आफूलाई नेपालकै नम्बर वान मिडिया ग्रुप दाबी गर्ने ‘कान्तिपुर’ले आफ्नो स्वार्थ पूरा गर्न गराउन पाठक, श्रोता र दर्शकलाई कसरी भ्रममा पार्छ भन्ने ‘लोकमान’ नियुक्ति प्रकरणमा नाङ्गिएर प्रस्तुत भएको अवस्थाले नै स्पष्ट पारेको छ । भलै लोकमान अख्तियारका लागि उपयुक्त थिएनन् होला, तर पनि एउटा मिडिया व्यक्तिको पछाडि एकोहोरो खनिनु कति सान्दर्भिक थियो पाठकले बुझिसकेका छन् ।
‘लोकमान’ प्रकरणमा घाइते साँपजस्तो बनेको कान्तिपुरले एकपछि अर्को भ्रमपूर्ण समाचार प्रकाशन गर्न थालेपछि उसको साख दिन दुगुणा रात चौगुणा खस्किँदो छ । पाठकलाई भ्रममा पार्न कान्तिपुरले पछिल्लो पटक लोकमान प्रकरणमै केन्द्रित रहेर ‘स्रोत’को हवाला दिँदै राष्ट्रपतिका सल्लाहकारले राजीनामा दिएको असत्य समाचार प्रकाशन गरेको थियो । उक्त तथ्यहीन समाचारको भ्रमबाट पाठकलाई ‘कान्तिपुर’बाटै छुट्टिएर गएका रामेश्वर थापाको ‘अन्नपूर्ण पोष्ट’ले मुक्त गराएको छ ।
‘आफूले भनेकै हुनुपर्ने’ ‘त्यही अनुसार सम्वन्धित निकायले गर्ने गराउने गर्नुपर्ने’ अहम् ‘कान्तिपुर’ सञ्चालक कैलाश सिरोहियामा छ । पाठकलाई निष्पक्ष सूचना र जानकारी गराउनुपर्ने पत्रकारिताको धर्म कान्तिपुरले कति पूरा गरेको छ – सायद यो जवाफ त्यहीँ कार्यरत ‘श्रमजीवी पत्रकार’ ले समेत दिन सकिरहेका हुँदैनन् । आफूलाई ‘दिग्गज’ अनि ‘बुझक्कड’ मान्ने कान्तिपुरका सल्लाहकार सम्पादक विजयकुमार पाण्डेसमेत लोकमान प्रकरणमा सिरोहियाको कुन्नि, कस्तो स्वार्थमा प्रयोग भएर बाध्यताको कलम चलाउन विवश भए ।
फलतः उनीसहित सिरोहिया दम्पत्ति र प्रधानसम्पादकसमेत अदालतमा ठडिनुपर्ने भएको छ । सुन्नमा आएअनुसार कान्तिपुरका कैयौं ‘श्रमजीवी पत्रकार’ लोकमान प्रकरणमा नचाहेरै सिरोहियाको आदेशमा नांगिन बाध्य भए र भइरहेका छन् । आफूलाई व्यावसायिक एवम् भ्रष्टाचारविरोधी पत्रकार भन्न रुचाउने समाचार सम्पादक हरिबहादुर थापा त लोकमान प्रकरणमा कतिसम्म नांगिन पुगे, त्यो ‘…लाई भन्दा देख्नेलाई लाज’को अवस्था छ ।
अनुजा प्रकरणमा आफ्नो कमजोरी ढाकछोप गर्दै समाचार स्रोतले धोका दिँदा पाठक झुक्किएको भन्दै माफी मागेको कान्तिपुरले त्यसयता पनि पटक-पटक पत्रकारिताको मर्यादा उल्लंघन गर्दै आइरहेको छ । अति सामान्य प्रकरण तर उसको स्वार्थपूर्ण चासो रहेको खण्डमा ‘विशेष सम्पादकीय’ लेखिहाल्ने कान्तिपुरको दिनदिनै प्रतिष्ठा गिर्दो र विश्वासमा संकट उत्पन्न हुँदै गएपछि यतिबेला त्यहाँ कार्यरत पत्रकारले नै ‘भविष्य लामो नभएको’ भन्दै अन्य प्रकाशन गृहतिर आँखा तान्न थालेको बुझिन्छ ।
विगतमा नेपाल समाचार पत्र र कान्तिपुरबीच विराटनगरका ‘माडे’को समाचार सन्दर्भले पाठकलाई वाक्क पारेको थियो तर यतिबेला भने कान्तिपुरको भ्रमपूर्ण समाचारलाई कान्तिपुरबाटै छुट्टएिका रामेश्वर थापाको लगानीको अन्नपूर्णले ‘क्लियरिफाई’ गर्दै जानुका साथै खोजीपूर्ण समाचारलाई प्राथमिकता दिन थालेपछि पाठकको विश्वास त्यतातिर र्सन थालेको छ ।
‘विश्वकै धनाढ्य’लाई कान्तिपुरमा भित्र्याएर ‘मुर्गा’ बनाउने सोचमा कुनैबेला उनै सिरोहियाको चासो र स्वार्थमा सम्पादकलाई समेत पत्तै नदिएर ‘कंगाल’ रसेन्द्र भट्टराईलाई ‘खर्बपति नेपाली’ भनेर समेत कान्तिपुरले मुख्य समाचार प्रशारण एवम् प्रकाशन गर्यो । त्यही समाचारको असरले गर्दा मृत्युवरण गर्न पुगे रसेन्द्र भने समाचारकै विषयमा असहमती राख्दै तत्कालीन सम्पादक युवराज घिमिरे कान्तिपुरबाटै अलग भए ।
सोल्टी होटलको गोसाइँकुण्ड स्वीटको खर्च तिर्न ‘कंगाल’ रसेन्द्रका परिवारले घरै बेचेर डेरा र्सनु परेको तीतो यथार्थ सायद ‘कान्तिपुर’का पाठक र दर्शकले अझै पनि नबिर्सेको हुनुपर्छ । त्यस्तैगरी, एयरबस खरिद प्रकरणमा पनि कान्तिपुरको समाचार पत्तु हुन पुग्यो ।
लोकमान प्रकरणमा आफ्नो स्वार्थ पराजित भएपछि यतिबेला कान्तिपुर सञ्चालक सिरोहिया विक्षिप्त बन्न पुगेका छन् । आफूले विगतदेखि नै गर्दै आएको राजश्वमारा क्रियाकलापबाट चोखिन भविष्यमा कस्तो कदम चाल्ने र कोमार्फत लोकमानसँग सम्बन्ध सुधार्ने भन्ने योजना बुन्न कान्तिपुरकै निकट ‘कार्यकर्ता’ सँगको कोठे बैठकमा व्यस्त छन् सिरोहिया । जानकारीमा आएअनुसार लोकमान प्रकरणमा नेपालमा राजश्वमाराको रूपमा चिनिएका तर फोर्ब्स पत्रिकाले विश्वसको धनीको सूचीमा राखेको विवादास्पद उद्योगी विनोद चौधरीसमेतको स्वार्थमा कान्तिपुर लोकमानसिंह कार्कीको विरुद्ध जाइलागेको हो ।
सरकारी मुखपत्र गोरखापत्रसँग टक्कर लिँदा पाठकको मन जितेर फस्टाएको कान्तिपुरले भविष्यमा पनि यस्तै हावादारी र अहमपूर्ण समाचार प्रकाशन गरिरहने हो भने उसको भविष्य लामो छैन । पाठकको विश्वास रहेन पत्रिका नम्बर वान हुने हो, दाबी गरेरै नम्बर वान कहिलेसम्म ? ***