हामी २०६९ लाई बिदा गरेर नब बर्ष २०७० लाई स्वागत गरिरहेका छौं ।समय संक्रमणको यस घडीमा निश्चय पनि सुखद शुभ सन्देश आदान-प्रदान गर्नु आफैमा एउटा सकारात्मक कुरा हो । यस अबसरमा बिश्वभरीका सम्पूर्ण जनसमुदाय र खासगरी देश तथा स्वदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा आरम्भ भएको नयाँ बर्षले नयाँ आशा, उमंग र नयाँ जोश जाँगरकासाथ परस्पर एकताको सही बाटोमा अघि बढ्न प्रेरणा देओस् भन्ने हार्दिक तथा मंगलमय शुभकामना ! यतिबेला हामीले बितेको बर्षमा देश र जनताको पक्षमा जे जति सकारात्मक योगदान र उपलब्धी हुन सकेका छन् तिनलाई अझ अघि बढाउँदै र जे जति नकारात्मक कुरा उत्पन्न गरिएका छन् तिनलाई घटाउदै र हटाउदै जान नेपाली जनता सक्षम र सफल हुने बिश्वास लिनुपर्दछ । किनभने खराबबाट असलतिर अघि बढ्ने, कमजोरबाट सबलतातिर अघि बढ्ने, पिछडिएको स्थितिबटा अग्रागामी दिशातर्फलाग्ने मानब सभ्यता बिकासको निरन्तर चल्दै आएको एउटा शतत क्रम नै हो ।
यस परिप्रेक्षमा हाम्रो देशको आजको स्थितिलाई हेर्दा र केलाउँदा सही किसिमले समयलाई सदुपयोग गरेको भए यतिबेला हामी संबिधान सभावाट संविधान बनाएर एउटा ऐतिहासिक र गौरबशाली चरणबाट अघि बढिसकेका हुनेथियौ । तर षडन्त्रपूर्ण तरीकाले अबसान गराइएको संविधान सभामा पुगेका मूख्य दलहरुले जस्तो किसिमको दरिद्र चिन्तन, चरित्र, गतिबिधि र ब्यवहार देखाए त्यसले गर्दा देशको राजनीतिक इतिहासको यो चरण निकै कष्टकर र एउटा ठूलो अन्यौल, अनिश्चिता र चिन्ताको भुवरीबाट गुज्रिरहेको दुःखद अबस्था छ । केवल कुर्सी, कुर्सी का लागि मात्रै ती राजनीतिक दलहरुको ध्याउन्न भएका कारण यस्तो अबाञ्छित स्थिति उत्पन्न भएको कुरा जगजाहेर छ । जसले जे सुकै भनोस्, जे जस्तो आरोप लगाओस् कुर्सीमोह यति बिघ्न बलबान रहृयो कि कुनै आलोचनाले तिनलाई पटक्कै छुन सकेन । बास्तवमा थेत्तरोपना यति बिघ्न बढेको देखियो कि जस्तासुकै बिकृति र बिसंगतिहरु पनि हाम्रो बर्तमान राजनीतिक नेतृत्वलाई सहज लाग्ने कुरामा उनीहरु अभ्यस्त भइसकेको बिडम्बनापूर्ण स्थिति छ ।
हुन पनि यतिबेला मूख्य दलहरु आफैले मुलुकलाई निर्दलीयकरणका बाटोमा धकेलेर जुन आत्मघानी नाटकको मञ्चन गरिरहेका छन् त्यसप्रति जनताको बिश्वास पटक्कै छैन । किनकि जुन मुद्दाहरु देशका अगाडि उपस्थित छन् र जुन मुद्दाहरुलाई तीन दल र मधेशी मोर्चाले अनावश्यक तुल दिएर चर्काउदै आएका छन् त्यसले गर्दा उनीहरु कुनै निकास दिन सक्ने स्थितिमा नै छैनन् । यद्यपि अहिले उनीहरु देशको बातावरण चुनावमय भयो भनेर हल्ला पिट्न अभिशप्त छन् । यो उनीहरुको बाध्यता हो । किनभने जनतामा जाने कुरा गरिसकेपछि आफुले गरेका सबै पापबाट मोचन हुन सकिन्छ कि भन्ने गलत मान्यताबाट उनीहरु चलिरहेका छन् । जबकि जनताले एक एक हिसाव किताव राखेका छन् र ढिलो चाँडो त्यो खुलासा हुने नै छ । नेपाली जनता जागरुप हुदै जाँदा यतिबेलाको इतिहासलाई उनीहरुले बस्तुगत किसिमले बिश्लेषण गरेर सही निष्र्कशमा अबश्य पुग्नेछन् ।
