Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

नेपाल बन्दको खबरले यतिवेला विदेशमा बस्ने  म र म जस्ता अन्य नेपालीहरूको मन फेरि एक पटक चस्किएको छ ।
बन्द, चक्काजाम, हडतालजस्ता कार्यक्रम आम नेपालीका लागि ठूलो सास्तीको कुरो भए तापनि सरोकारवालाहरूले यसप्रतिको मोह त्याग गरेको पाइँदैन । साना, ठूला जस्तासुकै समस्यामा पनि बन्दका कार्यक्रम अघि सार्ने प्रवृत्तिले दुनियाँलाई सासनाबाहेक अर्थपूर्ण परिणाम दिनसकेको छैन । कहिले उपत्यका बन्द, कहिले पूर्वाञ्चल बन्द, कहिले पश्चिमाञ्चल त कहिले मधेस-तराई आदि बन्दले हत्तु हुँदै आएका जनतासामु नेपाल बन्दले तेस्र्याउने पिरलो निश्चय पनि मर्मान्तक छ ।
एक दिनको बन्दले मुलुकलाई हुने अर्बौं रूपियाँको नोक्सानीको कुरो त आफ्नो ठाउँमा छँदैछ, दिनहुँ ज्यालादारी गरेर गुजारा गर्नुपर्ने परिवारका लागि योभन्दा पीडादायी विषय अर्को कुनै देखिएको छैन । बन्दले मुलुकको विकास, निर्माणका कार्यलाई अवरूद्ध पार्ने, जनसाधारणलाई व्यथित तुल्याउने र रोगी, अशक्तका लागि अस्पताल पुग्नै नसकिने अवस्था सिर्जना हुने, उद्यम, व्यापार ठप्प हुनेलगायतका बेथितिप्रति बन्द आयोजक पक्कै बेखबर छैनन् ।
आज भोली बन्द कार्यक्रम सफल पार्न उत्रने व्यक्तिका तुलनामा बन्द गर्न नहुने आवाज उर्लाउँदै अघि बढेका व्यक्ति अत्याधिक देखिनुले पनि जनता बन्द कार्यक्रमबाट आजित भएको छर्लङ्ग हुन्छ । बन्दको विरोधमा स्वर उरालिएको आजमात्रै होइन, केही वर्ष अघिदेखि जनता जागरूक हुन थालेका हुन् तर बन्द विरोधी स्वर सुन्ने र त्यसलाई लागू गर्ने, गराउनेतर्फ बन्द आयोजक उदासीन बन्दै आएका छन् । लोकतन्त्रमा आफ्नो मर्का सुनाउ नपाउनु र अधिकारका लागि आवाज उठाउ नपाउनु हककै विषय भएकामा विमति रहँदैन तर स्मरणीय कुरो के छ भने आफ्नो अधिकारको कुरा गर्नेले अरूको हक, अधिकार हनन हुने काम गर्नुहुँदैन ।
बन्दका कार्यक्रमबाट आम नागरिकको अधिकार हनन हुने भएकाले आयोजकले यतातिर विशेष गम्भीर हुनैपर्छ । असन्तुष्टि पोख्न होस् अथवा आफ्नो माग राख्न,  बन्दको कार्यक्रम त्यागी वैकल्पिक बाटो अँगाल्नै पर्छ । संक्रमणकालीन अवस्थामा रहेको मुलुकको वस्तुस्थिति अत्यन्त तरल एवं जटिल छ । यस्तो अवस्थामा बारम्बारका बन्दले मुलुकको विकास, निर्माणका काममा त थप प्रभाव पार्ने नै छ साथै जारी शान्ति प्रक्रिया समेत असर पर्नेछ । विभिन्न दल, राजनीतिक दलका भ्रातृसंस्था, गैर सरकारी संस्था आदिले बन्दको कार्यक्रमलाई जे जसरी क्रम दिइरहेका छन्, यसले कसैको भलो गर्ने छैन । बन्दका कार्यक्रम आयोजना गरिएमा मात्रै सरकार अथवा सम्बन्धित निकायले सुन्छ भन्ने धारणा मेट्ने, मेटाउनेतर्फ पनि क्रियाशीलता जरुरी छ । बन्दका कार्यक्रम जनवितृष्णाको पक्ष भएकाले यसलाई कसैले पनि प्रश्रय नदिनु कल्याणकारी कुरो हुनेछ । अन्यथा बन्द आयोजकले जनता जनार्दनबाटै लखेटाइको मारमा पर्नुपर्ने परिस्थिति सिर्जना हुनेछ । अब जनताले यस्तै गर्नुपर्ने समय आईसकेको छ ।
प्रतिकृयाको लाग: [email protected]
(लेखक नेपाल पत्रकार महासंघ जापानका सचिव हुन् ।)***

तपाईको प्रतिक्रिया