कुनै पनि संगठनको शुरुवात तथा परिकल्पना समाजमा केहि राम्रो काम गर्ने उदेश्य राखेर गरिएको हुन्छ । जनसम्पर्क समितिको नामबाट पनि कति कुराहरु प्रष्ट हुन्छ कि विदेशमा बस्ने नेपालीहरुबीच एक-आपसमा सम्पर्क गरी परेको वेलामा सहयोग गर्ने । सहयोग भन्ने वितिकै आर्थिकमात्र नभएर बिचारको सहयोग, सूचनाको सहयोग, मानवीय सहयोग आदि इत्यादी पर्दछन् । एउटा सानो भन्दा सानो सूचनाबाट मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने कुरामा दुइ मत नै छैन । हो, विदेशमा कसैले कसैलाई पाल्न त गाह्रो नै हुन्छ तर पनि उचित सर-सल्लाह र भाइचारा त दिन सकिन्छ नि हैन र ? अझ जापान जस्तो भाषाको समस्या हुने ठाऊँमा त झनै भाषिक सहयोगको धेरै आवश्यकता देखिन्छ ।
विदेशमा आउने सबैको आ-आफ्नो उदेश्यहरु हुन्छन् । पहिलो प्राथमिकता भनेको हामी सबैले त्यो उदेश्य प्राप्तिका लागी मेहनतका साथ-साथै समय दिएर अगाडि बढ्ने हो । कहिलेकाही आफूले जति मेहनत गरे पनि उदेश्य प्राप्ति गर्न गाह्रो भईरहेको अवस्थामा साथीभाईहरुको मद्दतले एक आपसमा समस्यालाई समाधान गर्न सकिन्छ । सबैजना सबै कुराले कदापि पूर्ण हुन सक्दैन त्यसैको लागि संगठन र समाजको आवश्यकता पर्दछ | विपी कोईरालाले यिनै कुराहरुको महसुस गरेर जनसम्पर्क समितिको परिकल्पन्न गर्नु भएको हो ।
जनसम्पर्क समिति एउटा राजनितिक पार्टिको भातृसंगठन भएपनि यो अरु नेपालमा भएका भातृसंगठन जस्तो पक्कै होईन । यसले अहिले कुनै विकास निर्माणका कामहरु गर्नु पनि छैन, मात्र विदेशमा वस्ने नेपालीहरुलाई पर्ने समस्यामा जति सक्दो सहयोग गर्नु पहिलो काम हो । संगठन बलियो भएपछि आफ्नो मातृभूमिलाई कुनै न कुनै प्रकारले सहयोग गर्नु हामी सबैको कर्तव्य हुन आउँछ | साथै बिदेशमा भएका अरु राजनैतिक दलका भातृसंगठनहरु, गैरराजनैतिक संघ-संस्थाहरु, विद्यार्थी संघहरु आदिसँग सहकार्य गर्दै विदेशमा नेपालीहरुलाई पर्न सक्ने समस्याहरुको बारेमा वेलैमा बैंठक, गोष्ठी, रचनात्मक कार्यक्रम गर्नु पर्ने हुन्छ ।
पहिला आफू बन्ने अनि परिवार त्यसपछि समाज बनेपछि देश त आफै बन्छ भने जस्तो सबै संगठनहरु बलियो हुनु पर्छ अनि पो त्यो संस्थाले समाजको लागि केहि सहयोग गर्न सक्छ । यी सबै कुराहरु सम्भव तुल्याउनका लागि सर्वप्रथम त्यो संगठनमा एकता, साथी-साथी विच भातृत्वको भावना हुन जरुरी हुन्छ । विचार मिल्ने साथी चाहे त्यो देशको जुन सुकै ठाऊँमा वसोवास गर्ने नै किन नहोस उनीहरुलाई केही न केही रुपबाट समाबेश गर्नुपर्दछ भन्ने मेरो मान्यता हो । त्यो खाले सोच अथवा कसरी कुना-कुनामा बस्ने विभिन्न क्षेत्रका साथीहरुलाई संगठनमा समावेश गरेर संगठनलाई बलियो बनाउन तिर नलागी कसरी एक लौटी किसिमबाट संगठनलाई कब्जा गर्न सकिन्छ भन्ने ग़्र्याण्ड डिजाएन बनाउने जस्ता अनैतिक सोचले संगठनभित्र भाँडभैलो, तँछाड-मछाड र अस्वस्थ प्रतिस्पर्धाले गर्दा संख्यात्त्मक, क्षेत्रियता र व्यापारी जस्ता सम्बन्धहरु हावी हुन्छन् । जसको परिणाम संगठनको नेतृत्व हत्याउन फोहोरी खेलको राजनीति शुरु भएर संगठन कमजोर हुन पुग्छ । यस्तो परिपाटी हाबि हुँदै गयो भने भविष्यमा त्यो संगठन एउटा सीमित व्यक्तिहरूको ठगिखाने भाडो नबन्ला भन्न सकिन्न ।
(लेखक नेपाली जनसम्पर्क समिति, जापानका केन्द्रीय सदस्य हुनुहुन्छ ।)