२०१३ को मे ८ नेपालको इतिहासमा अविस्मरणीय दिनका रुपमा रहने भो । आजकै दिन नेपालको खेलजीवनमा नयाँ इतिहासको रचना गर्ने क्रिकेट टोलीको भव्य स्वागत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रीपरिषदका अध्यक्ष स्वयमको उपस्थितिमा सम्पन्न भो । यो त यौटा औपचारिकताको कुरा मात्र हो । देशभित्र र बाहिर रहने सम्पूर्ण नेपालीहरुले साँचो मनले क्रिकेट टोलीको प्रशंसा र स्वागत गरेको छ । सिंगो मुलुकको लागि यो यौटा अद्वितीय खुसीको क्षण बनेको छ । विडम्बना नै भन्नुपर्छ कि आजको यही खुसीको दिनमा भ्रष्टाचारको आरोप लागेका र जनआन्दोलनको दोषी करार गरिएका अर्का एकजना लोकमानसिँह कार्की नाम गरेका नेपाली नागरिकले अख्तियार प्रमुखजस्तो महत्वपूर्ण संवैधानिक नियुक्ति पाएका छन् । आजैका दिन पदबहाल पनि गरेका छन् ।
जहाँसम्म क्रिकेटको कुरा हो, त्यो सिंगो नेपालीहरुले रुचाउने खेल हो भनिहाल्नु अलि बढ्तै हुन्छ । नेपाल भनेको भीरका कान्लाहरुमा, पहाडका टुप्पा र फेदीहरुमा, नदीका खोँचहरुमा बसाईएका गाउँ नै गाउँहरु मिलेर बनेको देशको नाम हो । नेपालका गाऊं, कन्दरा, हिमाल र पहाडतिर क्रिकेट खेलिदैन । खास गरेर टेलिभिजनको सुविधा उपभोग गर्नपाउने भाग्यमानी शहरी आवादीमध्येको पनि नयाँ पुस्तालाई भर्खर भर्खर मात्र लत लाग्न थालेको खेल हो – क्रिकेट ! नेपालको ९९ प्रतिशत जनसंख्याले क्रिकेट बुझ्दैन र रुचि पनि राख्दैन भन्दा फरक पर्दैन । त्यसैले फकल्याण्डको युद्धमा गोर्खा सैनिकले विजयश्री प्राप्त गर्नु र नेपालको क्रिकेट टिमले वर्मुढामा विजयश्री प्राप्त गर्नुले बहुसंख्यक नेपालीका लागि खास भिन्नता राख्दैन, राखेन ।
क्रिकेट वेलायतीहरुको खानदानी, मौलिक र पुस्तैनी खेल हो । साम्राज्य विस्तारको सिलसिलामा वेलायतीहरु जहाँ जहाँ पुगे आफुसँगै क्रिकेटलाई पनि लिएर गएका थिए । त्यसैले ब्रिटिस उपनिवेश अन्तर्गत लामो समय रहेका देशहरु भारत, पाकिस्तान, श्रीलंका, वंगलादेश, दक्षिण अफ़्रिका, न्युजिल्यान्ड, अष्ट्रेलिया आदि देशहरुमा लोकप्रिय रहेको देखिने क्रिकेटले अन्य देशहरुमा अपेक्षित लोकप्रियता प्राप्त गर्न सकेको छैन र ओलम्पिक खेलमा आजसम्म समावेश गरिएको पनि छैन ।
नेपालको सन्दर्भमा जसरी सोनी, कलर्स, स्टारप्लस आदि भारतीय टिभी च्यानलहरुबाट प्रसारित हुने पारीवारिक-सामाजिक टेलिसिरियलहरु (सहरीया टेलिभिजनमा पहुँच भएका गाउँलेहरु पनि) गृहिणीहरुमा लोकप्रिय रहँदै आएका छन् त्यसैगरी किशोरपुस्तामा क्रिकेटप्रतिको अभिरुचि पनि विकसित हुँदै गएको छ । नेपाली किशोरहरुमा क्रिकेटको लत बसाल्नमा भारतीय स्पोर्टस् च्यानहरुले मुख्य भूमिका खेलेका छन् भन्न हिच्किचाउनु पर्दैन ।
