटै ती कलिला  बालबालिकाहरु यौनहिंसाको शिकार हुने गरेको घटनाहरु  प्रशस्त  छन् । समाजमा घट्ने त्यस्ता घटनाहरु पैसा र पावरको भरमा जबरजस्ती बाहिर आउन दिईन्न । यो बिकराल समस्यालाई चिर्न रक्षा नेपाल क्रियाशील छ । बिदेशमा बस्ने तपाईहरु पनि आफ्ना सन्तानको भबिष्यबारे बिशेष चनाखो भई आफ्ना सन्तान सकेसम्म आफुसंगै राख्नुहोला’ – मेनुकाले अगाडि भन्नुभयो ।
रक्षा नेपालले बिगत १० बर्षदेखि यौनजन्य हिंसाबाट पीडित वा प्रभावित नेपालीहरुको उद्वार, पालनपोषण, शिक्षादिक्षा, चेतनमुलक एवं आत्मसुरुक्षा सम्बन्धि बिशेष खेलकूद तालीम, स्वरोजगारी तालीम, सहकारीलगायतका क्षेत्रमा काम गर्दै आईरहेको छ ।
बिगत लामो समयदेखि जापानमा तीज कार्यक्रमको आयोजना गर्दै आएको नारी कुञ्ज जापान र म्याग्देली सञ्जाल जापानको संयुक्त आयोजनामा भएको ‘जापानमा तीजको रमझम’ नाम दिईएको तीजबिशेष कार्यक्रममा नेपालबाट आमन्त्रित थापाको बिशेष आकर्षण रहेको थियो ।
गायिका थापा लगायत आईएनसीजेको कार्यक्रमका लागि जापान आउनुभएका सरिता कार्की, जापानमै रहनुभएका कलाकारहरु अम्मर गुरुङ, सरास्वती पुन, राधिका सापकोटालगायतका अन्य थुप्रै कलाकारहरुको लाईभ प्रस्तुती रहेको थियो भने नवप्रतिभा श्रवण सत्यालको हास्यप्रस्तुती पनि रहेको थियो ।
यसका साथै कार्यक्रममा यौनहिंसाबाट पीडित बालबालिकाहरुको लागि सक्रिय अधिकारकर्मी गायिका थापाले तीजबिशेष साँगीतिक प्रस्तुती गर्नुकासाथै यौनजन्य हिंसाबाट पीडित बालबालिकाहरुका लागि रक्षा नेपालको अभियानबारे जानकारी गराउंदै महिला सशक्तिकरण र महिला जागरणका लागि चेतनामुलक एवं सन्देशमुलक डकुमेन्ट्री प्रदर्शन गर्नुभएको थियो । उक्त डकुमेन्ट्री देखेर आफ़ुहरुलाई भावबिभोर बनाएको साथीहरुसंगै तीज मनाउन आएकी दर्शक हेमा केसीले बताईन ।
यसका साथै कार्यक्रममा नेपालको मौलिक पञ्चेबाजामा तीजे भाकाको समिश्रण अर्को नौलो प्रस्तुती बनेको थियो । देवेन्द्र भण्डारीको संयोजन रहेको पञ्चबाजा बाद्यबादनमा प्रेम पुन, लिल केसी, बम पुन, जमल दिलबक्स, पवित्रा पुन, मनिषा खड्का, निलप्रसाद रोका, लालप्रसाद सापकोटा, राजेश मल्ल, प्रकाश खत्री र महेन्द्र वानिया रहनुभएको थियो ।
म्याग्देली सञ्जाल जापानका अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा भएको तीज कार्यक्रमको प्रमुख अतिथि अम्बिका भट्टराईले पञ्चेबाजाको साथमा तीजेभाकामा नृत्य गरेर उदघाटन गर्नुभएको  थियो ।
प्रारम्भमा सञ्जालका उपाध्यक्ष महेन्द्र बानियाले उपस्थित महानुभावहरुलाई स्वागत गर्नुकासाथै हरितालिका तीजको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अम्बिका भट्टराई, एनआरएन आईसीसी कोषाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, माया नेपाली संगीत सँस्थाका अध्यक्ष युको ओकामोतो मल्लले तीजको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अतिथि कलाकार मेनुका थापा र सरिता कार्कीलाई कार्यक्रमका सभापति महेन्द्र खड्का र नारी सञ्जालकी अध्यक्ष छक्कू उदासीले खादार्पण गरी सम्मान गर्नुभएको थियो यसैगरी सो अवसरमा गत बर्ष थसेस जापानले आयोजना गरेको भलिबल प्रतियोगितामा भाग लिई दोश्रो स्थान हासिल गर्ने म्याग्देली सञ्जालका खेलाडिहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको पहिलो चरणमा म्याग्देली सञ्जालका सचिव खेम मल्ल र दोश्रो चरणमा नारी कुञ्ज जापानकी अध्यक्ष छक्कू उदासीले सञ्चालन गर्नुभएको थियो ।  पूर्वान्हमा चेलीबेटीहरुका लागि दरखाने कार्यक्रमको पनि ब्यवस्था रहेको थियो ।
कार्यक्रमको दिनेश लिक्वेयर कर्पोरेशन, टिबिआई ग्रुप, निक्को जापानी भाषा स्कुल काठमाडौ, मिलन रेष्टुरेन्ट, जेएमई रेमिट्, टोपा जापानी भाषा स्कुल काठमाडौं, जेनिथ रेमिट्, दिपसन फुड्स, नेपाली रेष्टुरेन्ट माया, इण्डियन रेष्टुरेन्ट चाई, फुजियामा टेक्नो, एडभान्स लाईफ कर्पोरेशन, नेपाली ईण्डियन रेष्टुरेन्ट आरतीललगायतका ब्यवसायिक कम्पनीहरुले प्रायोजन गरेका थिए ।   ***
Photo 082
IMG_7083 IMG_7148 IMG_7124 IMG_7157

Photo 124

तपाईको प्रतिक्रिया