शान्तराज बतास अटोमोबाइल क्षेत्रमा क्रियाशील व्यक्तिबीच परिचित नाम हो । मिहेनत र परिश्रमका बलमा यस क्षेत्रमा स्थापित भएका बतास सफल युवा व्यवसायी पनि हुन् । ०२६ मा तनहुँको थर्पुमा जन्मेका उनी तीन दाजुभाइमध्ये माइला छोरा हुन् । सिद्धार्थ वनस्थलीबाट ०४२ सालमा एसएलसी गरेका उनले अमृत साइन्स क्याम्पसबाट आइएससी र नागपुरी इन्जिनियरिङ कलेजबाट सन् १९९४ मा इन्जिनियरिङ गरेका छन् ।
अटोमोबाइल क्षेत्रमा लागेका व्यवसायीमाँझ एक शिक्षित युवा व्यवसायीका रूपमा समेत परिचित उनी सन् १९९७ देखि यस क्षेत्रमा क्रियाशील छन । त्यसो त बतासको यस क्षेत्रमा आउनुको कथा पनि बेग्लै छ । परिवारका सबै सदस्य व्यवसायमै रहे पनि समय र परिस्थितिअनुसार नयाँ र आधुनिक कामको सुरुवात गर्ने उद्देश्यले उनी यो क्षेत्रमा आएका रहेछन् । ‘बुबा कपडाको व्यावसाय गर्नुहुन्थ्यो,’ उनी सम्झन्छन, ‘इन्जिनियरिङ पढेकाले म भने परिवारले गरेको भन्दा बेग्लै व्यावसाय गर्ने तर त्यो आधुनिक र समय अनुकूल हुनुपर्छ भन्ने सोचले यस क्षेत्रमा आएँ ।’ बुबाले पुस्तौँदेखि गर्दै आएको व्यावसायभन्दा फरक गर्ने तर सफलताका लागि परिस्थितिअनुसार संघर्ष गर्न तयार हुनुपर्छ भनेरै आफूले यो क्षेत्र रोजेको पनि उनी सम्झन्छन् । सफलताका लागि संघर्ष नै महत्त्वपूर्ण सूत्र हुन सक्छ भन्ने सोचका बतास सन् १९९७ मा कम्पनीले पोखरामा मारुती सुजुकीको आधिकारिक डिलरसिप लिएपछि नै आफ्नो व्यावसायिक यात्रा सुरु भएको बताउँछन् ।
परिवारका अन्य सदस्यले नगरेको काम सुरु गर्दा उनले पनि व्यावसायिक भिडमा निक्कै उत्तरचडाव बेहोर्नु पर्यो । ‘उतिबेलाको समय बिलासिताका लागि सवारी किन्नेको संख्या त्यसै त कम थियो त्यसमा पनि जापानी गाडीले छोपेको बजारमा प्रतिस्पर्धा मेरा लागि कम चुनौतीपूर्ण थिएन,’ व्यवसाय सुरुवातका दिन सम्भँmदै बतास भन्छन्, ‘यद्यपि परिवारको साथ सहयोग र लगानशीलताले नै आजका दिनसम्म आइपुगियो ।’ अटोमोबाइल क्षेत्रमा आफूलाई स्थापित गर्ने उद्देश्यले व्यवसाय थाले पनि भारतीय गाडीको डिलर थियो उनको । त्यो समय भारतीय गाडी बिक्री कम हुने, बैंक तथा वित्तीय संस्थाले लोनसमेत दिन नमान्ने भएकाले एक समय त उनले व्यवसाय नै छोड्ने विचारसमेत गरेछन् । ‘एक त भारतीय गाडीको बजार नै नभएको त्यो समय फेरि बैंकले ऋणसमेत नदिने भएपछि व्यवसाय नै छाडेर अन्य क्षेत्रमा जाने विचारसमेत गरँे, तर अर्को व्यवसायमा पनि संघर्ष त हुन्छ भन्ने सोचले जति समस्या परे पनि यो व्यवसायबाट हात झिकिएन,’ उनी भन्छन् ।