जेहोस्, अब नेपालको युवा तथा किशोर पुस्तामा क्रिकेटको क्रेज कुनै पनि भारतीय नागरिकहरुमा भन्दा कम छैन भन्न सकिन्छ । देशभरमा ५ वटा पनि व्यवस्थित क्रिकेट मैदान नरहेको नेपालमा क्रिकेटप्रतिको बढ्दो आकर्षण निकै आश्चर्यजनक पनि मान्न सकिन्छ । मैदानमा स्वयं आफै खेलेर वा प्रत्यक्ष खेल हेरेर भन्दा बढी नेपाली क्रिकेट फ्यानहरु टिभी च्यानलहरुका उत्पादन हुन् भन्दा फरक पर्दैन । र आगामी दशकौं दशक सम्म नेपाली दर्शकहरुले क्रिकेटको तृष्णा टिभी च्यानल हेरेरै मेटाउनुपर्ने विडम्बना भने मेटिने छैन । बर्मुढामा प्राप्त सफलताले विश्वस्तरमा आयोजित हुने २०१५ को वान्डे क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट टिम पनि सहभागी हुने सम्भावनाको मृगतृष्णा सबै खेलप्रेमीहरुमा जन्माइदिएको छ । वर्मुढाको सफलता उत्साहजनक भए पनि निर्णायक भने होइन । विश्वस्तरिय खेलमा भाग लिनका लागि अझ यौटा सिँढी चढ्नै बाँकी छ । फेरि खेलमा भाग लिन पाउनु मात्र ठूलो कुरा होइन, खेल जित्नु ठूलो उपलब्धि हो । त्यो सम्भावना तत्काल हाम्रो लागि आकासको फल समान छ भन्दा फरक पर्दैन ।
यतिबेलै क्रिकेटको सफलतालाई ओझेलमा पार्नेगरी लोकमानसिंह कार्कीप्रकरण मञ्चित भएको छ । त्यसको चर्चाले क्रिकेटचर्चालाई खर्लप्प खाइदिएको छ । आज पनि कैयौं नेपालीहरु क्रिकेट टिमको स्वागतमा भन्दा कार्कीको नियुक्तिको विरोधमा उत्रनमा रमाएको देखिएको छ । त्यो अस्वाभाविक पनि होइन । १०/८ वर्ष अगाडिसम्म त अख्तियारमा लोकमानसिंह आउन कि त्रिलोकमानले नियुक्ति पाउन् आम जनताको सरोकारको विषय बन्दैनथ्यो । अख्तियारमा पछिल्लोचोटि पदबहाल गर्ने सूर्यनाथ उपाध्यायले जनताको ध्यानाकर्षण अख्तियारतिर गर्न सफल भएका हुन् । खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरिञ्जिीवी वाग्ले र जयप्रकाशप्रसाद गुप्ता लगायतका दर्जनभर भ्रष्टाचारी राजनीतिज्ञहरुलाई अख्तियारको फन्दामा पार्ने उनै हुन् । त्यही घटनाले संस्थाको महत्व र गरिमा बढाएका हो । अब अर्को त्यस्तै सूर्यनाथ अख्तियारको दायित्व र जिम्मेवारी सम्हाल्न आउला भन्ने आशा पनि त्यति धेरै गरिएको छैन । त्यसैले होला काठमाडौंका सडकहरुमा विरोधका तमासाहरु दृष्टिगोचर भएपनि आम जनतामा लोकमानसिंहको पक्ष वा विपक्षमा उभिने आवश्यता महशुष भएजस्तो देखिएको छैन ।
