“ढाँट्नुको पनि त सिमा हुन्छ नी…..हाम्रा अध्यक्षलाई दुनियाँ हँसाउने दुर्बुद्धि किन पलाएको होला कुन्नी -” एमाले समर्थक मेरा एकजना मित्रले पोखेको गुनासो हो यो । भैदिए छ के भने रेडियो नेपालसँगको कुराकानीको सन्दर्भमा “उपल्लो तहका एक दुइ जना नेताहरु मात्र एकीकृत माओवादीमा गएका हुन् । त्यसले हाम्रो पार्टीलाई खासै नकारात्मक प्रभाव पार्दैन । तल्लोतहमा एकीकृत माओवादी सम्बद्ध कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुको ओइरो एमालेमा लागेको लाग्यै छ । पार्टी प्रवेशको घुइंचो व्यवस्थापन गर्नै गाह्रो पो हुन थालेको छ त” भनेर दिएको पार्टी अध्यक्षको अभिव्यक्तिले उनलाई कुरी कुरी लाज लागेको रहेछ । पूर्वका राइलिम्बुहरु अशोक राईको नेतृत्वमा पार्टीबाट निस्के, उत्तरका सेर्पाहरु लक्की सेर्पाको नेतृत्वमा बाहिरिए, राजेन्द्र श्रेष्ठको नेतृत्वमा उपत्यकाका नेवारहरुले बिद्रोह गरे । हितकाजी गुरुङहरुले पार्टी परित्याग गरे । एमालेभित्र मगर र तामाङ समुदायबाट उच्च नेतृत्वको विकास नभैसकेको हुनाले त्यो समुदायले यतिबेलै बिद्रोह गरेको सतहमा नदेखिएको मात्र हो । आम मतदाताको तहमा त आफ्नो पहिचान नस्वीकार्ने एमालेप्रतिको वितृष्णा जनजाति समुदायमा निरन्तर बढ्रदै गएको वास्तविकता दुनियाँले छर्लङ्ग अनुभूत गरेको कुरा हो । जनजातिहरुलाई पहिचानको मुद्दाले जुरुक्क उचालेको छ । जनजाति, आदिबासी, मधेसी, दलितहरु कसैले पनि यतिबेला एमालेको नाम समेत सुन्न चाहन्नन् । हुन पनि मुलुकको कूल आवादीको ७० प्रतिशत ओगट्ने त्यो समुदायले बहिष्कार गर्ने अवस्थामा एमालेमा प्रवेश गर्ने मान्छेहरु अर्को कुन ग्रहबाट आएहोलान् भनेर पत्याउने ? दुनियाँ अन्धो र बहिरो छ भने झैं गरी अध्यक्षबाट सार्वजनिक भएको सफेद झुटले ती मित्रलाई लाजमर्दो बनाउनु पनि अस्वाभाविक होइन ।
छिमेकी भारतमा सन् २०१४ मा आयोजना हुने संसदीय निर्वाचनको तयारी सुरु भैसक्यो । दुइ ठूला पार्टी भाजपा र भारतीय राष्ट्रिय काँग्रेसले अघोषितरुपमा नरेन्द्र मोदी र राहुल गाँधीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर निर्वाचन अभियान सुरु गरिसके । हामीकहाँ पनि निर्वाचन आउनै लागि सक्यो । गठन हुँदैका बखत खिलराज रेग्मी नेतृत्वको सरकारले निर्वाचन गराउने मंसिरसम्मको मिति पाएको हो । जति नै ढिलो भए पनि मंसिर कटाउन मिल्दैन । कमसेकम आषाढ महिनाभरमा सरकारले निर्वाचनको मिति घोषणा गर्नैपर्छ । मिति तोकिएपछि सबैलाई निर्वाचन लाग्ने नै छ । हो, एमाले, काँग्रेस, एकीकृत नेकपा माओवादी र सदभावना (महतो) लाई निर्वाचनले अलिकता छुन थालेको छ । निर्वाचनमा जानु नै छ भने “मेरो पर्टी कमजोर छ, चुनाव जितिदैन, हामीलाई दिएको मत खेर जान्छ” भनेर त कुन चाहीं पार्टीले भन्छ र ? त्यसरी चुनाव लडेको त पञ्चायतकालमा पदम्रत्न तुलाधरले मात्र हो । उनले पञ्चायत व्यवस्था नै जनविरोधी भएको हुनाले त्यो व्यवस्था अन्तर्गत आफूले चुनाव जिते पनि केही गर्न नसक्ने भएकोले भोट नदिनका लागि मञ्चबाट सार्वजनिक आहृवान गर्ने गर्थे र पनि अत्यधिक बहुमतका साथ चुनाव जित्थे । यतिबेला त्यस्तो हिम्मत कुनै पनि राजनीतिक दल र नेताहरुमा छ जस्तो लाग्दैन । झलनाथ खनाल पो कुन चाहीं अलग बारीका मुला हुन् र सत्य साँचो कुरा गरुन् त बिचरा !