भारतीय गाडीको बजार कम रहेको त्यो समय जापनिज गाडीको बजारसँग प्रतिस्पर्धा गर्दै आफूलाई स्थापित गर्न सफल भएका बतास अन्तत: सरकारले जापानिज गाडीको रिकन्डिसन बन्द गरेपछि व्यवसायले नयाँ मोड लिएको बताउँछन् । उनको संघर्ष र इमानदारिताकै कारण युनाइटेड फाइनान्सले लोनका लागि सहयोग गरेपछि भने उनको यात्रामा सहयात्रा थपिएको रहेछ । ‘फाइनान्सिङको लागि सबैभन्दा गाह्रो थियो, पछि युनाइटेड फाइनान्ससँग सहकार्य भएपछि त्यो समस्या रहेन,’ उनी भन्छन्, ‘यसपछि भने आफ्नो व्यवसाय अघिबढेको महसुस गरेँ ।’ सुरुमा धौलागिरि अञ्चलका लागि महिन्द्रा, सुजुकी मारुती र टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता भएर व्यावसायिक भिडमा जम्नथालेको उनको कम्पनीले आजका दिनसम्म आइपुग्दा सफलताका लागि थुप्रै सिँढी चढिसकेको छ । अहिले उनको कम्पनी बतास अर्गनाइजेसन महिन्द्राको बस, ट्रक, मारुती सुजुकी, होसुङ बाइक र फिएट गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो । भक्तपुरको गट्ठाघरमा ६० रोपनी जग्गामा अन्तर्राष्ट्रियस्तरमा आफ्नै ‘वर्कसप’ स्थापना गरेको अर्गनाइजेसन आजका दिनसम्म आइपुगेकामा उनी ढुक्क छन् ।
खासगरी निजी सवारी बढेको तर सार्वजनिक यातायातका लागि अझै पूर्वाधार कम भएको बतास बताउँछन् । ठूला सहरमा निजी सवारीको चाप बढे पनि पूर्वाधार अभावले समस्या रहेको उनको ठम्याइ छ । सरकारले सडक करबापत लिने रकम त्यही क्षेत्रका लागि खर्च गर्नुपर्ने उनको तर्क छ । यद्यपि अझै ५० वर्षसम्म नेपालमा अटोमोबाइल व्यवसाय विस्तार गर्न सकिने र त्यो समयसम्म बजारको अवस्था निकै राम्रो रहेको बतासको बुझाइ छ । ‘सरकारले अहिले अटोमोबाइल क्षेत्रमा कर बढाएको छ, तर सार्वजनिक यातायातमा भन्सार छुट गर्ने हो भने यो व्यवसायको सम्भावना अझ ५० वर्षसम्म रहन्छ,’ उनी भन्छन, ‘तर यसका लागि सरकारले पूर्वाधारको विकास र व्यावसायिक हितका लागि सोच्न जरुरी छ ।’
करिब १६ वर्ष लामो अटोमोबाइल क्षेत्रको संघर्षबाट आफ्नो कम्पनी स्थापित भएपछि व्यावसायिक रूपमा ठूलो सफलता पाएको अनुभूती पनि उनको छ । त्यो समय पोखराबाट सुरु भएको बतास अर्गनाइजेसनको अटोयात्रा विगत ५ वर्षदेखि काठमाडौंको गैरीधारामा कर्पोरेट अफिस राखेर अघि बढिरहेको छ । तीनजना दाजुभाइको सहकार्य र सहयात्रामा स्थापित यो अर्गनाइजेसनले व्यवसायमा विविधता ल्याउने तयारीसमेत गरेको छ । सोही योजनाअनुसार सहकार्यमा पर्वतको पातीचौरमा एक मेघावाटको युनिफाइड हाइड्रोपावर निमार्ण गरेको अर्गनाइजेसनले अब पर्यटन क्षेत्रमा समेत लगानी बढाउने सोच लिएको छ ।
पोखरालाई आफ्नो व्यवसायको मुख्य थलो मानेको अर्गनाइजेसनले पोखराको लेकसाइड र काठमाडौंमा समेत होटल खोल्ने र पर्यटन क्षेत्रमा लगानी गर्ने भावी योजना बनाएको छ । यसका लागि आवश्यक अध्ययन भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका बतासले जनाए । राजनीतिक स्थिरता भएमा केही वर्षभित्रै दुवै स्थानमा होटल खोल्ने योजनामा रहेको उनले बताए ।
प्रस्तुति : किरण ढकाल