सभ्यताको शुरुवातदेखि नै मानिसका सबै जाति, सबै सभ्यता, संस्कृति हामीलाई अधुरो जस्तो लागिरहेको छ । यो वास्तविकता पनि हो किनभने यो अधुरोपनमा पूर्णता ल्याउन महिलाको योगदान आवश्यक थियो तर महिला जातिलाई अवसर दिइएन किनकि हजारौ वर्षको इतिहासलाई हेर्ने हो भने हाम्रो समाज, हाम्रो मात्र नभएर विश्वका प्रायजसो मुलुकका समाजहरु पुरुष प्रधान भए । हाम्रो मात्र नभएर विश्वकै सबै समाजहरुले नारीलाई कमजोर, निम्न कोटिमा राखेको र नारीलाई सधै अवसरहरुबाट बन्चित गराइएको पाइन्छ | जन्मजात, प्रकृतिगत भिन्नता हेर्ने हो भने पनि नारी र पुरुष भौतिक रुपमा दुइ जात हो भने भावानात्मक रुपमा हेर्ने हो भने पुरुष र नारी भनेको स्वाभाविक भिन्नता मात्र हो | पुरुष प्रवृति भनेको मष्तिस्क सक्रिय अर्थात् मष्तिस्कबाट चल्ने हुँदा बौद्धिक, तार्किक, राजनीतिक, बहिर्मुखी र आक्रामक स्वभावले निपुण हुन्छन भने नारी मातृत्व हो । नारी गुण भनेको माधुर्यता, सौन्दर्यता, सहज, धैर्यता र प्रेम हो | नारी नारी हुन्, हुन न त निम्न कोटीकी हुन् न त त पुरुष समान पुरुष भन्दा उच्च कोटीकी | नारी पुरुष भन्दा अलग हुन्, नारीको आफ्नै अस्तित्व छ, आफ्नै अस्मिता छ | त्यसैले नारीले पुरुष सरह भन्दा पनि नारी भएर पहिचान बनाउन सक्नु ठूलो कुरा हो | किनभने पुरुष गुण पुरुषको लागि पो सहज छ त, त्यो पुरुष गुण नारीले अपनाउन खोज्दा नारी पुरुष भन्दा दोस्रो कोटीमा पर्न जान्छिन न कि प्रथम कोटीमा | पुरुष नारी सरह र नारी पुरुष सरह कहिल्यै बन्न सक्दैनन् | त्यसैले त नारीलाई प्रकृतिले मातृत्वको गुण दिएको छ । पुरुषले चाहेर पनि मातृत्वको गुण पाउन सक्दैनन् | यही प्रकृतिगत भिन्नताले गर्दा नै पुरुषको लागि नारी आकर्षक बन्न सकेकी हुन् | नारी र पुरुष जति आफ्नो स्वभावमा रहन्छन् त्यतिनै उनीहरु एक अर्काको परिपूरक र प्रेमाकर्षण बन्न सक्छन् | समाजले नारी जातिलाई कमजोर बनाउन खोज्नु समाजको कमजोर धारणा मात्र हो | आज हामीले भोगिरहेको युद्ध र अराजकताको कारण पनि यहाको सभ्यता, संस्कृति, शिक्षा र शास्त्र पुरुष द्वारा निर्माण भयो | नारीलाई पुरुष सरह अवसर दिइएन, नारी गुणहरुको त्यसमा सहभागिता हुन पाएन जसको परिणाम प्रेम र सौहार्दता मौलाउन पाएन अनि अराजकताको विकास भयो । नारी कमजोर भएर होइन भन्नुमा दुइ मत नहोला | नेपाली नारीहरु सिर्जनात्मक, संघर्षशील , बहुप्रतिभाशाली, सहनशील, बाहिरी तथा भित्री सौन्दर्यले भरपूर अनि घरायसी एवं बाहिरी सबै क्षेत्रमा खट्न सक्ने साहसी छन् र पनि सामाजिक आर्थिक स्तरबाट हेर्दा नारीहरु सबै