क्रिकेट होस् वा अख्तियारको नियुक्ति, आम नेपाली जनताको खासै सरोकार देखिएको छैन । यी दुबै विषयलाई नेपालको फेसबुक समाजले भने निकै ठूलो महत्व दिएको देखिन्छ । सम्पूर्णरुपमा असफल राष्ट्रमा दरिने संघारमै उभिएको मुलुकको निराश र हतास युवापुस्ताले क्रिकेटमा मुलुकले प्राप्त गरेको सानो सफलतालाई क्षतिपूर्तिको रुपमा नभएपनि सान्त्वनाको रुपमा लिनु स्वाभाविक हो । त्यसअर्थमा वर्मुढाको सफलताले फेसबुकका भित्ताहरु रंगिनु अस्वाभाविक होइन । यसैगरी कार्कीको नियुक्तिप्रकरणलाई जसरी फेसबुक समाजले लिएको देखिन्छ त्यसलाई अतिरञ्जना भन्न मिल्दैन भन्न सकिन्न । नेपाल भ्रष्टाचारमा चुर्लुम्ब डुबेको अवश्य छ तर त्यसको सम्पूर्ण श्रोत एकजना लोकमानसिंह कार्की होइनन् । ०६२/६३ को आन्दोलन दवाउने प्रयत्न भएकै हो तर त्यसको मुली कार्की होइनन् । जनआन्दोलनका दोषीहरुको सूचि रायमाझी आयोगले तयार गरेको हो तर आयोगको सूचिमा केवल एकजना कार्कीको नाम मात्र थिएन । रायमाझी आयोगले दोषी ठहर्याएका धैरैले उन्मुक्ति पाएका छन्, पुरस्कृत हुने एकजना लोकमानसिंह मात्र अपवाद बनेका होइनन् ।
जनआन्दोलनका दोषी ठहर भएका सानाठूला थापाहरु, बस्नेतहरु, वलीहरु, राईहरु, राना र राणाहरुले मान, पदोन्नति र सम्मानजनक अवकास पाएका हुन् र पाउँदै छन् । लोकमानसिंह तीनीहरुमध्ये एकजना दोषी अवश्य हुन, तर अरु सबैको अपराध क्षमायोग्य रहेको र केवल लोकानसिंह मात्र क्षमा गर्नै नमिल्ने महाअपराधी भने होइनन् । हो, यदि दोष प्रमाणित भएकै हो भने लोकमानसिंह कार्कीलाई कार्वाही हुनुपर्थ्यो । आजसम्म न त लोकमानलाई कुनै कार्वावाही भएको छ न त रायमाझी आयोगले देाषी किटान गरेकाहरुमध्ये कुनै एकजनालाई कार्वाही गरिएको छ । भ्रष्टाचार र ज्यादती विरुद्ध साँच्चै आवाज उठाउने नै हो भने रायमाझी आयोगको प्रतिवेदन सिंगै कार्यान्वयन होस् भन्न सक्नुपर्छ । विषयको गहिर्याईमा नपुगिकनै नियतबस कतैबाट उठाइएको लोकमान विरोधी आन्दोलनमा स्यालभाका मिलाउनुको तात्विक अर्थ थिएन । यतिबेला लोकमानको विरोध गर्नेहरुमध्ये कोही व्यक्तिगतरुपमा लोकमानबाट तर्सने भ्रष्टाचारीहरु त होइनन् भनेर पनि सोच्नुपर्ने हो । तर विचरा यथार्थ वस्तुतथ्यबाट बेखबर रहेर निहित उद्देश्य राखेर फेसबुकको भित्तो रङ्ग्याउनेहरुको लहैलहैमा लाग्नुको कुनै अर्थ नभए पनि फेसबुक समाजको नियतमा भने शंका गर्न मिल्दैन । उनीहरुको चिन्ता मुलुकको साझा चिन्ता हो, समाजप्रतिको शुभेच्छाको पवित्र अभिव्यक्ति हो । अनविज्ञता र कोरा भावनाको उदाहरण मात्र हो । ****