“कुरा गर्यो, कुरैको दुःख” ! यो एकजना रेडियो कलाकारको थेगो हो र एकताका नेपाली समाजमा निकै लोकप्रिय पनि थियो । एमालेको यतिबेलाको हालत “न टेक्ने डाली न समाउने हाँगो” भनेजस्तो भएको छ । अशोक राई, विजयसुब्बा, रकम चेमजोङ, हेमराज राई, अजम्बर काङवाङ, हितकाजी गुरुङ, पासाङ सेर्पा, लक्की सेर्पा, राजेन्द्र श्रेष्ठ, रामचन्द्र झा, उर्मिला अर्याल जस्ता पार्टीबाट बाहिरिएका नेताहरुले आफूले निर्वाचन नजिते पनि एक एक जनाले कमसेकम ५/५ जना एमाले उम्मेदवारहरुलाई निर्वाचनमा हराईदिने तागत राख्दछन् । उसै पनि तराईमा एमालेको स्थिति कमजोर थियो । रामचन्द्र झा र उर्मिला अर्यालको पार्टी परित्यागले एमालेलाई १००० भोल्टको विद्युतीय झट्का दिएको होला । तराई बिग्रनु भनेको पार्टीको पराजय हुनु हो । किनभने पछिल्लो जनगणनाले ५१/५२ प्रतिशत जनसंख्या तराईमै केन्द्रित रहेको देखाएको छ । जनजाति बिद्रोहले पहाडबाट सिनित्तै बढारिनुपर्ने परिस्थिति निर्माण भएको बेलामा तराइमा पनि पहिरो जान थालेपछि एमालेको होसोहवास् गुम हुनु स्वाभाविक हो । तर जति नै मर्का परेपनि दुनियाँसामु रोएर काम चलेन । त्यसैले फर्जी कुरा गरेरै भए पनि सन्तोष गर्ने, चित्त बुझाउने र पार्टी कार्यकर्ताहरुको हौसला कायम राख्ने कोशिस गर्नुपर्ने आवश्यकता अध्यक्ष खनाले महशुस गरे होलान् भनेर सबैले बुझेका छन् । त्यो उनको आक्रोशको रुञ्चे अभिव्यक्ति हो । त्यसैले खनालले अलि बढ्तै बोले भनेर सुन्नेले लाज मान्नुपर्छ जस्तो लाग्दैन । उसै पनि राजनीति झुटको खेती नै त हो । नेताहरुका योजना, कार्यक्रम र आश्वासन कहिले पो पूरा भएका छन् र ?
