आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
  • सम्झौतामा हस्ताक्षर सम्पन्न

japanकाठमाडौं- बालश्रम न्यूनीकरणका लागि जापान सरकारले करिब ९६ लाख ३२ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
जापानी गैरसरकारी संस्था साप्लानिर नेपालमार्फत प्रदान गरिएको उक्त सहयोग काठमाडौं उपत्यकामा साना होटल तथा रेस्टुराँमा काम गर्ने बाल मजदुर घटाउन उपयोग गरिने छ । जापानी राजदूतावासमा आयोजित एक कार्यक्रममा नेपालस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत सूइची साकाकिबारा र साल्पानिरका नेपाल प्रतिनिधि माकी मियाहाराले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
साप्लानिरसँग मिलेर सिविन नेपालले दोस्रो चरणको कार्यक्रमअन्तर्गत यो क्षेत्रमा काम गर्न लागेको हो । साप्लानीरले सिविनसँग मिलेर पहिलो चरणमा काठमाडौँ, भक्तपुर र कीर्तिपुर नगरपालिकामा अनुसन्धान, वकालत र स्थानीय निकायमा बाल मजदुरका क्षेत्रमा काम गर्ने एकाईको स्थापनामा सहयोग गरेको थियो ।
गतवर्ष गरिएको एक अध्ययनअनुसार उक्त तीन नगरपालिकामा करिब पाँच हजार १९० बालमजदुर रेस्टुराँ तथा चियापसलमा कठिन परिस्थितिमा काम गरिरहेको सिविन नेपालका कार्यकारी संयोजक सुम्निमा तुलाधरले जानकारी दिनुभयो ।
साप्लानीरका नेपाल प्रतिनिधि माकी मियाहाराले लामो समयदेखि नेपाल, बङ्गलादेश र भारतमा काम गरिरहेको बताउँदै सिविनसँगको सहकार्यले काठमाडौँ उपत्यकाका रेस्टुराँमा काम गर्दै आएका बालमजदुरको न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यवाहक जापानी राजदूत साकाकिबाराले बालबालिकाको स्वास्थ्य, शिक्षाजस्ता आधारभूत क्षेत्रमा सहयोगको उपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
तपाईको प्रतिक्रिया