यसरी राजनीतिकरुपमा पीडादायक र कष्टकर स्थितिबाट हामी गुज्रिरहेका मात्र छैनौं हाम्रो आजको आर्थिक सामाजिक र साँस्कृतिक स्थिति पनि सन्तोषजनक छैन । बस्तुतःराजनीति नै बिथोलिए पछि अरु क्षेत्र त्यसबाट अछुतो रहन पनि सक्तैनन् भन्ने कुराको द्योतक पनि हो । अबश्य पनि जत्रो ठूलो राजनीतिक परिवर्तन देशमा आएको थियो त्यसलाई संस्थागत र सुदृढ तुल्याउन जुन फराकिलो, दूरगामी सोच, सुझबुझ र सक्षमताको आवश्यता थियो त्यो हाम्रो राजनीतिक नेतृत्वमा रहेनछ भन्ने यथार्थ कुरा आजको स्थितिले एकदमै प्रष्ट पारिदिएको छ । यो स्थिति अझै बिग्रदै गएर सम्हाल्न नसकिने जटील मोडमा धकेलिने हो कि भन्ने खतराको संघारमा आज देश पुगेको प्रतीत भइरहेको छ । यस्तो अबाञ्छित स्थितिबाट मुलुकलाई मोडेर सही दिशामा अघि बढाउन सबैभन्दा पहिला अहिलेसम्म भए गरिएका आ-आफ्ना गम्भीर गल्ती कमजोरीप्रति आत्मआलोचित हुदै फराकिलो र सहज दृष्टिकोणकासाथ जनता र देशप्रति समर्पित भएर लाग्ने दृढ अठोट र सार्थक प्रण गर्नु अत्यावश्यक छ । त्यसो भएमा मात्र फेरि पनि जनताले बिश्वास गर्नसक्ने एउटा आधार खडा हुन सक्तछ । जन आन्दोनलका मूलभूत उपलब्धीहरुको रक्षा र सुदृढीकरण गर्ने बेलामा परिवर्तनकामी सबै जिम्मेरवार राजनीतिक दल तथा जन समुदयाको समेत यो साझा बिषय बस्तु भए पनि अहिले नेपाली समाजलाई आज जसरी बिभाजन र अन्यौलको मझधारमा पुर्याइएको छ त्यसले बाहृय र आन्तरिक प्रतिकृयावादी र प्रतिगामी शक्तिलाई मात्र हौसला बढाएको छ । फलतः आजै नेपाली जनता खिन्न र अप्रसन्न बनेका पनि हुन् । यो यथार्थलाई बुझेर दलीय ब्यवस्थामा दलहरुले आफुलाई सुधार्दै, सच्याउँदै र जनता समक्ष आफ्ना गम्भीर गल्ती कमजोरीहरुलाई राख्दै तथा क्षमा याचना गर्दै अघि नबढ्ने हो भने यो देश बिदेशीहरुको खेल मैदान बन्ने र नेपालीहरु आफ्नै देशमा फेरि पनि निरीह प्राणी भएर रहने सीवाय अरु केही हात नलाग्ने स्थिति टड्कारो बन्दै गएको छ । त्यसैले आज मुलुकको यो गम्भीर स्थितिलाई सम्हाल्ने एउटा सशक्त बैकल्पिक शक्ति निर्माण गर्नुपर्ने ज्वलन्त राष्ट्रिय आवश्यकता छ । त्यसका लागि जनताको परिवर्तनका आकांक्षा र राष्ट्रप्रति सिद्धान्तनिष्ठ ढंगले समर्पित क्रान्तिकारी राजनीतिका अनुयायी बाम तथा लोकतान्त्रिक शक्तिहरुको एकता आज पुनः अपरिहार्य आवश्यकता बनेको छ । नयाँ बर्ष २०७० ले यो दिशामा लाग्न सम्बद्ध सबैलाई प्रेरणा मिलेमा यो कल्याणकारी र सकारात्मक ठहरिने छ ।
हुन त सम्वतसर फेरिनु या पात्रो फेरिनुले त्यसबेलासम्म कुनै अर्थ राख्दैन जबसम्ममा समाजलाई, देशलाई डोर्याउने मानिसहरुका गलत चिन्तन, चरित्र र ब्यवहारहरु फ़ेरिदैनन् र तिनले सही बाटो लिदैनन् । त्यसमा पनि कुनै बाटोलाई जबर्जस्ती सही भनिदिएकै भरमा मात्र त्यो सही हुने र ठहरिने भने बिल्कुलै होइन । बिगतका राष्ट्रिय अन्तर्रराष्ट्रिय अनुभव र आजको आवश्यकताका आधारमा देश र जनतालाई के कसरी अघि बढाउन सकिन्छ त्यसको निरोपण हुनुपर्दछ । यसमा बिघ्नबाधाहरु के के छन् र हुन सक्तछन् अनि तिनलाई पञ्छाउन के कस्ता कदमहरु चाल्न पर्दछ र चाल्न सकिन्छ भन्ने कुराले गन्तब्य पहिल्याउन र त्यो गन्तब्यमा पुग्ने उपायहरुको खोजी गर्न मद्दत पुर्याउदछ । तर जव राष्ट्रिय राजनीतिलाई सीमित र संकीर्ण स्वार्थको औजारमा परिणत गरेर चलाइन्छ त्यसबेला देश र जनता केवल मुखले भट्याइरहने निर्जीव शब्दहरु मात्र भएर रहन्छन् । तिनको दीनहीन अबस्थामा आमूल परिवर्तन ल्याउने कुरामा यसरी स्वतः ओझेलमा पर्न जान्छन् भने केही मुठ्ठीमर नेता र तिनका आशेपासेहरुले देशको श्रीसम्पत्ति कुम्ल्याउने र मनपरी चलाउने मात्र स्थिति बन्छ । अहिलेसम्मको अनुभवको निचोड यही नै हो । यस स्थितिलाई चिरेर मुलुकलाई सकारात्मक दिशातर्फ लैजाने दृड संकल्पकासाथ अघि बढ्न सकेमा मात्र नयाँ बर्षो स्वागत गरेको पनि मूल्य हुन्छ । अन्यथा केवल औपचारिकता पूरा गर्ने एउटा प्राणहीन औपचारिकता !****