पहाड र मधेस दुबैतिर जनसमर्थन पातलिँदै गएका हुनाले एमाले र काँग्रेसमा यतिबेला चुनावको सामना गर्नु “नपरे हुन्थ्यो” भन्ने मनोविज्ञानको विकास भएको छ । हिजो पहिचानको मुद्दामै अड्किएर संविधानसभा असफल भएको हो । यसपटकको निर्वाचनमा त्यो मुद्दा अझ प्रबल भएर उठ्ने निश्चित छ । जातीय, क्षेत्रीय, ऐतिहासिक र सांस्कृतकि पहिचानलाई नस्वीकार्ने एमाले काँग्रेसको नीतिले मधेसी, आदिबासी जनजाति र उपेक्षित समुदायको समर्थन गुमाउनुपर्ने अवस्था उत्पन्न भएको छ । त्यसमा दलित समुदायको पनि समर्थन रहने हो भने एमाले र काँग्रेस केवल पहाडी खस (क्षत्री बाहुन) समुदायको पनि पहिचान विरोधी हिस्साको मात्रै भर पर्नुपर्ने अवस्था छ । खससमुदायको कूल आवादी (क्षत्री, बाहुन, गिरी, पुरी, सन्यासी र ठकुरीसमेत गर्दा) चानचुन ३० प्रतिशत मात्र छ । जनजाति र मधेसी समुदायको मत गुमाउँनुपर्ने र खस समुदायको मत पनि सिंगै एमाले काँग्रेसको पोल्टामा मात्र नपर्ने भएको हुनाले आगामी निर्वाचनमा ती दुई पार्टीलाई पुरानो हैसियत जोगाउन पनि हम्मे पर्ने देखिन्छ ।
पहिलो संविधानसभाको निर्वाचनमा एमाले र कांग्रेसले सगोलमा सम्पूर्ण खसेकोमध्ये केबल ४०/४२ प्रतिशत मत मात्र पाएका थिए । अर्थात एक्लै माओवादीको भन्दा झण्डै आधा मात्र जनसमर्थन एमाले काँग्रेसले सगोलमा पाएका हुन् । यसपटक जनजाति र मधेसी, मुस्लिम र दलितको समेत समर्थन गुमाउने स्थिति देखिएको हुनाले आगामी निर्वाचनमा एमाले काँग्रेसको हातलाग्ने मतप्रतिशत लाजमर्दो हुने सम्भावना इन्कार गर्न मिल्दैन । यो कुरा एमाले कांग्रेसको नेतृत्वले राम्रोसँग बुझेको छ र पनि “मुटुमाथि ढुङ्गा राखि हाँस्नुपर्ने” परिस्थिति सिर्जना भएको छ । एमाले काँग्रेसले सगेालमा होइन एक्ला एक्लै चुनाव जित्ने दावी गर्नुपरेकेा छ । पार्टीका नेताहरुको मर्का र वाध्यता नबुझ्नेहरुले मात्र जनताले पत्याउन र पचाउनै गाह्रोपर्ने कुरा नेताहरुले किन गरेका होलान् भनेर आलोचना गर्ने हो । यी दुइ पुराना संसदीय पार्टीको कथाव्यथा बुझ्नेहरुले नेताका फर्जी दावी र दम्भहरुलाई स्वाभाविकरुपमा लिनुपर्छ, लिन्छन् नै ।
खासगरेर एमाले पार्टीमा यतिबेला सुरु भएको चारैतिर भत्कने र पहिरो जाने क्रम नरोकिने हो भने निर्वाचनमा उसको कन्तविजोग हुने निश्चित छ । त्यसैले उसले वामकित्ता परित्याग गरेर नयाँ भोट बैक खोज्नकै लागि आफूलाई “अब्बल प्रजातान्त्रिक” पार्टी भन्न थालेको हो । तर त्यसले पनि उसलाई खासै भरमद्दत गर्ला भन्न सकिने अवस्था छैन । एमालेले कित्ता परिवर्तन गरिदिनाले काँग्रेसलाई घाटा र एकीकृत माओवादीलाई थप नाफा हुने स्थिति उत्पन्न भएको छ । त्यसमाथि मूख्य प्रतद्विन्दीलाई जब्बर क्षति पुर्याउन सक्ने “वैद्य माओवादी”ले निर्वाचन बहिष्कार गरिदिने सम्भावना प्रबल बन्दै गएपछि एमालेको सातो जानु स्वाभाविक बनेको छ । तर एमाओवादी फुटेको र पटक पटक सरकारमा पुगेर पनि जनताका पक्षमा ठोस काम देखाउन नसकेको हुनाले उसको स्थिति पनि उतिसारो भरोसालाग्दो छैन भनेर ती एमाले मित्रलाई सान्त्वना दिनुपर्दा भने म आफैलाई ननिको लागेको अनुभूति भएको छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि आफू पनि उल्लु ढाँट ठहरिने सम्भावना स्पष्ट देख्दादेख्दै पनि मित्रको न्याउरो अनुहार हर्न गाह्रो पर्दोरहेछ र झुटो नै भए पनि गुलियो आश्वासन दिनुपर्ने हुँदोरहेछ । फेरि झुट र फरेब खनालको मात्रै पेवा पनि त होइन । अन्य पार्टीका नेताहरुका दावी पनि त कम्ति हाँस्यास्पद हुदैनन् । ***