किसिमका अवसरहरुबाट बन्चित छन् | शिक्षा र स्वास्थ्यको क्षेत्रमा पिछडिएका छन् | आर्थिक सर्वेक्षण अनुसार स्वास्थ्यको क्षेत्रमा हेर्ने हो भने प्रति दस हजारमा ५८९ मातृ मृत्यू दर देखिन्छ । प्रत्येक दिन ६० नवजात शिशुको मृत्यु दर छ । ४२ % नारीहरु साक्षर छन् भने ६० % नारीहरु आर्थिक रुपमा सक्षम छन् तर यो % साक्षरतामा ६० % र आर्थिक क्षेत्रमा ८० % नपुगे सम्म नेपाली नारीहरुको जीवनस्तर माथि उठ्न सक्दैन र पनि यो ध्रुब सत्य हो कि जब सम्म नारीहरुको स्तर माथि उठ्दैन तब सम्म देशको विकास सम्भव छैन किनभने हर क्षेत्रमा नारी नेतृत्वको, नारी सहभागिताको अभावले देश आज संकटको भुमरीमा परेको छ |
केहि वर्ष पहिले सम्म नारीदिवस नजिकिदै गर्दा नारी सम्बन्धि कार्यक्रम बन्ने, नारी हकहित र अधिकारका बारेमा आवाजहरु उठ्ने गर्थे भने अहिलेको परिस्थितिमा आएर हरेक समयमा नारी सम्बन्धि मुद्दाहरु उठ्ने गरेको पाइन्छ | बिकासको क्रमसंगै जसरी धेरै मेडिकल डाक्टरहरु जन्मे, अस्पताल बढे, स्वास्थ्य सेवा सुलभ तरिकाले उपलब्ध हुन थाले त्यति नै बिरामीहरुपनि बढ्दै गएझैं, त्यति नै नयाँनयाँ रोग पत्ता लाग्दै गएझैं, जति नारी हकहितका, अधिकार र कानुनका कुराहरुमा बहस हुन शुरु भएको छ, त्यतिनै नारी हिंसापनि बढ्दै गएको यथार्थतालाई नकार्न सकिंदैन |
नारी हिंसा उन्मुलन गर्नको निम्ति सडकदेखि सदनसम्म विभिन्न तवरले आवाजहरु उठ्दै आइरहेका छन् | किन नारी माथिको हिंसा बढ्दै गैरहेको छ त यसको कारक तत्व थाहा नपाउँदा सम्म नारी हिंसा कायम नै रहिरहनेछ | एक्काइसौं शताब्दी सम्म आइपुग्दा पनि संसार भर नै भौतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, शारीरिक ,मानसिक विभिन्न तरिकाले नारी माथि हुने गरेको हिंसा प्रवृत्ति कायम नै छ । नारी माथि हुने गरेको अन्धविश्वास, कुरिती र कुसंस्कारको अन्त्य हुन सकेको छैन । नारी हिंसा अन्त्य गर्न नारी होइन पुरुषमा चेतनाको विकास र शिक्षाको आवस्यकता छ । प्रकृतिमा कुनै पनि त्यस्ता परिस्थिति छैनन् जसले गर्दा नारीहरु घरेलु हिंसा देखि हरेक क्षेत्रबाट हिंसाको शिकार हुनुपर्ने । मानिसको मनस्थितिको उपजले समाजमा विकृति फैलिरहेका छन् ।
मानब अधिकार संरक्षणका कुरा हुन् या मुलुकको सुध्रिदो राजनीतिक अवस्था, टिकाउ सरकार या जुनकुनै क्षेत्रबाट नेपालको बिकाश देख्न चाहने हो भने त्यहाँ नारी सहभागिता पुरुष सरह हुनु जरुरी छ |
(लेखक डा. नम्रता पाण्डे, हालः जापानको इवाराकी यूनिभर्सिटीमा अनुसन्धानकर्ताका साथै उहाँ एन.अर.एन. आइसीसी महिला प्रतिनिधि हुनुहुन्छ ।)