आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

japan fairटोकियो-नेपालबाट जापानमा अध्ययन गर्न आउन चाहने विद्यार्थी तथा जापान अध्ययनको लागि आफ्ना छोराछोरीहरुलाई जापान पठाउन चाहनु हुनेहरुको लागि नेपाल जापान अन्टराष्ट्रिय विद्यार्थी समितिको आयोजना यही मार्च २९ र ३० (चैत्र १६ र १७) गते काठमाण्डौ राष्ट्रिय सभा गृहमा वृहत “जापान फेयर इन नेपाल-२०१३” को आयोजना हुने जानकारी प्राप्त भएको छ ।
उक्त कार्यक्रममा नेपालबाट उच्च शिक्षाको लागि विद्यार्थी भिषामा जापान जान चाहनुहुनेहरुलाई जापानिज भाषा, जापानको स्कुल तथा कलेज, जापानिज संस्कृति र रितीरिवाज तथा शैक्षिक प्रणाली आदिको वारेमा जानकारी दिईनेछ ।
मेलामा जापानको विभिन्न शहरहरुमा रहेका प्रतिष्ठित २० भन्दा बढी स्कुलहरुको स्टल रहने बताइएको छ । जहाँ सहभागीहरुले जापानको विभिन्न शैक्षिक जानकारीका साथसाथै आफूलाई जिज्ञासा लागेका कुराहरुको ज्ञान लिन सक्नेछन् ।
दशहजार भन्दा बढीको सहभागीता रहने अनुमान गरिएको कार्यक्रमको सम्पूर्ण तयारीहरु लगभग अन्तिम चरणमा पुगेको जानकारी नेपाल जापान इन्टरनेशनल स्टुडेन्ट कमिटी तथा जापान स्टुडेन्ट कमिटीका को-अर्डिनेटर पेमा लामाले बताउनुभयो ।
त्यसो त आफ्ना विद्यार्थीहरुको उच्च शिक्षाको लागि नेपालको इन्टरनेशनल कलेजहरु लगायत ८ भन्दा बढी शैक्षिक संस्थाहरुले आफ्ना विद्यार्थीहरुलाई उक्त कार्यक्रममा सभागीता गराउने जनाएको छ । कार्यक्रम सम्पन्न गर्नको लागि नेपालमा ११ सदस्यीय कार्यक्रम आयोजक समिति बनाइएको छ । उक्त मेलामा सहभागीहरुले जापानिज तथा नेपाली खानाको स्वाद पनि चाख्न पाउने भएका छन् । मेलामा सहभागी हुनको लागि जापान गई उच्च शिक्षा हाँसिल गर्न चाहनुहुने विद्यार्थीहरु, जापानिज संस्कृति र परम्परामा जिज्ञासा राख्नु हुने सम्पूर्ण महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ भनिएको छ ।
जापान जान चाहनेका लागि मात्र नभई जापान सम्वन्धी केही कुरा जानीराखौं भन्नेहरुका लागि पनि यो एउटा सुवर्ण मौका भएको कुरा संस्थाको  को-अर्डिनेटर पेमा लामाले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया